डिसेम्बर ३१ सम्म कैयन भिसा आवेदकले अमेरिकाको भिसा लिंदा अन्तरवार्ता दिनु नपर्ने


प्रकाशित मिति : भाद्र ११, २०७७ बिहीबार

आगामी डिसेम्बर ३१ सम्म कैयन भिसा आवेदकले अमेरिकाको भिसा लिंदा अन्तरवार्ता दिनु नपर्ने भएको छ ।  पुरानै श्रेणीको नयाँ अमेरिकी गैरआप्रवासी भिसा लिंदा कैयन आवेदनहरुले भिसा सकिएको दुईबर्षभित्र अमेरिकी दूतावास वा कन्सुलेटमा अन्तरवार्ता नदिइकनै नयाँ भिसा पाउनसक्ने भएका छन् ।

उदाहरणका लागि विगतमा भिजिटर भिसा लिएको व्यक्तिले पुन: भिजिटर भिसा लिनुपरेमा भिसा सकिएको २४ महिनासम्म पनि विना अन्तरवार्ता नयाँ भिसा प्राप्त गर्नसक्नेछन् । अर्थात् विना अन्तरवार्ता नै भिसा नविकरण गर्न सक्नेछन् ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युटिरीसँगको सल्लाहमा यो सुविधा अस्थायी रुपमा लम्बाएका छन् ।

विगतमा भिसा अवधि सकिएको १२ महिनाभित्रमात्र गैरआप्रवासी भिसाका आवेदकहरुले विना अन्तरवार्ता सोही श्रेणीका नयाँ भिसा प्राप्त गर्नसक्ने प्रावधान रहेको थियो । अब भिसा सकिएको २४ महिनाभित्र समेत भिसा आवेदकले विना अन्तरवार्ता नयाँ भिसा पाउनसक्नेछन् ।

भिजिटर लगायतका गैरआप्रवासी भिसाका सन्दर्भमामात्र यो नियम लागु हुने जनाइएको छ । भिसा अन्तरवार्ता दिनुपर्ने वा नपर्ने कुराको निर्धारण सम्बन्धित दूतावास वा कन्सुलेटले गर्नेछन् ।

भिसा सकिएको २४ महिनासम्म पनि नयाँ भिसा लिंदा अन्तरवार्ता दिन नपर्ने प्रावधान आगामी डिसेम्बर ३१ सम्म लागु हुने भएको छ । यो सुविधाका कारण कन्सुलर अधिकारीले कोरोना संक्रमणको जोखिमविना नै आवेदकको उपस्थीति विना भिसाको प्रकृया अगाडि बढाउन सक्नेछन् ।

थप जानकारीका लागि गैरआप्रवासी भिसा आवेदकहरुलाई आफ्नो नजिकको अमेरिकी दूतावास वा कन्सुलेटको वेवसाइटमा जान सुझाव दिइएको छ ।

९ वटा मापदण्डहरु

अमेरिकाको भिजिटर भिसा समाप्त भएको २ बर्ष पूरा भएको छैन वा भिसा सकिन लागेको छ भने तपाईले त्यो भिसा दूतावासमा विना अन्तरवार्ता नै रिन्यु गर्न सक्नुहुनेछ । तर त्यसका लागि तपाईले ९ वटा मापदण्डहरु पूरा गर्नुपर्छ ।

तपाईको भिजिटर भिसा (बी) भिसा रिन्यु गर्नका लागि तपाईले सन् २००८ को जनवरी १ वा त्यसपछि पूरानो भिसाका लागि अन्तरवार्ता दिएको हुनुपर्छ । तपाईको पहिलेको भिसा मल्टिपल इन्ट्री सहितको हुनुपर्छ ।

पहिले जारी भएको भिसा पूरा अवधि अर्थात ५ बर्षका लागि नै जारी भएको हुनुपर्छ । भिजिटर भिसाका लागि हालेको आवेदन अस्वीकृत भएको हुनुहुँदैन भने पूरानो भिसा हराएको, चोरी भएको वा खारेज गरिएको हुनुहुँदैन ।

त्यस्तै जन्ममिति, नाम, राष्ट्रियता जन्मस्थान लगायतका विवरणहरु परिवर्तन भएको हुनुहुँदैन । अमेरिका भ्रमणका क्रममा अमेरिकी कानुनको पालना गरेको हुनुपर्छ भने भिसा सकिएको २ बर्ष नाघेको हुनुहुँदैन ।

यदि यी मापदण्डहरु पूरा भएको खण्डमा तपाईले विना अन्तरवार्ता नै भिसा नविकरण गराउन सक्नुहुनेछ । त्यसका लागि तपाईले डीएस १६० नामको फर्म भने भर्नुपर्छ ।

त्यसपछि भिसा शुल्क तिरेर तपाईले अप्वाइन्टमेन्ट लिने पेजबाट आवश्यक कागजातको सुची सहितको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रको दुईकपी प्रिन्ट गरेर तपाईले एककपी पत्र, तपाईको पासपोर्ट, डीएस १६० कन्फर्मेशन पेज, विगतको भिसा, एक तस्विर, सर्पोर्टिंग कागजात दूतावाससमक्ष बुझाउनुपर्छ ।

त्यसपछि तपाईले केहीदिनमा नविकरण गरिएको भिसा पाउनसक्नुहुनेछ ।

यसबारे थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com