७० प्रतिशत कर्मचारीहरुलाई बेतलवी विदा दिने युएससीआईएसको योजना परित्याग


प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार

अमेरिकी सरकारको ग्रिनकार्ड, नागरिकता, भिसा लगायतका सन्दर्भमा काम गर्ने मुख्य निकाय युएससीआईएसले अगस्तको अन्तिमदेखि १३ हजार कर्मचारीहरुलाई बेतलवी विदा दिने योजना खारेज गरेको छ । युएससीआईएसले बजेटको अभाव भएको भन्दै ७० प्रतिशत कर्मचारीहरुलाई बेतलवी विदा दिने योजना बनाएको थियो ।

युएससीआईएसले ७० प्रतिशत कर्मचारीहरुलाई विदा दिएको खण्डमा अध्यागमनबारेका कामकारवाही ठप्पप्राय हुने निश्चित रहेको थियो । तर यो योजना त्यागेपछि युएससीआईएसको काम कारवाही पहिलेकै गतिमा सुचारु हुने भएको छ ।

मंगलबार युएससीआईएसका नीति सम्बन्धि कार्यकारी निर्देशक जोसेफ एल्डोले कर्मचारीहरुलाई पठाएको सुचनामा आर्थिक अवस्थामा सुधार आएकाले ७० प्रतिशत कर्मचारीलाई बेतलवी विदा दिनुपर्ने अवस्था टरेको उल्लेख गरिएको छ । सुरुमा कोरोनाको महामारीक कारण अप्रत्याशित रुपमा आवेदनहरु घटेपनि पछिल्लो चरणमा भने सुधार आएको युएससीआईएसले जनाएको छ ।

विगत केहीसातादेखि आवेदनहरुमा बृद्धि भएकाले तत्कालका लागि कर्मचारीलाई विदा दिने अवस्था टरेपनि २०२१ मा भने बजेट अभाव हुने अनुमान गरिएको छ । युएससीआइएसले कर्मचारीलाई पठाएको इमेलमा अस्थायी रुपमा अवस्थामा सुधार भएपनि दीर्घकालिन समस्या समाधानका लागि संसदबाट आर्थिक सहायता प्राप्त गर्नुपर्ने अवस्था कायमै रहने बताएको छ ।

युएससीआईएसका अधिकारी एड्लोले संचारमाध्यममा यसबारे अन्तरवार्ता दिन अस्वीकार गरेका छन् । तर उनले भविश्यमा बेतलवी विदा दिनुपर्ने सम्भावना भने कायमै रहने बताएका छन् ।

युएससीआईएसले गत मेको मध्यतिर बजेट अभाव भएको संसदलाई जानकारी दिएको थियो । युएससीआईएसले संसदसमक्ष १ दशमलव २ बिलियन डलर बजेट माग गरेको थियो । तर अहिलेसम्म पनि संसदबाट बजेट अनुमोदन भने हुन सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com