अदालतबाट स्वीकृतबाहेक पहिले स्वीकृत एसाइलमसमेत युएससीआईएसले खारेज गर्नसक्ने


प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार

युएससीआईएसले अदालतबाट स्वीकृत भएकाहरुबाहेक युएससीआईएसबाट स्वीकृत भएका एसाइलमहरु खारेज गर्नसक्ने सन्दर्भमा पोलीसी मेमो जारी गरेको छ । शुक्रबार जारी पोलसी मेमोमा युएससीआइएसबाट स्वीकृत भएका एसाइलमका केसहरु खारेज गर्ने वा उल्टाउने सन्दर्भमा युएससीआईएसका अफिसरहरुलाई प्रकृयाबारे स्पष्ट पारिएको छ ।

उक्त मेमोबारे स्पष्ट पार्दै कानुन व्यवसायी रमेश श्रेष्ठले भन्नुभयो -‘मेमोमा एसाइलम स्वीकृत भएको आधारमा एकबर्षपछि ग्रिनकार्ड फाइल गर्ने बेलामा युएससीआईएसका अफिसरले स्वीकृत एसाइलम कसरी उल्टाउन वा खारेज गर्नसक्छन् भन्ने स्पष्ट पारिएको छ । यो मेमो अनुशार युएससीआईएसबाट स्वीकृत भइसकेको एसाइलममा समेत कुनै खराबी देखेमा पुरानो निर्णय उल्टाएर ग्रिनकार्ड अस्वीकृत गर्न सकिनेछ ।’

 

मेमोमा भनिएको छ -‘शरणार्थीको परिभाषामा पर्ने र अमेरिकामा शरण खोज्ने बेलामा भौतिक रुपमा उपस्थीतहरुलाई एसाइलम स्वीकृत गर्न सकिन्छ । तर एसाइलम स्वीकृत हुँदैमा अमेरिकामा स्थायी रुपमा नै बसोबास गर्ने अधिकार प्राप्त हुँदैन । जव आवेदक शरणार्थीको परिभाषामा पर्ने मापदण्डभित्र पर्न छाड्छ, तब कानुनले उसको शरण खारेज गर्ने आधारहरु प्रदान गर्छ ।’

‘एसाइलमका आधारमा दिइएको ग्रिनकार्ड आवेदनबारे निर्णय गर्ने युएससीआईएसका अधिकारीले एसाइलम स्टाटस खारेज गर्ने आधारहरुको पहिचान गर्न सक्छन् । यो अपडेटले एसाइलमको स्टाटस खारेज गर्नका लागि विस्तृत मार्गनिर्देशन प्रदान गर्दछ’ – मेमोमा भनिएको छ ।

पोलिसी म्यानुअलको भोल्युम ७ को च्याप्टर ६ मा यसबारे विस्तारमा ब्याख्या गरिएको छ । च्याप्टर ६ को बी २ मा भनिएको छ – ‘युएससीआईएसले अध्यागमन अदालतबाट न्यायाधिसले स्वीकृत गरेको एसाइलम भने खारेज गर्न सक्नेछैन । अदालतबाट स्वीकृत एसाइलम खारेजका लागि प्रकृया सुरु गर्न आइसले अध्यागमन अदालतसमक्ष एसाइलको मुद्दा पुन खोल्नका लागि आवेदन दिनुपर्नेछ ।’

युएससीआईएसले कसैको पहिले नै स्वीकृत भएको एसाइलम खारेज गरेमा उसका परिवारका सदस्यहरुले ग्रिनकार्ड पाइनसकेको अवस्था भएमा उनीहरुको पनि एसाइलमको स्टाटस खारेज हुने नीतिमा स्पष्ट पारिएको छ । खारेज गर्ने अवस्था आएमा युएससीआईएसले एनओआईटी अर्थात् नोटिस अफ इन्टेन्ड टु टर्मिनेट पठाउनेछ ।

त्यस्तै मुख्य एसाइलीको एसाइलम अदालतबाट स्वीकृत भएको अवस्थामा समेत परिवारका सदस्यहरु (दम्पत्ति र छोराछोरी) को एसाइलम युएससीआईएसले खारेज गर्न सक्ने नीतिमा उल्लेख छ । तर त्यसका लागि परिवारका सदस्यहरुको एसाइलम खारेज गनुपर्नाको स्वतन्त्र कारण युएससीआईएसले दिनसक्नुपर्नेछ । यस्तो अवस्थामा प्राथमिक एसाइलीको एसाइलम कायम रहने र परिवारका सदस्यहरुको खारेज हुने अवस्था समेत आउनसक्नेछ ।

नाइन्थ सर्किटको क्षेत्राधिकारभित्र भने फरक हुन सक्नेछ । किनभने नाइन्थ सर्किट कोर्टले गरेको एउटा फैसलामा उक्त क्षेत्राधिकार भित्र बस्नेहरुको एसाइलमको स्टाटस युएससीआईएसले खारेज गर्न नपाउने उल्लेख छ । तर नाइन्थ सर्किटमा पनि युएससीआईएसले आइसमार्फत देशनिकालाको प्रकृया सुरु गर्नका लागि अदालतमा उपस्थीत हुने सुचनाका साथमा एनओआईटी जारी गर्न भने सक्नेछ ।

एसाइलमको अवस्था खारेज गर्नसक्नेबारे विस्तृत नीति निर्देशिका यहाँ पढ्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com