यस्ता छन् भोलिदेखि परिवर्तन हुने एसाइलम वर्क परमिट आवेदनमा थपिएका प्रश्न


प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार

अमेरिकी सरकारको युएससीआईएसले अगस्त २५ देखि लागु हुनेगरी एसाइलमका वर्क परमिटका नियममा ब्यापक परिवर्तन गरेको छ । भोलिदेखि लागु हुनेगरी वर्क परमिटको आवेदन फर्ममा पनि परिवर्तन गरिएको छ ।

अगस्त २५ देखि वर्क परमिटका लागि आवेदन दिनेहरुले अगस्त २५, २०२० को फर्मको संस्करण प्रयोग गर्नुपर्नेछ । पुरानो संस्करण प्रयोग गरेको खण्डमा वर्क परमिटको आवेदन स्वत अस्वीकृत हुनेछ ।

फर्मको नयाँ संस्करणमा विभिन्न प्रश्नहरु थप गरिएका छन् । फर्मको प्रश्न ३० बीमा तपाई अमेरिका कानुनी रुपमा पोर्ट अफ इन्ट्रीबाट प्रवेश गर्नुभएको हो कि होइन ? पोर्ट अफ इन्ट्रीमा इमिग्रेशन अफिसरले जाँचबुझ गरेर प्रवेश दिएको हो कि होइन ? भनेर प्रश्न सोधिएको छ । यदि तपाईको अमेरिका प्रवेश कानुनी थियो भने तपाईले त्यसको प्रमाण समेत पेश गर्नुपर्नेछ ।

यदि तपाई भिसासहित अमेरिका आउनु भएको होइन वा पोर्ट अफ इन्ट्रीमा इमिग्रेशन अफिसरले तपाईलाई जाँचबुझ गरेर प्रवेश दिएको होइन भने तपाईले प्रश्नको ३० को सीको जवाफ दिनुपर्नेछ । जसमा तपाई गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेको ४८ घण्टाभित्र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी वा त्यसको प्रतिनिधिसमक्ष पेश हुनुभएको थियो वा थिएन ? र तपाईले आफ्नो देशमा असुरक्षित भएका कारण अमेरिकामा शरणको आशय व्यक्त गर्नुभएको थियो वा थिएन ? भनेर सोधिएको छ ।

यदि तपाईले जवाफ थिएन भन्ने भएमा तपाई वर्क परमिटका लागि अयोग्य हुनसक्नुहुनेछ । यदि थियो भने तपाईले कुन मितिमा र कुन स्थानमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेको ४८ घण्टाभित्र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी वा त्यसको प्रतिनिधिसमक्ष पेश हुनुभएको थियो र तपाईले आफ्नो देशमा असुरक्षित भएका कारण अमेरिकामा शरणको आशय व्यक्त गर्नुभएको थियो , त्यसको विवरण प्रश्न ३० को डी, ई र एफमा दिनुपर्नेछ ।

त्यस्तै प्रश्न ३० को जीमा तपाई पोर्ट अफ इन्ट्रीबाट किन प्रवेश गर्न सक्नुभएन ? त्यसको जवाफ विस्तारमा दिनुपर्नेछ । पेन्डिङ एसाइलम हुनेहरुका लागि फर्मका यी प्रश्नहरु कसरी भर्ने भन्ने सन्दर्भमा विशेष निर्देशिका समेत जारी गरिएको छ ।

फर्मको नयाँ संस्करण हेर्न यहाँ क्लिक गर्नुहोला ।

फर्म भर्ने तरिका विस्तारमा हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रारम्भिक आवेदन वा नविकरण दुबैका सन्दर्भमा नयाँ फर्म र नयाँ नियम लागु हुने भएको छ । अगस्त २५ भन्दा अगाडि पोष्टमार्क गरिएका आवेदनको सन्दर्भमा भने सन् २०१९ डिसेम्बर २६ को फर्मको संस्करण प्रयोग गर्न सकिनेछ । तर अगस्त २५ र त्यसपछिका लागि भने सन् २०२० को अगस्त २५ को फर्मको संस्करण प्रयोग गर्नुपर्नेछ ।

युएससीआईएसले वर्क परमिटका सन्दर्भमा अक्टोबर २ पछि नयाँ शुल्क लागु गर्न लागेको छ । अक्टोबर २ भन्दा अगाडि वर्क परमिटको आवेदन शुल्क ४१० डलरमात्र तिरे पुग्नेछ । तर अक्टोबर २ पछि भने ५५० डलर तिर्नुपर्नेछ ।

एसाइलमको वर्क परमिटमा हुन लागेको परिवर्तनबारे गरिएको विशेष कुराकानी ।

 

अगस्त २५ बाट लागु हुने नयाँ नियम अनुशार अब वर्क परमिटका लागि आवेदन दिन एसाइलम पेन्डिङ रहेको एकबर्ष पूरा भएको हुनुपर्नेछ । अहिलेसम्म एसाइलम पेन्डिङ रहेको १५० दिनपछि वर्क परमिटका लागि आवेदन दिन सकिने नियम रहेको थियो ।

नयाँ नियम अनुशार युएससीआईएस वा अध्यागमन अदालतमा एसाइलम आवेदन दिएको ३६५ दिन पूरा भएपछिमात्र वर्क परमिटका लागि आवेदन दिन सकिनेछ । त्यस्तै आवेदकको कारणले आवेदनउपर निर्णय हुनमा ढिलाई भएको अवस्थामा वर्क परमिट अस्वीकार गर्ने समेत नयाँ नियममा व्यवस्था गरिएको छ ।

त्यस्तै नयाँ नियममा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिएकाहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा वर्क परमिट नदिने उल्लेख छ ।  त्यस्तै कानुनी रुपमा प्रवेश गर्नेहरुको एसाइलम आवेदन पनि वर्क परमिट प्राप्त गर्ने उद्देश्यकोमात्र देखिएको खण्डमा त्यस्ता आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट जारी नगर्ने समेत नयाँ नियममा उल्लेख छ ।

त्यस्तै युएससीआईएसमा आवेदन दिइएको सकारात्मक एसाइलमका सन्दर्भमा एसाइलम स्वीकृतिका लागि सिफारिस जारी हुँदै आएकोमा त्यस्तो सिफारिस अन्त्य गरिने भएको छ । एसाइलम अफिसरले आवेदन स्वीकृत गर्न चाहेको तर पृष्ठभूमि परिक्षण लगायतका रिपोर्ट प्राप्त नभएको अवस्थामा त्यस्तो सिफारिस सहितको निर्णय गरिदै आएको थियो ।

अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने वा गर्ने प्रयास गर्नेहरु एसाइलम आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्नका लागि योग्य नहुने नियममा जनाइएको छ भने अमेरिका प्रवेश गरेको एकबर्षभित्र एसाइलम आवेदन नदिएकाहरु समेत पेन्डिङ एसाइलम आवेदनका आधारमा वर्क परमिट प्राप्त गर्न अयोग्य हुनेछन् ।

त्यस्तै ३६५ दिनको अवधिमा एसाइलम अफिसरबाट एसाइलम आवेदन अस्वीकृत भएमा वा अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएमा त्यस्ता आवेदकहरु वर्क परमिटका लागि आवेदन दिन अयोग्य हुनेछन् । आपराधिक पृष्ठभूमि भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता अपराध गरेकाहरुलाई पनि पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्रदान गरिने छैन ।

यदि कुनै व्यक्तिले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गरेको छ भने पछि आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकृत भएकै दिनदेखि वर्क परमिटको म्याद समाप्त हुने समेत उल्लेख छ । युएससीआईएसले अस्वीकृत गरेको आवेदन अध्यागमन अदालतमा गएको खण्डमा भने वर्क परमिटका लागि आवेदन दिन सकिने जनाइएको छ । यदि अध्यागमन अदालतले आवेदन अस्वीकृत गरेको खण्डमा त्यसको तीस दिनमा वर्क परमिटको म्याद सकिने नियममा उल्लेख गरिएको छ । तर बोर्ड अफ इमिग्रेशन अपिलमा समयमै अपिल फाइल गर्नेहरुका सन्दर्भमा भने वर्क परमिट कायम हुनसक्नेछ ।

नियममा एसाइलमको आवेदन प्रकृया र अन्तरवार्ताका सन्दर्भमा पनि परिवर्तन गरिएको छ । त्यस्तै वर्क परमिटको म्याद २ बर्षभन्दा बढीको नहुने तर त्यो भन्दा कम म्याद भएको वर्क परमिट समेत जारी गर्न सकिने नियममा उल्लेख छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com