अमेरिकाबाट नेपाल भित्रिने रेमिट्यान्स उच्च, न्युयोर्कमा थपियो सानिमा एक्सप्रेस


प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार

नेपालमा अमेरिकाबाट भित्रिने रेमिट्यान्समा उल्लेख्य बृद्धि भएसँगै अमेरिकामा नेपाली मनी ट्रान्सफर कम्पनीहरु पनि थपिदै गएका छन् । यसैक्रममा न्युयोर्कमा सानिमा एक्सप्रेसले सेवा सुरु गरेको छ ।

नेपालमा रकम पठाउन सकिने सेवासहित न्युयोर्कको ज्याक्सनहाइटमा सानिमा एक्सप्रेस सुरुवात गरिएको संचालक प्रदीप श्रेष्ठले जानकारी दिए । ज्याक्सन हाइटमा सानिमा एक्सप्रेसको  उद्घाटन कार्यवाहक महावाणिज्यदूत पुष्प भट्टराईले गरे ।

ज्याक्सनहाइटमा सानिमा एक्सप्रेसको उद्घाटन गर्दै कार्यवाहक महावाणिज्यदूत पुष्प भट्टराई

हुन्डीमार्फत् विदेशबाट पैसा पठाउन सरकारले निरुत्साहित गरेपछि पछिल्ला वर्षमा रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका सबैभन्दा माथि परेको छ । यसअघि कतार, साउदी अरेबिया, मलेशिया लगायतका राष्ट्रबाट धेरै रेमिट्यान्स भित्रिने गर्थ्यो भने गतबर्ष तिनलाई उछिनेर सबैभन्दा माथि अमेरिका आएको थियो ।

अमेरिकाबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा अमेरिकाबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च छ। अघिल्लो आर्थिक वर्ष अमेरिकाबाट मात्रै १ अर्ब ६४ करोड डलर रेमिट्यान्सका रूपमा भित्रिएको थियो ।

दोस्रो मुलुकबाट आउने रेमिट्यान्सभन्दा अमेरिकाबाट आउने रेमिट्यान्स झण्डै दोब्बर छ। तथ्यांकअनुसार भारतबाट ८१ करोड डलर रेमिट्यान्स भित्रिएको छ। त्यस्तै साउदी अरेबियाबाट ७८ करोड, यूएईबाट ७४ करोड, मलेसियाबाट ६५ करोड, जापानबाट ५८ करोड रोमानियाबाट ४९ करोड डलर रेमिट्यान्स भित्रिएको छ।

कोरिया, बहराइन र कतार पनि नेपालमा रेमिट्यान्स पठाउने मुलुकमा ‘टप टेन’भित्र छन्। गत आर्थिक बर्षमा कति रकम नेपाल भित्रियो भन्नेबारेको तथ्यांक अझै सार्वजनिक भएको छैन ।

गत चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा कुल तीन खर्ब चार अर्ब ५७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा २.३ प्रतिशत कम हो।

रेमिट्यान्समा महामारीको प्रभाव

चालू आर्थिक वर्ष २०७६(७७ मा नेपाल भित्रने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घट्ने नेपाल राष्ट्र बैंकले अनुमान गरेको थियो । यसअघि केन्द्रीय तथ्यांक विभागले रेमिट्यान्स आप्रवाह साढे १८ प्रतिशतले र विश्व बैंकले १४ प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए ।

मुलुकको अर्थतन्त्रको प्रमुख खम्बामध्येको एक रेमिट्यान्स आप्रवाहको अवस्था त्यसभन्दा पनि खराब हुने प्रक्षेपण केन्द्रीय बैंकले गरेको हो । गत पुसबाट देखिएको कोरोना भाइरसका कारण विश्वभर महामारी फैलिएकाले रेमिट्यान्समा प्रत्यक्ष प्रभाव पर्ने राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए । हाल विश्वभर करीब ५० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको अनुमान छ ।

फागुन महिनाको तुलनामा चैतमा नै रेमिट्यान्स आप्रवाह करिब ५० प्रतिशतले घटेको प्रक्षेपण गरिएको थियो । गत फागुन एक महिनामा मात्रै ७९ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । उक्त अवधिसम्म भने कुल ५ खर्ब ९२ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

राष्ट्र बैंकको प्रक्षेपणअनुसार रेमिट्यान्स घटेर चैतमा ३९ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवभित्र ७ खर्ब ३ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स मात्र भित्रिएको अनुमान छ । अघिल्लो वर्ष कुल ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसअघि केन्द्रीय तथ्यांक विभागले समेत चालू आवमा कुल ७ खर्ब १६ अर्ब रकममा रेमिट्यान्स सीमित हुने प्रक्षेपण राष्ट्रिय लेखा तथ्यांकमा सार्वजनिक गरेको थियो ।

भारतबाट आउने रेमिट्यान्सको हिस्सा करिब १५ प्रतिशत छ, त्यहाँसमेत लकडाउन कायमै रहेकाले त्यहाँबाट आउने रेमिट्यान्ससमेत प्रभावित भएको छ । खाडी मुलुकहरूको आर्थिक वृद्धिदरसमेत ३–४ प्रतिशतमा सीमित हुने आकलन छ ।

सानिमा एक्सप्रेस उद्घाटनका थप तस्वीर

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com