बाह्रसय छोराछोरी हुर्काउँदै एसओएसका आमा !


प्रकाशित मिति : बैशाख १३, २०७४ बुधबार

आफ्ना छोराछोरी हुर्काउन धौधौ मान्ने वर्तमान नेपाली समाजमा ५२ वर्षीया अविवाहिता गोमा गुरुङले आठ जना छोराछोरी हुर्काइरहनुभएको छ । उहाँले उनीहरुलाई माया र कर्म दिइराख्नुभएको छ ।

त्यतिमात्रै होइन गुरुङले अरु १७ जना छोराछोरीलाई उचित शिक्षादीक्षा दिएर हुर्काइसक्नुभएको छ । शिक्षा र रोजगारी पाएपछि समाजमा पुनःस्थापित भएका छोराछोरीमध्ये केहीका त नातिनातिना पनि भइसकेका छन् ।

अविवाहित गुरुङजस्तै लक्ष्मी लिम्बू पनि त्यस्तै आमा हुन् जसले आफू बिहे नै नगरी यतिखेर नौ छोराछोरीको आमा बनेर उनीहरुलाई हुर्काइरहनुभएको छ । गोमा र लक्ष्मीजस्तै अर्की आमा लक्ष्मी घिमिरेको कथा भने अलि फरक छ । बिहेको अर्थ नै नबुझ्ने १३ वर्षे केटाकेटी उमेरमा उहाँको विवाह भयो । बिहे गरेको एक वर्षमै उहाँले श्रीमान् गुमाउनुभयो । उहाँ अहिले आठ छोराछोरीको आमा बन्नुभएको छ । यसअघि घिमिरेले १७ जना छोराछोरीलाई हुर्काइ, बढाइ र पढाइसक्नुभएको छ ।

यस्तै सीता गिरी आफ्नै कोखबाट जन्मेका दुई छोराछोरीको साथै आफ्नो नयाँ कर्मघरका नौ जना छोराछोरीको रेखदेख र स्याहारसुसार गरिरहनुभएको छ ।

यतिखेर एसओएस बालग्राम सानोठिमीका १६ वटा घरका १६ जना आमा र आठ जना काकी त्यहाँ आश्रित १६० छोराछोरी स्याहार्न खटिनुभएको छ । उहाँहरु जस्तै मुलुकभरिका १० वटा एसओएस बालग्रामका एक हजार २०० छोराछोरीलाई स्याहार्न, रेखदेख गर्दै उनीहरुलाई सवल र सक्षम बनाउन १२८ जना आमा तथा ७५ जना काकी अहोरात्र खटिइरहनुभएको छ ।

यसबाहेक बालग्रामबाट विद्यालय शिक्षा सकी डेरामा बसेर पढिरहेका अरु ६०० छोराछोरी पनि तिनै आमाको प्रत्यक्ष निगरानीमा रहेका छन् । कुशल आमाको जिम्मेवारी निर्वाह गरेबापत बालग्रामले उहाँहरुलाई विभिन्न सेवा सुविधा र पारिश्रमिक दिन्छ । ती आमाहरुले आफ्नो जीवनको उत्पादनशील उमेर र वैशालु समय तिनै छोराछोरीका लागि भनेर त्याग गर्दै आउनुभएको छ ।

प्राकृतिक प्रकोपलगायत विभिन्न कारणले आफूलाई जन्मदिने बाबुआमा गुमाएका तिनै साना केटाकेटीलाई आमाको माया दिएर स्याहारसुसार र रेखदेख गर्दै दिनरात नभनी आमाहरु खटिनुभएको छ । बालग्रामले विभिन्न जातजाति, धर्म, समुदाय, परिवार र रहनसहनबाट आएका १० जना केटाकेटीलाई एउटा घरमा सँगै राखेर उनीहरुको मनोविज्ञान समेत बुझ्दै हुर्काउँदै आएको छ ।

विगत ४२ वर्षदेखि यस्ता बालबालिकाको लागि काम गर्दै आएको विश्वव्यापी संस्था एसओएस बालग्रामले भक्तपुरको सानोठिमी, काठमाडौँको जोरपाटी, सुनसरीको इटहरी, कास्कीको छोरेपाटन, सुर्खेत, चितवन, लुम्बिनी, काभ्रे र कैलालीस्थित बालग्राममा आश्रित एक हजार २०० बालबालिकालाई तिनै आमाले रेखदेख गर्दै आउनुभएको छ ।

“छोराछोरी र आमासहितको परिवार नै एसओएस बालग्रामको सिद्धान्त हो,” एसओएस बालग्राम सानोठिमीका निर्देशक खगेन्द्रकुमार नेपालले भन्नुभयो । संसारका १३४ मुलुकमा यसै सिद्धान्तमा रही एसओएस बालग्राम स्थापना भएका छन् । “बालग्रामका आमा पहिलो जिम्मेवार अभिभावक हुन्,” नेपालले भन्नुभयो– “आमाको अनुपस्थितिमा काकीले आमाको भूमिका निभाउँछन् ।” आमा, काकी र परिवारका छोराछोरीको सम्पूर्ण आर्थिक पाटो भने सम्बन्धित बालग्रामले व्यहोर्छ ।

एसओएस बालग्राममा आमा या काकी बन्न त्यति सजिलो छैन । कम्तीमा १० कक्षासम्म पढेका, अविवाहित, श्रीमान् गुमाएका, एकल या परित्यक्त महिलालाई छनोट गरी उनीहरुलाई दुई वर्षसम्म सैद्धान्तिक र व्यावहारिक तालिम दिइन्छ । सुरुमा काकी ९प्रशिक्षार्थी आमा० र उनीहरुले छोराछोरी हुर्काउनसक्ने खुवीका आधारमा आमा नियुक्त गर्ने प्रावधान रहेको निर्देशक नेपाल बताउनुहुन्छ ।

केटाकेटी हुर्काउन सक्ने खुवी, बालमनोविज्ञान, सहनशीलतालगायतलाई मध्यनजर गरी आमाको नियुक्ति गरिने व्यवस्था छ । छोराछोरी हुर्काउँदै ६० वर्ष उमेर पुगेका या आमा भएर सेवा गरेका ३० वर्ष पूरा भएर सेवा निवृत्त भएका ती आमालाई बाँचुञ्जेलसम्म बस्नका लागि एसओएस बालग्रामले अलग्गै घर बनाइदिएको छ । यसलाई सेवानिवृत्त आमाको घर ९रिटायर्ड मदर्स हाउस० भनिन्छ ।

नेपालको पहिलो एसओएस बालग्राम सानोठिमीको स्थापनाको ४२ वर्षअवधिमा त्यस्ता सयाँैं छोराछोरी हुर्काएर सेवा निवृत्त भएका १६ जना आमा त्यस्ता घरमा बस्दै आउनुभएको छ भने सेवानिवृत्त भएपछि केही आमाहरु आफ्नै पुख्र्यौली घर फर्कनुभएको छ । अन्य बालग्रामबाट समेत सेवानिवृत्त भएका ५२ जना आमालाई बालग्रामले बाँचुञ्जेल आवास, सम्पूर्ण औषधि उपचार खर्च र निवृत्तिभरणको व्यवस्था गर्दै आएको निर्देशक नेपालले बताउनुभयो ।

आमाहरुले आफ्नो जीवनभरि छोराछोरीलाई गरेको माया, रेखदेख, हेरचाह र निभाएको जिम्मेवारीलाई पैसामा तुलना गर्न नसकिने एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्ग बताउनुहुन्छ । दोस्रो विश्वयुद्धमा आमाबाबु गुमाएका सयौँं बालबालिकाको उद्धार गर्दै अस्ट्रियाका प्रा डा हर्मन माइनरले एसओएस बालग्रामको अवधारणा अघि सार्नुभएको हो । हाल संसारभरि हजारौंँ बालबालिकाले एसओएस बालग्राममार्फत स्याहार, सम्मान र शिक्षादीक्षा पाइरहनुभएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com