एक्सक्लुसिभ : १ बर्षबढी बाहिर बस्ने ग्रिनकार्डवाहकलाई यस्ता कागजात ल्याउन सीबीपीको सुझाव


प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार

युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीका प्रवक्ता नेट पीटर्सले अमेरिकी ग्रिनकार्डवाहक अमेरिकाबाहिर २ बर्षभन्दा लामोसमय बसेको खण्डमा मात्र एसबीवान रिइन्ट्री भिसा लिएर अमेरिका आउनुपर्ने बताएका छन् । उनले खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग भनेका छन्  -‘यदि ग्रिनकार्डवाहक अमेरिकाबाहिर बसेको दुईबर्ष वा त्योभन्दा बढी भएको छ भने उनीहरु रिइन्ट्री भिसा एसबीवान लिएर आउनुपर्छ ।’

पोर्ट अफ इन्ट्रीमा सीबीपी अधिकारीहरुले उक्त व्यक्ति अमेरिका प्रवेशका लागि योग्य भए नभएको अन्तिम निर्णय गर्ने उनले जनाकारी दिएका छन् । हरेक यात्रुको परिस्थीतिको समग्र अवस्थालाई हेरेर सीबीपी अधिकारीले यसबारे निर्णय गर्ने प्रवक्ता पीटर्सले जानकारी दिए ।

एकबर्षभन्दा कम अवधि अमेरिकाबाहिर बसेका ग्रिनकार्डवाहकले अमेरिका प्रवेश गर्दा सीबीपी अधिकारीलाई ग्रिनकार्डमात्र देखाए पुग्ने उनले स्पष्ट पारेका छन् । तर ग्रिनकार्डवाहक एकदेखि दुईबर्षको अवधिसम्म अमेरिकाबाहिर बसेको खण्डमा भने रिइन्ट्री परमिट (फर्म आई १३१) आवश्यक पर्ने उनले बताएका छन् ।

तर युएससीआईएसका अनुशार फर्म आई १३१ आवेदन अमेरिकाबाहिर भएको अवस्थामा दिन मिल्दैन । यो आवेदन दिनका लागि आवेदक भौतिकरुपमा अमेरिकाभित्रै भएको हुनुपर्छ । आवेदकले अमेरिका छाड्नुभन्दा कम्तीमा ६० दिन अगाडि यो आवेदन दिनुपर्छ ।

युएससीआईएसले भनेको छ -‘तपाईले अमेरिका भएकै बेलामा फर्म आई १३१ भरेर आवेदन दिनुपर्छ । तर तपाईले बायोमेट्रिक दिइसक्नुभएको छ भने युएससीआईएसले यो आवेदन स्वीकृत गर्दासम्म र रिइन्ट्री परमिट जारीगर्दासम्म तपाई अमेरिकाभित्रै बस्न जरुरी हुँदैन । तपाईले आवेदनमा युएससीआईएसले आफ्नो रिइन्ट्री परमिट अमेरिकी दूतावास वा कन्सुलेटमा मगाउने विकल्प छान्न सक्नुहुन्छ । र, तपाईले दूतावासबाट उक्त कागजात पिकअप गर्न सक्नुहुन्छ ।’

कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउन नसकेका तर अमेरिका छाड्ने बेलामा रिइन्ट्री परमिट नलिईकनै गएकाहरुले के गर्ने भन्ने विषयमा उनले केही बताएनन् । यद्यपी यसबारे फरकफरक खालका भनाईहरु समेत आइरहेका छन् ।

कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउन नसकेका तर अमेरिका छाड्ने बेलामा रिइन्ट्री परमिट नलिइकनै गएका ग्रिनकार्डवाहकको ग्रिनकार्डको म्याद समाप्त नभएको अवस्थामा आउन नसक्नुको आवश्यक कागजातसहित सिधै अमेरिका आउनसक्ने र उसको अमेरिका प्रवेशबारे पोर्ट अफ इन्ट्रीमा निर्धारण गरिने सीबीपीका उच्च अधिकारीलाई उद्धृत गर्दै कानुन व्यवसायी केशव सेडाईले जानकारी दिएका थिए ।

तर अमेरिकी दूतावास काठमाडौंले भने कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका फर्कन नसकेका ग्रिनकार्डवाहकले दूतावासमा सम्पर्क गर्नसक्ने बताएको छ । कन्सुलर अधिकारीले भनेका थिए -‘यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई एकबर्षभित्र अमेरिका फर्कन सक्नुहुन्छ । तर एकबर्षभित्र अमेरिका फर्कन सक्नुभएन भने तपाईले रिटर्निङ रेसिडेन्ट भिसा एसबी वानका लागि आवेदन दिनुपर्ने हुन्छ ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com