पहिलो चरणका आवदेन प्रयाप्त नभएपछि अमेरिकाले कामदार भिसाको दोश्रो लोटरी खोल्यो


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

अमेरिकी सरकारको युएससीआईएसले कामदार भिसा एचवानबीको दोश्रो लोटरी खोलेको छ । युएससीआइएसले आजदेखि रोजगारदाता र उनीका कानुनी प्रतिनिधिहरुलाई आर्थिक बर्ष २०२१ का लागि दोश्रो लोटरीमा छनौट भएकाहरुकोबारेमा सुचना पठाउन सुरु गरेको छ ।

दोश्रो लोटरीमा छनौट भएकाहरुले अगस्त १७ देखि नोभेम्बर १६ सम्म आवेदन प्रकृया अगाडि बढाउन सक्नेछन् । आर्थिक बर्ष २०२१ का लागि कामदार भिसा एचवानबीमा ८५ हजारको कोटा पुरा नभएपछि दोश्रो पटक लोटरी खोलिएको हो ।

अप्रिल १ देखि जुन ३० सम्मको अवधिमा आवेदन दिनेहरुबाट कोटा पूरा नभएपछि दोश्रो लोटरी खोलिएपनि कतिजनाका लागि खोलिएको हो भन्नेबारे केही खुलाइएको छैन । युएससीआईएसले दोश्रो लोटरीबाट कतिजना छनौट गरेको छ भन्नेबारे सुचना जारी गर्ने अपेक्षा गरिएको छ ।

दोश्रो लोटरीबाट छानिएका कामदारहरुका सन्दर्भमा रोजगारदाताले युएससीआईएसका तर्फबाट केसमा कदम चालिएको व्यहोरासहितको सुचना प्राप्त गर्नेछन् । अनलाइनमा लगइन गरेर दोश्रो लोटरीमा छनौट भएको सुचना प्रिन्ट गर्न सकिनेछ ।

मार्च १ देखि मार्च २० सम्म अनलाइनबाट इन्ट्री गरेका तर पहिलो चरणमा छनौट नभएकाहरु दोश्रो चरणमा छनौट भएका हुन् । अनलाइन इन्ट्रीका लागि अर्को अवधि भने खोलिएको थिएन । यो बर्ष कामदार भिसा एचवानबीका लागि अनलाइन इन्ट्री शुल्क १० डलर तोकिएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com