महानगरपालिकाले पखाल्न सुरु गर्यो काठमाडौंका धुलाम्मे सडक


प्रकाशित मिति : बैशाख १२, २०७४ मंगलबार

काठमाडौं महानगरपालिकाले धुलाम्मे बनेको काठमाडौंका पिच सडक पखाल्न सुरु गरेको छ । दमकलको प्रयोग गरेर धुलाम्मे बनेका काठमाडौंका सडक पखाल्न थालिएको हो । मेलम्ची खानेपानीका लागि खनिएको सडकका कारण सडक धुलाम्मे हुँदा सर्वसाधारणले सास्ती खेपिरहको अवस्थामा गएराती पुतलीसडक क्षेत्र पखालिएको थियो ।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् । घाम लाग्दा बुङ्बुङ्ती उड्ने धुलो र पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छैन वायुप्रदुषण पनि ह्वात्तै बढेको छ ।

यही समस्याको समाधानका लागि रातीको समयमा सडक पखाल्ने कामको सुरुवात गरिएको हो । रातीमा सवारीको चाप कम हुने भएकाले रातको समयमा बाटो सफा गर्न लागिएको जनाइएको छ । अब नियमितरुपमा नै सडकहरु पानीले पखालिने तर पिच नगरिएका सडक भने पखाल्न सम्भव नहुने जनाइएको छ ।

सडक सफा गर्न रातिको समयमा महानगरले दुई वटा दमकलसहित ४ वटा ट्यांकरको प्रयोग गर्नेछ । बालाजुबाट पानी ल्याएर सडक सफा गरिनेछ ।  दैनिक ४ देखि ६ किलोमिटर सडक सफा गर्न सकिने अनुमान महानगरपालिकाको छ । राति ९ बजेदेखि १२ बजेसम्म महानगरका सफाइ सेवाका कर्मचारी सडक पखाल्न खटिनेछन् । पानीको फोहोरा लगाएर सडकमा जमेको माटो र धुलो हटाइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com