युएससीआईएसका साढे १३ हजार कर्मचारी अगस्त ३० पछि बेतलवी विदामा


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

अमेरिकाको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिस युएससीआईएसका झण्डै साढे १३ हजार कर्मचारीहरुलाई अगस्त ३० पछि बेतलवी विदा दिइने भएको छ । अमेरिकामा नागरिकता, ग्रिनकार्ड र भिसाको काम गर्ने सरकारी एजेन्सी युएससीआईएसका झण्डै दुईतिहाई कर्मचारीर्ला विदा दिन लागिएको हो ।

युएससीआईएसले १३ हजार ४ सय कर्मचारीहरुलाई अगस्त ३० पछि विदामा बस्नेबारे सुचित गरिसकेको छ । यसअगाडि अगस्त पहिलो सातादेखि नै बेतलवी विदा दिने तयारी गरिएपनि सो अवधि अगस्त अन्तिमसम्मका लागि लम्बाइएको थियो ।

तर अमेरिकी संसदले युएससीआईएसका कर्मचारीको तलबका लागि बजेट पारित नगरेपछि कर्मचारीहरु विदामा बस्नुपर्ने भएको हो । युएससीआईएसले संसदसमक्ष १ दशमलव २ बिलियन डलर माग गरेको थियो । तर अब उक्त रकम संसदबाट अगस्त ३० अगाडि पारित हुने सम्भावना निकै कम छ ।

युएससीआईएसका अधिकांश कर्मचारीहरु विदामा बस्नुपरेमा युएससीआईएसमा दिइएका विभिन्न आवेदनहरु प्रभावित हुनेछन् । पहिले नै कडा ब्याकलगको सामना गरिररहेको युएससीआईएसमा एकखालको संकट उत्पन्न हुने देखिएको छ भने इमिग्रेशन प्रणाली ठप्प हुने सम्भावना छ ।

अमेरिकी संसदमा रिपब्लिकन र डेमोक्रेटिक सांसदहरुबीच सहमतिको गाँठो फुक्न नसक्दा कोरोनाको राहत प्याकेज पनि पारित हुन सकेको छैन । कैयन सांसदहरु आआफ्ना क्षेत्रमा फर्किसकेका छन् । कोरोनाको राहत प्याकेज अब सेप्टेम्बर अगाडि पारित हुने सम्भावना कम रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com