अब अमेरिकाको भिसा लिन केही सजिलो, कठिन प्रश्नावलीसहितको डीएस ५५४० फर्म भर्न नपर्ने


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

अब अमेरिकाको भिसा लिंदा डीएस ५५४० फर्म भर्न नपर्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले एक वक्तब्य जारी गर्दै भिसा आवेदन दिंदा डीएस ५५४० फर्म भर्नु नपर्ने जनाएको छ ।

अमेरिकाको संघीय अदालतले पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएको झण्डै १० दिनपछि विदेश मन्त्रालयले भिसा आवेदकहरुले अब यो फर्म भर्न आवश्यक नभएको जनाएको हो । अदालतको आदेश कार्यान्वयनका लागि यो फर्मको व्यवस्था हटाइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

तर आईएनए २१२, ए, ४ अन्तरगत पब्लिक चार्जको सम्भावना भएका व्यक्तिको भिसा प्रशासनिक प्रकृयाका लागि अस्वीकृत गरिने जनाइएको छ । प्रशासनिक प्रकृयाका क्रममा अदालतको उचित आदेश पालना भए नभएको पुनरावलोकन र विभागसँग छलफल गरेर भिसा स्वीकृत गर्नसकिने प्रावधान रहेको छ ।

गत फरबरीबाट लागु हुनेगरी अमेरिकी विदेशमन्त्रालयले अमेरिकामा सरकारी सुविधा लिने सम्भावना हुनेहरुलाई अमेरिकी भिसा अस्वीकार गर्न सकिने प्रावधान सहितको पब्लिक चार्ज प्रश्नावली प्रकाशित गरेको थियो । डीएस ५५४० नामको यो फर्म हरेक आप्रवासी भिसा आवेदकहरुले अनिवार्य भर्नुपर्ने व्यवस्था गरिएको थियो भने कतिपय गैरआप्रवासी भिसा आवेदकलाई समेत अमेरिकी दूतावासले यो फर्म भर्न लगाउनसक्ने प्रावधान थियो ।

अमेरिका आएर सरकारी सुविधा लिने सम्भावना भए नभएको जाँच्न अमेरिकी दूतावासमा भिसा आवेदनका साथमा यो फर्म भरेर बुझाउनुपर्ने प्रावधान थियो । अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले पब्लिक चार्जसम्बन्धि नियम लागु गरेकै मितिबाट विदेशमन्त्रालयले यो नियम लागु गरेको थियो ।

अमेरिकी भिसा प्राप्त व्यक्तिलाई अमेरिका प्रवेश गर्ने क्रममा पोर्ट अफ इन्ट्रीमा बाधा उत्पन्न नहोस् भन्ने उद्देश्यले विदेश मन्त्रालयले एकैपटक यो नियम कार्यान्वयनमा ल्याएको थियो ।

यो फर्म विभिन्न ९ भागमा रहेको छ भने १८ प्रकारका प्रश्नावलीहरु रहेका छन् । स्वास्थ्यविमा भए नभएको, अमेरिका प्रवेशको ३० दिनभित्र स्वास्थ्य विमा लिने नलिने, अमेरिकामा हुने सम्भावित परिवारको आकार, आवेदकको सम्पत्ति विवरण, आम्दानी विवरण, बार्षिक खर्च विवरण फर्ममा उल्लेख गर्नुपर्ने प्रावधान थियो ।

त्यस्तै अमेरिकामा गएपछि रोजगार दिनेको विवरण, अमेरिका गएपछि गर्ने बार्षिक कमाई, अमेरिकामा गइसकेपछिपनि घरभाडा, स्टक, विदेशी पेन्सन लगायत निरन्तर प्राप्त गर्ने आम्दानीको विवरण, बैंकखातामा भएको रकम, घरजग्गाको विवरण, तिर्नुपर्ने ऋणको विवरण, परिवारका कुनै सदस्यले अमेरिकी सरकारी सुविधा लिएको भएमा त्यसको विवरण, अमेरिकामा गइसकेपछि सरकारी सुविधा लिने सम्भावना भए नभएकोबारे घोषणा पनि फर्ममा उल्लेख गर्नुपर्ने थियो ।

त्यस्तै हाइस्कुल वा हाइस्कुलभन्दा माथिको शिक्षा भए नभएको विवरण, कुनै पेशागत दक्षता भए नभएको विवरण पनि फर्ममा भर्नुपर्ने थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com