न्युयोर्कमा कोरोना जीतेका नेपालीको दुखेसो – ‘कोरोनालाई जीतेपनि समाजमा एड्जस्ट हुन गाह्रो’


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

– किशोर पन्थी

मार्चको अन्तिम सातादेखि अप्रिलभरमा अमेरिकाको न्युयोर्कमा कैयन नेपालीहरु संक्रमित भए । झण्डै आधादर्जन नेपालीहरुले कोरोनालाई जीत्न सकेनन् । तर दर्जनौं नेपालीहरुले कोरोनालाई पराजित गरे । कतिपयले घरमै बसेर कोरोनालाई जीते तर कतिपय अस्पतालको इमर्जेन्सी बेडसम्म पुगे ।

कोरोनालाई जीतेका ती नेपालीहरुमा अहिले कोरोना नेगेटिभ देखिएको छ भने एन्टीबडी पोजेटिभ देखिएको छ । कोरोनालाई जीतेपनि सामाजिक सोंचलाई भने जीत्न मुस्किल परिरहेको उनीहरुले गुनासो गरिरहेका छन् । कोरोना संक्रमण भएर जीतेका नेपालीहरुले समाजमा आफूहरुलाई हेर्ने दृष्टीकोणमा परिवर्तनको जरुरी भएको बताएका छन् ।

कोरोनालाई जीतेर अहिले एन्टीबडी पोजेटिभ रहेका शम्भु मोक्तान भन्नुहुन्छ – ‘मैले कोरोनालाई जितिसकें । एन्टीबडी पनि पोजेटिभ छ । तर कतिपय व्यक्ति मलाई परैबाट देख्दासमेत कोरोना सर्छ कि जस्तो व्यवहार गर्नुहुन्छ । अहिले पनि संक्रमितकै जस्तो व्यवहार गर्नुहुुन्छ । यसले मनमा कताकता नरमाइलो अनुभव हुन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक दुरी कायम गरेर र मास्क लगाएरै उपस्थीत हुने कतिपय कार्यक्रममा समेत आफूलाई छुटाउने गरेको मोक्तानको अनुभव छ । अरुको तुलनामा समाजमा फर्कन आफूहरुलाई अझै केही मुस्किल भइरहेको उहाँको अनुभव छ ।

मार्चको अन्तिम साता न्युयोर्कको उडसाइडमा बस्ने अनिता परियारलाई खोकी लाग्ने र ज्वरो आउने लक्षण देखियो । तर सिकिस्त अवस्था नभएकाले अस्पताल भर्ना हुनु परेन ।  घरमै बसेर केही औषधीहरु सेवन गरेपनि निको पनि भयो । उहाँले झण्डै २ महिनापछि मेको अन्तिम साता कोरोना र एन्टीबडी परीक्षण गराउनुभयो । कोरोना नेगेटिभ देखियो, एन्टीबडी पोजेटिभ देखियो । एन्टीबडी पोजेटिभ भएकोमा आफूलाई कोरोना संक्रमण भएर पनि त्यसलाई जीत्न सफल भएकोमा उहाँ निकै खुशी हुनुभयो ।

‘तर केही साथीहरुलाई यो कुरा कसैलाई नबताउन सुझाव दिनुभयो । एउटा भेटघाटमा जाने क्रममा मलाई आफूलाई कुनै बेला कोरोना संक्रमण भएको थियो भन्ने कुरा गोप्य राख्न केही साथीहरुले सुझाव दिएका थिए । थाहा पाएपछि अरुले के सोंच्नेहुन् भनेर मलाई यो कुरा गोप्य राख्न भनिएको थियो । ‘ – अनिताले आफ्नो अनुभव सुनाउनुभयो ।

एकपटक कोरोना संक्रमण भइसकेको व्यक्तिलाई अहिले निकोभएर एन्टीबडी विकाश भइसक्दापनि कतिपयले कोरोना संक्रमितकै रुपमा हेर्दा अनितालाई पनि बेलाबेलामा ननिको लाग्छ । तर उहाँ भन्नुहुन्छ – ‘मैले कोरोनालाई जीत्न सकें । त्यो त मेरालाई गर्वको कुरा हो । यसमा गोप्य राख्नुपर्ने कुरा नै के छ र ?’

त्यस्तै कोरोनालाई जीतेर हाल एन्टीबडी पोजेटिभ रहनुभएका स्वास्थ्यक्षेत्रमा कार्यरत न्युयोर्क निवासी रायन लाम्गाडेले कतिपय व्यक्ति आफ्नो नजिक आउने क्रममा झस्किने गरेको र डराउने गरेको अनुभव आफूलाई समेत भएको बताउनुहुन्छ । तर आफू मेडिकल क्षेत्रमा काम गर्ने र अधिकांश साथीहरु मेडिकल क्षेत्रमै काम गर्ने भएकाले कुनै समस्या भोग्नु नपरेको उहाँको भनाई छ ।

उहाँ भन्नुहुन्छ – ‘मेरो साथीसंगतमा हुने अधिकांश र परिवारका सदस्यहरुले यसबारे बुझ्नुभएकाले परिवारमा र समाजमा एड्जस्ट हुनलाई खासै अप्ठ्यारो महसुस भएको छैन । कोरोना लागेकाहरुलाई पहिलेपहिले कुष्ठरोग लागेकाहरुलाई जस्तो व्यवहार समेत हुन थालेपछि मैले यसबारे सचेतना समेत जगाउने काम गरिरहेको छु ।’

न्युयोर्कको कोरोनामा बस्दै आएका नेपाली अमित शाहको सिंगै परिवार कोरोनाबाट संक्रमित भयो । उनीहरुले कोरोनालाई जीतेर एन्टीबडी टेस्ट पोजेटिभ आइसकेको छ । तर केहीले आफूसँग भेटघाट गर्न अप्ठ्यारो मानेको अनुभव गरेर उहाँहरुले कमै व्यक्तिलाईमात्र भेटघाट गरिरहनुभएको छ ।

अमित भन्नुहुन्छ – ‘हामीले अहिले उसैपनि धेरैसँग भेटघाट गरिरहेका छैनौं । तर कहिलेकाँही एकपटक कोरोना संक्रमण भइसकेको व्यक्तिलाई भेट्न कतिपयमा हिचकिचाहट हुने गरेको अनुभव हुन्छ । त्यसैले हामीले अहिलेका लागि अत्यावश्यकबाहेकका भेटघाट समेत गरेका छैनौं ।’

न्युयोर्कका नेपाली डाक्टर विनोद शाह अप्रिलको पहिलो साता कोरोना संक्रमणका कारण अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभयो । झण्डै एकमहिनासम्म अक्सिजन लगाएर उहाँले कोरोनाबिरुद्ध संघर्ष गनुपरेको थियो । अहिले उहाँ सम्पूर्ण रुपमा निको भइसक्नुभएको छ भने उहाँको शरिरमा पनि एन्टीबडी पोजेटिभ देखिएको छ ।

कोरोना संक्रमण भएर निको भई एन्टीबडी पोजेटिभ देखिएकाहरुका बारेमा नकारात्मक धारणा बन्न नदिन आफूले नबुझेका व्यक्तिलाई सम्झाईबुझाई गर्दै आएको उहाँले बताउनुभयो । एन्टीबडी पोजेटिभ भएको व्यक्तिलाई अस्पतालले पनि काम गर्न स्वीकृति दिइसकेको अवस्थामा त्यस्ता व्यक्तिबाट कोरोना सर्छ कि भनेर आशंका नगर्न उहाँले सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो – ‘एन्टीबडी भएको व्यक्तिको नजिक जाँदा कोरोना संक्रमण हुने खतरा हुँदैन । एन्टीबडी भएकोहरुले प्लाज्मा दिएर उपचार गराइने भएकाले एन्टीबडी हुनेहरुसँग संक्रमितकै जस्तो व्यवहार गर्नुहुँदैन । तर कोरोनाको महामारी समाप्त नभएकाले अझै पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने लगायतका मापदण्डहरु अपनाउन भने छाड्नु हुँदैन ।’

(कभर तस्वीरमा कोरोनालाई जीतेका डाक्टर विनोद शाह र शम्भु मोक्तानका बीचमा पासाङ शेर्पा ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com