महामारीका कारण अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहक एकबर्ष नाघेपनि सिधै अमेरिका आउन पाउने


प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार

महामारीका कारण अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहक एकबर्ष नाघेपनि सिधै अमेरिका आउन पाउने जनाइएको छ । गतसाता एउटा कार्यक्रमका क्रममा कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीका उच्च अधिकारीहरुले यसबारे स्पष्ट पारेको कानुन व्यवसायी केशवराज सेडाईले जानकारी दिनुभयो ।

खसोखास लाइभमा कुरा गर्दै सेडाईले भन्नुभयो – ‘गत साता भएको एउटा कार्यक्रममा हामीले यो प्रश्न सीबीपीका उच्च अधिकारीहरुलाई राखेका थियौं । कोरोनाको महामारीका कारण अमेरिका आउन नसकेका ग्रिनकार्डवाहकको अवधि एकबर्ष नाघेको भएपनि रिटर्निङ भिसा विना नै सिधै अमेरिका आउनसक्ने उनीहरुले जानकारी दिएका छन् ।’

सामान्यतया एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बस्ने ग्रिनकार्डवाहकलाई अमेरिका आउनमा प्रतिबन्ध लाग्ने नियम रहेको छ । उनीहरुले अमेरिका आउनुपरेमा दूतावासमार्फत रिटर्निङ भिसा लिनुपर्ने प्रावधान रहेको छ । तर महामारीका कारण एकबर्षभन्दा लामो समय बाहिर बसेका ग्रिनकार्डवाहकलो छुट पाउनसक्ने सीबीपी अधिकारीलाई उद्दृत गर्दै सेडाईले जानकारी दिनुभयो ।

एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बसेका ग्रिनकार्डवाहकले आफू कोरोनाको महामारीका कारण आउन नसकेका प्रमाणहरु बोक्न सेडाईले सुझाव दिनुभएको छ । आफ्नो स्वास्थ्य अवस्था लगायतका प्रमाणहरु बोक्न सकिने र सीबीपी अधिकारीलाई देखाउन सकिने उहाँले जानकारी दिनुभयो ।

ग्रिनकार्डकै म्याद सकिएकाहरुले भने अमेरिकी दूतावास वा कन्सुलेटबाट बोर्डिङ फोइल लिनुपर्ने प्रावधान रहेको छ । बोर्डिङ फोइलविना म्यादसकिएको ग्रिनकार्डमा एयरलाइन्सले विमानमा नचढाउने र विमानस्थलबाट अमेरिका प्रवेशमा समेत समस्या हुने भएकाले ग्रिनकार्डको म्याद सकिएकाहरुलाई अमेरिकी दूतावासमा सम्पर्क गर्न सेडाईले सुझाव दिनुभएको छ ।

कोरोनाको महामारीबाट प्रभावित नभएको सामान्य अवस्थामा एकबर्षभित्र अमेरिका आउन नसकेका ग्रिनकार्डवाहक वा रिइन्ट्री परमिटको म्याद सकिएकाहरुले रिटर्निङ रेसिडेन्ट भिसा एसबीवान लिनुपर्ने प्रावधान रहेको छ । जसका लागि २०५ डलर शुल्कसहित डीएस ११७ भरेर बुझाउनुपर्छ । यदि आवेदन स्वीकृत भएमा डीएस २६० प्रोसेसिङ शुल्क र मेडिकल परीक्षा तथा भ्याक्सिन शुल्क समेत तिर्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com