विदेशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी


प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

कोभिड-१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३१२ जना नेपाल फर्किएका छन् ।

नेपाल फर्किएका सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१ जना रहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । यसैगरी साउदी अरेबियाबाट छ हजार ९९७, मलेसियाबाट छ हजार ७९४, कुवेतबाट छ हजार ३२९ र कतारबाट पाँच हजार २५१ जना नेपाल फर्किसकेको सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार अफगानिस्तानबाट ३३, ओमानबाट ६३६, बर्माबाट २६, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ७२०, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, सिङ्गापुरबाट २९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ११० जना स्वदेश फर्किएका छन् ।

फिलिपिन्सबाट २०१, स्विट्जरल्यान्डबाट १०, इराकबाट ३९, दक्षिण सुडानबाट २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, श्रीलङ्काबाट पाँच, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । सङ्घले उल्लेख गरेको तथ्याङ्कमा स्थलमार्ग हुँदै नेपाल आएकाहरूको तथ्याङ्क भने समेटिएको छैन ।

यसैबीच विभिन्न देशमा मृत्यु भएका २४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ को मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त भएको पनि बताइएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी रहेको बताइएको छ । यस्तै गैरआवासीय नेपाली सङ्घले जनाएअनुसार सङ्क्रमणका कारण विदेशमा मात्र १९१ जना नेपालीको निधन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैरआवासीय नेपाली सङ्घका अनुसार भारतमा गत साता थप दुई जनाको कोरोनाका कारणले निधन भएको छ । शनिबार साँझसम्म नेपालसहित विश्वभर २६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्याङ्कअनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीहरुमा थप नयाँ सङ्क्रमण देखिएको छ । सङ्घको स्वास्थ्य समितिलाई उद्धृत गर्दै सङ्घको कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्तिका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायत देशमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ ।

यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । सङ्घका अनुसार लग्जेम्वर्गमा करीब दुई दर्जन नेपालीमा कोरोना सङ्क्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप सङ्क्रमण देखिएको छैन् । विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घले जनाएको छ ।

सात प्रदेशमा अस्थायी सेल्टर निर्माणको अवधारणा

गैरआवासीय नेपाली सङ्घले नेपालको सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा अघि सारेको छ । विभिन्न समयमा आउने प्राकृतिक विपत्तिदेखि लिएर अन्य कारणले घरवारविहीन हुन परेकालाई अस्थायी रूपमा आश्रय दिने प्रयोजनले अस्थायी आश्रयस्थल भवन निर्माणको अवधारणा अघि सारिएको सङ्घले जनाएको छ ।

नेपाल सरकार हुँदै प्रदेश सरकारहरुसँगको सहकार्यमा अस्थायी आश्रयस्थल निर्माण गर्ने गरी अवधारणा अघि सारिएको सङ्घकी महिला उपाध्यक्ष एवं सङ्घको वन एनसिसी वन च्यारिटी प्रोजेक्टकी प्रमुख रविना थापाले जानकारी दिनुभयो । केन्द्रीय प्रदेश हुँदै स्थानीय सरकारसँगको समन्वयमा सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल बनाउने बारे सङ्घले अवधारणा अघि सारेको जानकारी दिनुहुँदै उपाध्यक्ष थापाले अहिले यो योजना प्रारम्भिक चरणमा रहेको बताउनुभयो ।

स्थानीय सरकारले जग्गा उपलब्ध गराउने र त्यसमा भवन निर्माण एनआरएनएले गरिदिने अवधारणा रहेको बताउँदै उहाँले एउटा भवन बनाउन करीब १ करोडको खर्च अनुमान गरिएको जानकारी दिनुभयो । ‘समयसमयमा आउने प्राकृतिक विपत्तिका कारण घरवारविहीन भएकाहरुदेखि लिएर अहिले नै पनि कोरोना सङ्क्रमितहरुलाई क्वारेन्टिनमा राखौँभन्दा पनि हामीसँग त्यस्तो कुनै संरचना छैन । यसबाहेक पनि विदेशबाट अहिले फर्किएकाहरुलाई राख्नका लागि पनि हामीसँग कुनै पूर्वाधार छैन । एनआरएनएकी उपाध्यक्ष थापाले भन्नुभयो, “कुनै पनि कारणले घरवारविहीन हुन परेकाहरुलाई अस्थायी रुपमा बसोबासको प्रबन्ध गराउनका लागि एउटा अस्थायी सेल्टरको आवश्यकता देखेर यसका लागि एनआरएनएले अवधारणा अघि सारेको हो ।

यस्ता सेल्टरहरु निर्माणले समस्यामा परेकाहरुलाई अस्थायी रुपमा व्यवस्थापनका लागि सहज हुन्छ भने सरकारले चाहँदा पनि ‘सर्ट टर्म’का लागि प्रयोग गर्न सक्ने पूर्वाधारका रुपमा यो रहन्छ ।” प्रदेशको पायक पर्ने स्थानमा यस्ता सेल्टरहरु निर्माण गर्नका लागि सङ्घले चरणबद्ध रुपमा प्रक्रिया अघि बढाउने र त्यसका लागि आवश्यक पर्ने सहयोग एनआरएनहरुबाटै सङ्कलन गर्ने लक्ष्य रहेको सङ्घकी उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।

निर्माण सङ्घले गर्ने भए पनि सञ्चालन सरकार वा सरकारका अङ्ग मातहत गर्न सक्दा सहज हुने भएकाले त्यसरी संरचनाको विकास गरिने बताउँदै थापाले अहिले यो प्रारम्भिक चरणमा रहेको उल्लेख गर्नुभयो । विश्वभरि रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद्हरु र एनआरएनहरुबाट नेपालमा एकत्रित ढङ्गबाट सेवामूलक कार्यमा लगानी गर्नका लागि सङ्घले दूरगामी महत्वका योजनाहरु अघि बढाइरहेको उपाध्यक्ष थापाले बताउनुभयो । -सुरज भण्डारी / रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com