अमेरिकी अध्यागमन जेलमा ४ हजारलाई कोरोना, ‘नेपाली संक्रमित भएको खबर छैन’ : क्षेत्री


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

अमेरिकी अध्यागमन जेलमा अहिलेसम्म झण्डै ४ हजारलाई कोरोना संक्रमण भएको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले जनाएको छ । अहिले पनि झण्डै १ हजार जना कोरोना संक्रमितहरु अध्यागमन जेलभित्र रहेका छन् ।

फार्मभिलको अध्यागमन जेलमामात्र अहिले २६१ जना संक्रमितहरु रहेका छन् । यो जेलमा महामारी सरु भएदेखि कुल संक्रमितको संख्या २८९ रहेको छ । त्यहाँ रहेका ३५९ जनाको परीक्षण गरिएको थियो ।

अमेरिकामा अध्यागमन जेलमा रहेका नेपालीहरुको संख्या उल्लेख्य रहेपनि कोही नेपालीलाई कोरोना संक्रमण भएको खबर प्राप्त नभएको कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । खसोखास लाइभमा कुरा गर्दै जीसीले नेपालीहरुलाई संक्रमण भएको खबर नआएको बताउनुभएको हो ।

आइसले कोरोनाको महामारीपछि पनि अमेरिकाबाट देशनिकाला गर्ने क्रम जारी नै राखेको छ । आइसले मार्चको मध्यदेखि अहिलेसम्म आप्रवासीहरुलाई देशनिकालाका लागि १८० वटा उडानहरु गरेको छ । देशनिकाला गरिएका कैयनमा कोरोना संक्रमण समेत पुष्टी भएको थियो । खासगरी त्यस्ता उडानहरु ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोर र मेक्सिकोका लागि गरिएका हुन् ।

कोरोना महामारीपछि विमान चार्टड गरेर नेपालीहरुलाई देशनिकाला गरिएको भने कुनै खबर छैन । यद्यपी मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने ठूलो संख्यामा नेपालीहरु अध्यागमन जेलहरुमा रहेका छन् । कतिपय देशनिकालाको आदेश पाइसकेर फर्काउने प्रकृयामा समेत रहेका छन् ।

अध्यागमन जेलमा रहेका कसैलाई कोरोनाको संक्रमण भएको खण्डमा उनीहरुलाई जमानतमा रिहाका लागि अनुरोध गर्न सकिने कानुन व्यवसायी जीसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘कसैलाई कोरोना संक्रमण भएको खण्डमा त्यस्ता व्यक्तिलाई रिहा गर्नका लागि अनुरोध गर्नसकिन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com