अमेरिकामा एकसातामा २० बर्षे दुई नेपाली युवाको मृत्यु


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

अमेरिकामा एकसातामा दुईजना नेपाली युवाको मृत्यु भएको छ । दुबैजना २० बर्षका थिए ।

बाग्लुङ स्थायी घर भएका २० वर्षीय निराजन पुनको गत सोमबार नर्दन क्यालिफोर्नियाको कोलुसा भन्ने ठाँउमा कार दुर्घटनामा निधन भएको थियो । पुनले चलाइरहेको कारलाई मोडमा अर्को गाडीले ठक्कर दिँदा दुर्घटनाग्रस्त भएको थियो ।

सोमबार साथीभाइहरुलाई भेटेर फार्टब्रागबाट आफ्नो बासस्थान डेभिस फर्किने क्रममा साँझ, पुनको कार दुर्घटनाग्रस्त भएको थियो । काठमाडौंस्थित गल्फुटारमा बस्दै आएका पुन, सन् २०१५ मा अण्डर १९ फुटबल खेल्न अमेरिका गएका थिए । केही समययता, उनी क्यालिफोर्नियास्थित नेपाली व्यवसायीद्वारा सञ्चालित एक रेन्टुरेन्टमा काम गर्दै आएका थिए ।

त्यसलगत्तै शनिवार अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीको नदीमा डुबेर निधन भयो ।

स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापाको शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर निधन भएको हो ।

डेढ वर्ष अघि उच्च शिक्षाका लागि उनी अमेरिका आएका थिए । उनी हस्पिटालिटी मेनेजमेन्ट अध्ययन गर्न सन् २०१५ अगष्टमा अमेरिका आएका थिए ।

लमजुङको सुन्दरबजार–३ भोटेओढार घर भएका २० वर्षिय थापाको शवलाई अहिले पोस्टमार्टका लागि स्थानीय अस्पतालमा राखिएको छ । शनिबारदेखि नदीमा डुबेर हराइरहेका उनको शव आइतबार बिहान भेटिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com