ओलीज्यू, लोकतन्त्र प्रतिको प्रतिवद्धतामै सवाल खडा हुने गरी वैठकको विपक्षमा खडा नहुनुस !


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

– राधाकृष्ण देउजा

नेकपाका श्रद्धय अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी ओली, सादर अभिवादन,

यहाँको लामो राजनीतिक जीवनमा यहाँले गर्नु भएको त्याग , वलिदान र संघर्षको निम्ती नेपालमा जन्मिएका हामि सम्पूर्ण नेपालीहरुले आभार प्रकट गर्नैपर्छ । निरङ्कुश तानाशाही राज्यसत्ताको विरुद्ध क्रान्तिको विगुल फुक्दै तत्कालिन अवस्थामा  आन्दोलनको मैदानमा होमिन आज जस्तो सहज पक्कै थिएन तर पनि यहाँहरुले आफ्नो जीवन भन्दा जनताको मुक्ती आन्दोलन र त्यसको सफलतालाइ प्राथमिकतामा राख्नु भयो ।

त्यसै दौरान यहाँले चौध वर्ष लामो कारावासको सजायँ पनि भोग्नु भयो , आज एकै छिन मोबाइल , टेलिभिजन वा यस्तै संचारका साधन चलाउन नपाउँदा संसारै सकियो भन्ने ठान्ने हाम्रो पुस्ताले यहाँहरुको त्यो योगदान  र सहासलाइ केवल प्रशँसा गर्न सक्ने मात्रै हो , यहाँहरुको जस्तो त्याग र वलिदानको अनुकरण गर्न सक्दैन । तसर्थ यहाँलाइ फेरी पनि हृदय देखि सलाम छ । यहाँहरुकै सहभागितामा , यहाँहरुकै त्याग र वलिदानले नेपालबाट निरङ्कुश पंचायती व्यवस्था मात्रै गएन , समयक्रममा आन्दोलनकै वलमा निरङ्कुशतन्त्रका अभिभावक तानाशाही राजतन्त्रलाइ लोकतन्त्रले विस्थापन गर्यो ।

अनि यहाँहरु सहितको सक्रियतामा नेपालले युद्धलाइ अन्त्य गर्दै शान्तीको बाटोमा अगाडी बढने उधाहरणीय काम पनि सम्पन्न गर्यो । यो सबै हुँदै गर्दा सम्पूर्ण नेपाली जनताको मनमा केपी ओली लोकतन्त्र प्रति प्रतिवद्ध , अडानमा टिक्ने , समयको माग अनुसार चल्न सक्ने , विधि र पद्दतिको पक्षधर नेता हुनुहुन्छ भन्ने छाप  पर्यो , जसको परिणाम यहाँलाइ प्रधानमन्त्री बनाउने घोषणा सहित निर्वाचनमा होमिएको गठबन्धनले झन्डै दुई तिहाइ हासिल गर्यो , चुनावी गठवन्धन पार्टी एकतामा परिणत भयो । संसदमा भएको दरिलो वहुमत अनि एकतावद्ध पार्टीको सामर्थ्यले गर्दा यहाँ नेतृत्वको सरकार नेपाल भारत विचको सिमाना र भुमि सम्वन्धि  विषयमा पनि डटेर नेपालको भुमि रक्षाको सम्वन्धमा दृढता साथ खडा हुन सक्यो ।

उल्लेखित ऐतिहासिक सकारात्मक कामहरु हुनुले यहाँको नेतृत्व प्रतिको जनविश्वास झन बढ्दै गरेको समयमा नेकपा जव आन्तरिक विवादमा फसेको देखियो, त्यसले जनताको मनमा अनौठो चिन्ता र संशय पैदा गराइदिएको छ । त्यती मात्रै हैन नेकपाको वढ्दो विवादको तरंग संगै यहाँकै व्यक्तित्व र नेतृत्वलाइ पनि सवालहरुको पहाडका अगाडी खडा गराइदिएको छ । जनताको संशययुक्त मनले यहाँको बारेमा एउटा जवरजस्त सवाल सोधिरहेका छन , त्यो सवाल हो – “आखिर लोकतन्त्रको पर्याय  , वहुदलीय जनवादका हिमायती केपी ओली के कति कारणले पार्टीको वैठकहरुलाइ छल्न खोज्ने , बैठकको औचित्य माथि सवाल खडा गर्ने वहाँ कसरि हुनु भयो ?”

बजारमा जवर्जस्त चलाइएको हल्लाको पछाडी लागेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अनि वरिष्ठ नेता माधव नेपाल सहितका नेताहरुले जे जसरि हुन्छ केपी ओली हटाउन लाग्नु भएको छ भन्ने मान्ने हो भने छुट्टै कुरा तर यथार्थ हेर्ने हो भने नेकपाको सुनियोजित रुपमा  विवादित करार गरिएको स्थायी समितिको वैठकको एजेण्डामा कहीं कतै केपी ओलीलाइ हटाउने भन्ने कुरा छैन ।

सम्माननीय  प्रधानमंत्री केपी ओलीले आफ़नो सरकारको विकल्प खोज्न भारत लागेको र त्यस षड्यन्त्रमा  आफ्नै नेताहरु समेत सामेल रहेको आरोप लगाउँदै आफु वाहेक सवै समकालीन नेताहरु भारतको गोटी रहेको आसय सहितको भनाइ सार्वजनिक गर्नु भएपछि त्यसको प्रतिक्रिया स्वरूप मात्रै राजिनामाको विषय उठेको हो , जुन ढंगले राजिनामाको माग उठ्यो त्यो चाहिं सरकार र पार्टी संचालनमा समस्या भए रहेमा नेताहरुसंग संवाद गर्न र आवश्यक सुधार गर्न आफु तयार रहेको जनाउ दिंदै सम्माननीय प्रधानमन्त्रीले आफ्नो मन्तव्य राख्ने वित्तिकै निरर्थक हुन पुग्थ्यो ।

तर खै के कति कारणले सम्माननीय प्रधानमन्त्री समेत रहनु भएको पार्टी अध्यक्षले पार्टीको वैठक बस्ने कुराकै विरुद्ध आफुलाइ उभ्याउनु भयो , त्यति मात्रै हैन विधि र पद्दतिमा पार्टी संचालन होस भन्नेहरुलाइ तल्लो स्तरका गाली वर्षाउने खेल चलेको देख्न पर्यो ।

राजनीतिक संस्कार नभएका संस्कारहिनले के कसो गरे , त्यो त्यति महत्वको विषय हैन तर किन र के को लागि सम्माननीय प्रधानमन्त्री केपी ओली आफैं विधि र पद्दतिको आधरमा पार्टी संचालन हुनुपर्छ भन्नेहरुको हुर्मत लिने तम्सनु भएको छ भन्ने चाहिं आश्चर्य लाग्दो छ । पार्टीको वैठकको औचित्यमा सवाल खडा गर्ने , आफुलाइ चित्त नबुझेको निर्णय भएको  अवस्थामा पार्टी वैठकको निर्णयको कुनै अर्थ हुदैन भन्ने  दम्भी अभिव्यक्तिले जनताले चिनेको जानेको केपी ओलीको झलक दिएको छैन ।

आफ़ु हार्दा मात्रै हैन मारिने नै अवस्थामा पुग्दा पनि थिति , विधि पद्दतिको पक्षपोषण गर्न नछोड्ने केपी ओलीलाइ आज पार्टीको वैठकको सामना गर्न नसक्ने वा नचाहने बनायो त्यो बुझ्न सकिएको छैन । श्रद्धय कमरेड एवं सम्माननीय केपी ओली, आफुले त्याग र वलिदानले निर्माण गरेको व्यक्तित्वको सम्मानार्थ पनि पार्टी वैठकहरुबाट तर्कने , तर्सने हैन त्यसको डटेर सामना गर्नुस ।

मिल्न सक्ने र मिल्न पर्ने पर्नेहरुसंग मिल्नुस , वैठकमा आवश्यक वहुमत बनाउनुस , भए रहेका पदहरुमा निरन्तरता पाउनुस तर लोकतन्त्र प्रतिको प्रतिवद्धतामै सवाल खडा हुने गरेर वैठकको विपक्षमा खडा नहुनुस भन्ने सादर अनुरोध ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com