अमेरिकी राष्ट्रपति चुनाव आउन एकसयदिन बाँकी, ट्रम्प र बाइडेन आमनेसामने


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति चुनाव आउन एकसयदिनमात्र बाँकी रहेको छ । आगामी नोभेम्बर ३ मंगलबार हुने चुनावले आगामी ४ बर्षका लागि अमेरिकी राष्ट्रपति निर्वाचित गर्नेछ । अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुनेछ ।

पछिल्ला सर्वेक्षणहरुले बाइडेनको अग्रता देखाएकाले यसपटकको चुनावमा ट्रम्पलाई विगतको चुनावको भन्दा अझ धेरै दवाव पर्ने विश्लेषण गरिएको छ । कोरोनाको महामारीका बीच हुने यसपटकको चुनाव विगतको भन्दा केही फरक हुने भएको छ ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com