१३ हजार कर्मचारीलाई बेतलवी विदा दिने युएससीआईएसको योजना अगस्तभर स्थगित


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

अगस्त ३ देखि २० हजारमध्ये झण्डै १३ हजार कर्मचारीहरुलाई बेतलवी विदा दिने तयारीमा रहेको युएससीआईएस यो योजना अगस्त ३१ सम्म स्थगित गर्न सहमत भएको छ । बजेट अभाव भएको भन्दै युएससीआईएसले अगस्त ३ देखि आफ्ना अधिकांश कर्मचारीहरुलाई बेतलवी विदा दिने तयारी गरेको थियो ।

डेमोक्रेटिक सिनेटर पेट्रिक लेहीका अनुशार युएससीआईएसलाई कर्मचारीलाई विदा दिने योजना पछाडि सार्न भनिएकोमा युएससीआइएस सहमत भएको छ । युएससीआईएसका कार्यकारी निर्देशक जोसेफ एड्लोले कर्मचारीलाई दिन लागिएको बेतलवी विदा पछाडि सारिएको पुष्टी गरेका छन् ।

युएससीआईएसले संसद समक्ष १ दशमलव २ बिलियन डलरको माग गरेको छ । तर संसदबाट अहिलेसम्म उक्त बजेट पारित गरिसकिएको छैन ।

यसैबीच बजेटका मामलाका कारण युएससीआईएसमा ग्रिनकार्ड र अन्य कागजात जारी गर्नमा ब्याकलग उत्पन्न भएको युएससीआईएसको लोकपालले जारी गरेको अलर्टमा जनाइएको छ । जुन महिनामा युएससीआईएसको ग्रिनकार्ड, वर्क परमिट लगायतका कागजात प्रिन्ट गर्ने क्षमतामा भारीमात्रामा कमी आएको थियो ।

ग्रिनकार्ड र वर्क परमिट प्रिन्ट गर्ने कम्पनीसँगको सम्झौता समाप्त भएपछि दशौं हजार ग्रिनकार्ड र वर्क परमिटमा प्रिन्टमा समस्या आएको जनाइएको छ । अलर्ट अनुशार युएससीआईएसले उक्त कामका लागि संघीय कर्मचारीहरु नियुक्त गर्ने योजना बनाएपनि बजेटको अभावका कारण नियुक्तीको काम रोकिएको छ भने ग्रिनकार्डको प्रिन्टमा ढिलाई भएको छ ।

अहिले अत्यन्तै सिमितमात्रामा ग्रिनकार्ड र वर्क परमिटहरु प्रिन्ट भइरहेको युएससीआइएसका प्रवक्ताले बताएका छन् । अहिले युएससीआईएसले १० हजारको हाराहारीमा कार्डहरु उत्पादन गरिरहेको जनाईको छ । प्रवक्ताका अनुशार अहिले झण्डै १ लाख १५ हजार ग्रिनकार्ड र वर्क परमिटहरु छाप्नमा ब्याकलग कायम रहेको छ ।

ग्रिनकार्ड प्रतिक्षामा रहेकाहरुले आफ्नो स्थायी बासिन्दाको अध्यागमन अवस्था पुष्टी गर्न ग्रिनकार्ड नआउन्जेलसम्मका लागि पासपोर्टमा युएससीआईएसबाट छाप लगाउनका लागि आग्रह गर्नसक्ने युएससीआईएसले जनाएको छ । अद्यावधिक पासपोर्टमा लगाइने उक्त छापले अस्थायी रुपमा ग्रिनकार्डको काम गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com