सवालाख ग्रिनकार्ड र वर्क परमिट प्रिन्टमा ब्याकलग, पासपोर्टमा अस्थायी छाप लगाउन सकिने


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

बजेटका मामलाका कारण युएससीआईएसमा ग्रिनकार्ड र अन्य कागजात जारी गर्नमा ब्याकलग उत्पन्न भएको युएससीआईएसको लोकपालले जारी गरेको अलर्टमा जनाइएको छ । जुन महिनामा युएससीआईएसको ग्रिनकार्ड, वर्क परमिट लगायतका कागजात प्रिन्ट गर्ने क्षमतामा भारीमात्रामा कमी आएको थियो ।

ग्रिनकार्ड र वर्क परमिट प्रिन्ट गर्ने कम्पनीसँगको सम्झौता समाप्त भएपछि दशौं हजार ग्रिनकार्ड र वर्क परमिटमा प्रिन्टमा समस्या आएको जनाइएको छ । अलर्ट अनुशार युएससीआईएसले उक्त कामका लागि संघीय कर्मचारीहरु नियुक्त गर्ने योजना बनाएपनि बजेटको अभावका कारण नियुक्तीको काम रोकिएको छ भने ग्रिनकार्डको प्रिन्टमा ढिलाई भएको छ ।

अहिले अत्यन्तै सिमितमात्रामा ग्रिनकार्ड र वर्क परमिटहरु प्रिन्ट भइरहेको युएससीआइएसका प्रवक्ताले बताएका छन् । अहिले युएससीआईएसले १० हजारको हाराहारीमा कार्डहरु उत्पादन गरिरहेको जनाईको छ । प्रवक्ताका अनुशार अहिले झण्डै १ लाख १५ हजार ग्रिनकार्ड र वर्क परमिटहरु छाप्नमा ब्याकलग कायम रहेको छ ।

संसदले बजेट नदिएको खण्डमा आगामी महिनादेखि युएससीआईएसले १३ हजारभन्दा धेरै कर्मचारीलाई बेतलवी विदा दिने योजना बनाएको छ । युएससीआईएसले संसद समक्ष १ दशमलव २ बिलियन डलरको माग गरेको छ । तर संसदबाट अहिलेसम्म उक्त बजेट पारित गरिसकिएको छैन ।

बजेट प्राप्त नभएमा अगस्तको ३ देखि कर्मचारीहरुलाई बेतलवी विदा दिइने भएको छ । जसका कारण कार्ड उत्पादनको ब्याकलग अझ बढ्ने अलर्टमा जनाइएको छ ।

ग्रिनकार्ड प्रतिक्षामा रहेकाहरुले आफ्नो स्थायी बासिन्दाको अध्यागमन अवस्था पुष्टी गर्न ग्रिनकार्ड नआउन्जेलसम्मका लागि पासपोर्टमा युएससीआईएसबाट छाप लगाउनका लागि आग्रह गर्नसक्ने युएससीआईएसले जनाएको छ । अद्यावधिक पासपोर्टमा लगाइने उक्त छापले अस्थायी रुपमा ग्रिनकार्डको काम गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com