न्युयोर्कले डीएमभीको तथ्यांकमा सघीय निकायलाई पहुच दिने, ट्रस्टेड ट्राभलर कार्यक्रम सुचारु


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

न्युयोर्कको डीएमभीको तथ्यांकमा संघीय निकायलाई पहुच कायम गर्नमा रोक लगाउने कानुनमा संसोधन गरिएपछि संघीय सरकारले न्युयोर्कबासीका लागि ट्रस्टेड ट्राभलर कार्यक्रम सुचारु गर्ने भएको छ । अब अमेरिकी सरकारको संघीय निकायले डीएमभीको तथ्यांकमा पहुच कायम गरेको छ ।

न्युयोर्कले ग्रिन लाइट कानुनमा संसोधन गरेपछि अब गाडी आयात निर्यातमा सहजिकरण गर्ने उद्देश्यले वा ट्रस्टेट ट्राभलर कार्यक्रमका आवेदकको विवरण आवश्यक परेमा संघीय निकायले न्युयोर्कको डीएमभीबाट उनीहरुको बारेमा तथ्यांक लिनसक्ने भएको छ । तर न्युयोर्क राज्यले अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन र इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टलाई अन्य आप्रवासी प्रयोजनका लागि भने तथ्यांकमा पहुच दिनेछैन ।

न्युयोर्क राज्यले सीबीपी र आईसलाई त्यस्ता सुचनाहरु उपलब्ध गराउने कानुन कार्यान्वयन निकायका अधिकारीका साथमा अन्य संघसंस्था वा व्यक्तिलाई जरिवाना र कारवाही गर्ने नयाँ कानुनको समेत व्यवस्था गरेको छ । अर्थात् कुनै सरकारी अधिकारी वा कानुन कार्यान्वयन अधिकारी वा निकायले त्यस्ता सुचनाहरु आईस वा सीबीपीलाई उपलब्ध गराएमा उनीहरुको कानुनको भागिदार बन्नुपर्नेछ ।

ट्रस्टेट ट्राभलर कार्यक्रमका लागि सुचनाहरु शेयर गर्ने न्युयोर्कको कदमप्रति डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले खुशी व्यक्त गरेको छ । अब ट्रस्टेट ट्राभलर कार्यक्रम सुचारु गर्नका लागि पनि सहज हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका तर्फबाट जारी वक्तब्यमा जनाईएको छ ।

गत डिसेम्बरदेखि न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुले पनि ड्राइभर लाइसेन्स र स्टेट आईडी प्राप्त गर्दै आएका छन् । उनीहरु तथ्यांक संरक्षणका लागि न्युयोर्कले डीएमभीको तथ्यांकहरु संघीय निकायमा शेयर नगर्ने कानुन ल्याएको थियो ।

न्युयोर्क राज्यमा जुनसुकै अध्यागमन स्टाटस भएको आप्रवासीले पनि ड्राइभर लाइसेन्स पाउने प्रावधान ब्यूताइएको हो । यस्तो प्रावधान न्युयोर्कमा सन् २००१ भन्दा अगाडि विद्यमान थियो ।

ड्राइभर लाइसेन्स एक्सेस एण्ड प्राइभेसी एक्ट अर्थात् ग्रिन लाइट न्युयोर्क नामको उक्त विधेयक पारित भएको थियो । न्युयोर्कमा जो सुकैले पनि गैर ब्यापारिक ड्राइभर लाइसेन्स, लर्नर परमिट वा स्टेट आइडी प्राप्त गर्न सक्छन् ।

न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुलाई ड्राइभर लाइसेन्स दिने राज्यका नीतिमा रोक लगाउन अदालतमा मुद्दा समेत दायर भएको थियो । तर त्यसरी दायर गरिएको मुद्दा न्यायाधिसले खारेज गरिदिएकी थिइन् । मुद्दाको खारेजीपछि कागजपत्रविहिनलाई लाइसेन्स दिनमा रोक लगाउने प्रयास असफल भएको थियो ।

यद्यपी न्युयोर्कको उक्त कानुनको ट्रम्प प्रशासनले निरन्तर विरोध गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com