नेपालमा लकडाउन अन्त्य : भदौ १ गतेदेखि देशैभर गाडी चल्ने, विद्यार्थी भर्ना गर्न र परीक्षा लिन पाइने


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

आउँदाे भदौ १ गतेदेखि सबै प्रकारका गाडी चलाउन पाइने भएको छ । मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको मापदण्ड पालना गरेर भदौ एक गतेदेखि सबै प्रकारका लामो तथा छोटो दूरीका गाडी चलाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयाे ।

यस्तै भदौ १ गतेदेखि नै विद्यालयले भर्ना लिन पाउने, शैक्षिक गतिविधि तथा परीक्षा पनि सञ्चालन गर्न पाइने सरकारले जनाएको छ । त्यसैगरी सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरेको थियो ।

भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ । त्यसैगरी सरकारले यसअघि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय खारेज गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

सँगै सरकारले निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । यसअघि सरकारले असार १ गतेदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने निर्णय गरेको थियो ।

सँगै सरकारले भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर आउदो हिउँदलाई ध्यानमा राखेर ट्रेकिङ बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।

पछिल्ला दिनमा घट्दै गएको कोरोना संक्रमण बढेमा फेरि लकडाउन हुने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । नेपालमा कोरोना भाइरसका कारण पाँच महिनाको अवधिमा ४० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने १७ हजार ९ सय ५४ पुगेको छ । संक्रमितमध्ये १२ हजार चार सय ७७ निको भएका छन् । मंगलबार मात्र १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com