साना विजनेशलाई दिइएको ऋण छानविनविना नै मिनाहा गर्नुपर्ने ट्रेजरी सेक्रेटरीको सुझाव


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

अमेरिकाका ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले साना विजनेशलाई पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत दिइएको एसबीए ऋण कसरी खर्च गरियो भन्ने छानविन विना नै मिनाहा गर्नुपर्ने सुझाव दिएका छन् । यो निर्णयले लाखौं साना विजनेशहरु ऋणमुक्त त हुनेछन् तर जालसाजीको सम्भावना बढ्नसक्ने पनि तर्क गरिएको छ ।

अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट र एसबीएबीच लाखौं आवेदनहरुलाई ऋण मिनाहाका लागि कस्तो रणनीति बनाउने भन्ने सन्दर्भमा बहसमा रहेका छन् । पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत लिइएको ऋण कामदारलाई तिर्नुपर्ने व्यवस्था केयर एक्टले गरेको छ । तर मन्चिनले संसदीय सुनुवाईका क्रममा निश्चित मापदण्ड बनाएर उक्त मापदण्डमा पर्नेलाई अटोमेटिक रुपमा ऋण मिनाहा गर्नुपर्ने बताएका छन् ।

तर जालसाजी रोक्नका लागि थ्रेसहोल्ड र मापदण्ड भने बनाउनुपर्ने उनले बताएका छन् । मन्चिनले निश्चित रकमसम्म ऋण लिएकालाईमात्र अटोमेटिक रुपमा मिनाहा गरिदिने बताएका हुन् वा त्यसमा मापदण्ड बनाउने बताएका हुन् भन्नेबारे भने स्पष्ट छैन । यद्यपी पीपीपी कार्यक्रम अन्तरगत ५० हजार डलरभन्दा कम ऋण पाउने विजनेशहरु ७० प्रतिशत रहेका छन् ।

लाखौं विजनेशहरुले लिएको ऋण कसरी मिनाहा हुने भन्ने सन्दर्भमा विजनेशहरुले चिन्ता गरिरहेको बखत मन्चिनको भनाई आएको छ । बैंकहरुले पनि अहिले सरकारबाट कसरी ऋण मिनाहा कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा सरकारबाट स्पष्ट नीति नियमको माग गरिरहेका छन् ।

अमेरिकामा कोरोना भाइरसको महामारीका कारण सरकारले विजनेशहरुलाई पीपीपी ऋणको व्यवस्था गरेको थियो । यो ऋणको निश्चित हिस्सा कर्मचारीलाई तलब खुवाउन प्रयोग गरेको खण्डमा यो ऋण मिनाहा हुने प्रावधान रहेको छ । यो ऋणका लागि अगस्तको पहिलोसातासम्म आवेदन दिनसकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com