डाका कार्यक्रमका लागि नयाँ आवेदन स्वीकार गर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम अन्त्य गर्नबाट सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई रोक लगाएपनि ट्रम्प प्रशासनले नयाँ आवेदनहरु नलिएको अवस्थामा संघीय न्यायाधिसले आवेदनहरु स्वीकार गर्न ट्रम्प प्रशासनलाई आदेश दिएका छन् । शुक्रबार न्यायाधिसले दिएको उक्त आदेशपछि अब ट्रम्प प्रशासनले डाकाका नयाँ आवेदनहरु स्वीकार गर्नुपर्ने भएको छ ।

यसअगाडि सर्वोच्च अदालतले डाका कार्यक्रम अन्त्य गर्नबाट ट्रम्प प्रशासनलाई रोक लगाएको थियो । ट्रम्प प्रशासनले कार्यक्रम अन्त्यका लागि गतिलो तरिकाले पुष्टी गर्न नसकेको भन्दै सर्वोच्चले कार्यक्रम अन्त्यमा रोक लगाएको थियो । अमेरिकामा केही दर्जन नेपालीहरुसहित झण्डै ८ लाख आप्रवासीहरुलाई डाकाले समेटेको छ ।

शुक्रबार मेरिल्याण्डको डिस्ट्रिक्ट कोर्टका न्यायाधिस पल ग्रिमले डाका कार्यक्रम २०१७ को सेप्टेम्बर ५ भन्दा अगाडिकै अवस्थामा पुनस्थापित गर्न आदेश दिएका हुन् । यो आदेशपछि दशौं हजार योग्यहरुले डाका कार्यक्रमका लागि आवेदन दिन सक्नेभएका छन् । तर युएससीआईएसले भने अहिलेसम्म यसबारे केही बताएको छैन ।

डाका कार्यक्रमका लागि योग्य हुनका लागि आवेदन १६ बर्ष नपुग्दै अमेरिका आएको हुनुपर्छ भने सन् २००७ को जुन १५ वा त्यो भन्दा अगाडिदेखि अमेरिकामा बस्दै आएको हुनुपर्छ । त्यस्तै सरकारले यो नीति कार्यान्वयन गर्दा सन् २०१२ मा ३० बर्ष नपुगेकोलाईमात्र आवेदनका लागि योग्य ठहर गरिएको छ ।

आवेदकहरुले हरेक दुईबर्षमा नविकरण गर्न आवश्यक हुन्छ । यो कार्यक्रमले स्थायी संरक्षण वा अमेरिकी नागरिकताको बाटो भने प्रदान गर्दैन । यद्यपी यो कार्यक्रमको स्थायी समाधान हुनुपर्नेमा आवाजहरु उठ्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com