डिभी, आप्रवासी भिसा र १ बर्ष नाघेको ग्रिनकार्डबारे ६ प्रश्न र अमेरिकी दूतावासका जवाफ


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

अमेरिकी दूतावास काठमाडौंले भिसा च्याटमार्फत भिसाबारेका विभिन्न प्रश्नका जवाफ दिएको छ । दूतावासले सम्भवत पहिलोपटक नेपाली भाषामा समेत भिसा च्याटमा भिसाबारे उठेका प्रश्नको जवाफ दिएको छ । फेसबुकमार्फत दिएका भिसाका प्रश्न र दूतावासका तर्फबाट कन्सुलर अधिकारीले दिएको जवाफको हामीले सारसंक्षेप प्रस्तुत गरेका छौं ।

६ महिनाको डाइभर्सिटी लगायतका आप्रवासी भिसा पाएका तर कोरोनाको महामारीले ६ महिनाभित्र अमेरिका आउन नसक्नेहरुले के गर्नुपर्छ ?

जसजसको आप्रवासी भिसा सन् २०२० को अप्रिल २३ अगाडिसम्म अद्यावधिक थियो तर त्यसपछिको अवधिमा एक्सपायर भएको छ, उहाँहरुका लागि सम्भवत हामीले भिसा पुन जारी गर्न सफल हुनेछौं । केस अनुशारको सोधपुछका लागि आवेदकले आफ्नो प्रश्न [email protected] मा पठाउनुपर्नेछ । हामीले केसको पुनरावलोकन गरिसकेपछि अगाडिको प्रकृयाकाबारेमा फ्लोअप गर्नेछौं ।

ग्रिनकार्ड भएका तर एकबर्षभित्र अमेरिका फर्कन नसक्नेहरुले के गर्ने ?

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई एकबर्षभित्र अमेरिका फर्कन सक्नुहुन्छ । तर एकबर्षभित्र अमेरिका फर्कन सक्नुभएन भने तपाईले रिटर्निङ रेसिडेन्ट भिसा एसबी वानका लागि आवेदन दिनुपर्ने हुन्छ ।

भिजिटर भिसाका लागि अन्तरवार्ताको मिति तय भइसकेको थियो तर महामारीले अन्तरवार्ता हुन सकेन । राष्ट्रपतिको कार्यकारी आदेशले असर गर्छ ?

अहिलेको राष्ट्रपतिको कार्यकारी आदेशले पर्यटक भिसाहरुलाई असर गर्दैन । हामी हाम्रो भिसा सेवा सुचारु गर्ने अनुमति पाउनासाथ रद्द भएका अन्तरवार्ताहरुको मिति पुन तय गर्नेछौं ।

अमेरिकी नागरिकका २१ बर्ष मुनीका छोराछोरी वा दम्पत्तिको भिसा कहिलेदेखि जारी होला ? राष्ट्रपतिको कार्यकारी आदेशले असर गर्छ ?

दूतावास बन्द रहेका कारण ती आवेदनहरुको प्रकृया कहिलेससम्म पुरा हुनसक्छ भन्ने सन्दर्भमा हामीसँग अहिलेसम्म कुनै टाइमलाइन छैन । राष्ट्रपतिको कार्यकारी आदेशले अमेरिकी नागरिकका २१ बर्ष मुनीका छोराछोरी वा दम्पत्तिको भिसा प्रकृयामा कुनै असर गर्दैन ।

डिभी २०२० का लागि सबै मेडिकल प्रकृया पूरा गरेर अन्तरवार्ताको मिति पनि तय भएको थियो तर महामारीले अन्तरवार्ता रद्द भयो । अब अन्तरवार्ताको मिति कहिले तय होला ? सेप्टेम्बर ३० भित्र भिसा पाइसक्नुपर्ने डेडलाइन थपिएला ?

दुर्भाग्यवश अप्रिल २३ सम्म भिसा पाइनसकेका डिभी आवेदकहरुले राष्ट्रपतिको कार्यकारी आदेश अनुशार २०२० को डिभी कार्यक्रम अन्तरगत अब भिसा पाउन सक्नेछैनन् । हामीले अरु थप गाइडलाइन प्राप्त नगरेसम्म डिभी २०२० का आवेदकहरु र भिसा आवेदन प्रशाशनिक प्रकृयामा रहेकाहरुका लागि सेप्टेम्बर ३० को डेडलाइन नै कायम रहनेछ ।

आगामी फल सेमेस्टरका लागि काठमाडौंमा रहेको दूतावासबाट भिसा पाउने सम्भावना के होला ?

हरेक दूतावासहरुले फरफरक गाइडलाइन अनुशार काम गरिरहेका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावास तत्कालै खुल्ने कुनै सम्भावना छैन । त्यसैले २०२० को फलका लागि हामीले एफ वान भिसा आवेदन प्रकृयाका लैजानसकिने अपेक्षा गरेका छैनौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com