विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुले भिसा सेवा छिट्टै सुचारु गर्ने


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

विश्वभर रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले भिसा सेवा छिट्टै सुचारु गर्ने सोमबार अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । तर कहिलेदेखि सुचारु गर्ने भन्नेबारे केही बताइएको छैन ।

कोरोनाको महामारी सुरु भएदेखि मार्चको तेश्रो सातादेखि विश्वभरका दूतावास र कन्सुलेटहरुमा भिसा सेवा प्रभावित भएको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुशार नियमित भिसा सेवा दूतावास अनुशार सुचारु हुनेछ ।

अहिलेसम्म कुनै पनि दूतावास र कन्सुलेटहरुले भिसा सेवाहरु सुरुवात गरेका छैनन् । मार्च २० देखि अमेरिकाले नियमित भिसा सेवा स्थगित गरेको थियो ।

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएकाले भिसा सेवा सुचारु भएपनि केही भिसाहरुमात्र जारी हुनेछन् । एच, एल र जे श्रेणीका कामदार भिसाहरु यो बर्षको अन्त्यसम्म नै जारी गरिने छैन ।

त्यस्तै परिवारमा आधारित, रोजगारमा आधारित र डिभी लोटरीमा आधारित भिसा पनि यो बर्षभर जारी गरिनेछैन । अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरुका लागि भने भिसा जारी गर्नमा ट्रम्पको आदेशले कुनै रोक लगाएको छैन ।

भिजिटर लगायतका भिसा जारी गर्नमा कुनै रोक लगाइएको छैन । तर विद्यार्थी भिसामा कडाई गरिएको छ । आगामी सेमेस्टरमा अनलाइनबाटमात्र कक्षा संचालन हुने कलेजमा पढ्न आउने विद्यार्थीहरुका लागि भिसा जारी गरिनेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com