आफूखुशी विकासले निमत्याएको विपद


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

चाँदनी हमाल/ नेपालमा पछिल्लो समय एकै पटक भेल पहिरो उलेर आउने र गाउँ नै बगाउने घटना बढेका छन् । केही दिनयता भएका केही घटनामा एक्कासि खहरे खोल्सा पहिरोले थुनिएर त्यो विस्फोट हुँदा मानवबस्तीमा ठूलो क्षति पुगेको अध्ययनबाट पाइएको छ ।

बझाङको केदास्यूँ गाउँपालिका, पर्वत र गुल्मीमा गएको पहिरो पनि भेल पहिरो विस्फोटका कारण भएको विज्ञहरूले पुष्टि गरेका छन् । पहिलो अध्ययनमा सक्रिय खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटाका अनुसार पछिल्लो समय ठूला डाँडा वा सुख्खा पहिरो बढी खसेका छैनन् । डाँडाँमा रहेका साना खहरे खोलाहुँदै पहिरो खसिरहेका छन् ।

“खोला बग्दै तल खस्दा ढुङ्गा, माटो, रुख बुट्यानले केहीबेर थुनिएको देखिन्छ, त्यसपछि केहीबेरमा विस्फोट हुँदै भेल पहिरो बनेर बस्तीसम्म पुगेको हो,” बाँस्कोटाले भन्नुभयो । सिन्धुपाल्चोकमा गएको हप्ता यस्तै भयो । पहिला खहरे थुनिएर विस्फोट भयो । त्यहाँ भोटेकोसीको बाढीले पनि क्षति गरकाले दोब्बर नोक्सान भएको छ ।

उहाँका अनुसार हाल भएका पहिरोहरू प्रायः पहिले नै पहिरो गइसकेको ठाउँ हुन् । माथिबाट पहिरो खसेर माटो, ढुङ्गा जमेको समथर स्थानका पहाडी बस्ती बगिरहेका छन् । फेरि त्यही ठाउँमा माथिबाट भेल पहिरो आउँदा बस्तीमा फिजिदिन्छ । जसका कारण ठूलो विनाश भइरहेको छ । प्रायः डाँडाका खोल्सीमा पानी बग्ने ठाउँमा भेल पहिरो बग्ने हुनाले अलिकति भेल पहिरो जान्छ । खोल्सीको पानी थुन्दिन्छ । अनि एकैचोटि विस्फोट हुन्छ । त्यसो हुँदा क्षति बढेर जान्छ ।

पर्वतको दुर्लुङको पहिरोको अध्ययन गर्न टोलीसहित पुग्नुभएका उहाँले त्यहाँको अवस्था पनि त्यस्तै विस्फोटको रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार माथिबाट आउँदा सानो भेल थियो । तलतिर आएपछि जङ्गलका रुख पनि केही बगे । रुखहरू पनि तेर्सिएर खोला थुनिएछ । “त्यही विस्फोट हुँदा नै अत्यन्त सानो र क्षति नै नहुने ठाउँमा पनि क्षति बढेर गएको देखियो,” बाँस्कोटा भन्नुहुन्छ । त्यहाँको अध्ययनपछि सातवटा घर उच्च जोखिममा रहेको सिफारिस गरिएको छ ।

यी मात्र हैन, उहाँले म्याग्दीको राहुगङ्गा गाउँपालिकासमेत अध्ययन गरेर आउनुभएको छ । त्यहाँ पनि पहिरोको उच्च जोखिम छ । म्याग्दीमा पुरानो पहिरोमाथि बसेको बस्ती छ । त्यसैमा पछि बाटो लैजाने क्रममा राम्ररी थामिन नपाएको पहिरोको डाँडामा बाटो खन्ने काम भएको छ । त्यसैले गर्दा त्यहाँ पनि फेरि पहिरो सक्रिय भएको अवस्था औँल्याउनुभयो ।

वर्षा धेरै भएपछि धेरै जसो ठाउँमा भेल पहिरो नै देखिएको छ । त्यसमा विकास निर्माणको कामले थप सहयोग गरेको तर्क भूगर्भविद् बाँस्कोटा गर्नुहुन्छ । पुराना पहिरो चलाइदिँदा सानातिना पहिरो जाने गरेको छ । त्यसले पहाडमा बग्ने खोला रोकिदिने गर्दा विस्फोट भएर ठूलो भेल पहिरो जाने अधिकांश घटना देखिएको उहाँले उल्लेख गर्नुभयो ।

अर्का वरिष्ठ भूगर्भविद डा. राजेन्द्र भण्डारी मनसुनको पानीसँगै लेदो पहिरो जानु ग्रामीण सडक जथाभावी बनाउनुलाई कारक मान्नुहुन्छ । उहाँका अनुसार आफ्नो तरिकाले आफ्नो गाउँ र घरमा लैजाने गरी देशभर बनिरहेका छन् । “प्रविधिगत रुपमा त्यो सही छ कि छैन ?, त्यसको ग्रेडिङ मिलेको छ कि छैन ?, काट्नुपर्ने ठाउँमा काटेको हो कि हैन ? भन्दा पनि जहाँ जस्तोबाट पनि सडक लगिएको छ,” उहाँले भन्नुभयो ।

त्यसमा पानी निकास छुट्याएको हुन्न । नेपालसहित २४ सय किलोमिटरको हिमालय क्षेत्र भूकम्पीय जोखिमको क्षेत्र हो । जसमध्ये आठ सय किलोमिटर नेपालमा पर्छ । उहाँका अनुसार बेला बेलामा भूकम्पले हल्लाइरहँदा पहाडका चट्टानमा चोट लाग्छ । जसले चट्टान टुक्राउने, बीचमा चिरिने र दरार बनेर कमजोर हुन्छ । पानी तिनै दरारमा पसेपछि अस्थिर बनेर पहिरो जाने अवस्था सिर्जना हुन्छ । त्यसमा विकास निर्माणले थप मलजल गरेको उहाँले सुनाउनुभयो ।
धनजनको क्षति
विगत महिनायता ठूला पहिरो र एकाध बाढीमा परी ८८ जनाको ज्यान गइसकेको गृहमन्त्रालयले जनाएको छ । अझै ३६ जना बेपत्ता छन् । सबैभन्दा धेरै म्याग्दीमा असार २६ गतेको पहिरोमा परी २७ जनाको मृत्यु भएको । चार जना बेपत्ता छन् । असार २५ गते सिन्धुपाल्चोकमा गएको पहिरोमा तीन जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । जाजरकोट पहिरोमा परी नौ जनाको मृत्यु र छ जना बेपत्ता छन् ।

त्यस्तै, कास्कीमा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । त्यसअघि पर्वतको पहिरोमा नौ जनाको र बझाङको पहिरोमा सात जनाको मृत्यु भएको छ । अझै एक बेपत्ता छन् । पाल्पामा चार जना र गुल्मीमा पाँच जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् ।

त्यस्तै, लमजुङमा चार जनाको, रुकुम पश्चिममा दुई र दार्चुलामा दुई जनाको मृत्यु भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यसैगरी स्याङ्जा, गोरखा, बाग्लुङ, डोटी, कालिकोट, सल्यान, झापा, चितवन र सुर्खेतमा बाढी पहिरोमा परी एक/एक नाको मृत्यु भएको छ ।

नेपालमा पहिरोको अध्ययन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग मिलेर यतिबेला खानी तथा भूगर्भ विभागले पहिरोको जोखिमको देशभर अध्ययनसमेत गरिरहेको छ । सोही क्रममा वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटासहितको टोलीले प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेशका पहिरोको जोखिमयुक्त स्थानको अध्ययन गरेको छ ।

यो अध्ययनले सबै बस्तीलाई एकैचोटी उठाउने भन्दा पनि सबै चनाखो भएर पहिरोको बारेमा सचेत रहने बनाउन सहयोग पुर्याउने उद्देश्य लिएको छ । साथै विकास निर्माण र नीति निर्माण गर्दा सहज हुनेछ । अहिलेसम्म जति पनि पहिरो गयो । ती पहिरोको नक्साङकन गरेर कहाँ कहाँ कत्रा पहिरा छन् ? पहिरोले कति क्षेत्र ओगटेको छ ? कुन बस्तीको छेउमा छन् ? भन्ने हिसाबले एउटा डाटाबेस तयार गरिएको जानकारी उहाँले दिनुभयो । दुई नम्बर प्रदेशमा त्यति पहिरो नजानेहुँदा बनाइएको छैन । कर्णाली र सुदूरपश्चिम प्रदेशको अर्को वर्षसम्म सक्ने लक्ष्य रहेको छ ।

नेपालमा २०७२ सालमा भूकम्प गएका जिल्लामा पहिरोको जोखिम र जोखिमका बस्तीको अध्ययन उहाँकै टोलीले गरेको थियो । त्यो बेला १९ वटा जिल्लामा पहिरोको अध्ययन भएको थियो । पछि फेरि थप जिल्लामा अध्ययन गरेर ९३ बस्ती सार्नका लागि भूकम्प पुननिर्माण प्राधिकरणलाई सिफारिस गरिएको उहाँले बताउनुभयो ।
त्यो तथ्यलाई जोड्दै फेरि गैरसरकारी निकायसँग मिलेर स्थानीयत तहका यतिवटा घर जोखिममा भनेर समेत मूल्याङ्न गरिएको छ । यी सबैलाई पुर्नमूल्याङ्कन गरेर जोखिमका बस्तीलाई जोगाउन सकिने बाँस्कोटा बताउनुहुन्छ । गोरखापत्रबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com