रकम अभावले छाप्ने स्थल बन्द हुँदा ५० हजार ग्रिनकार्ड र ७५ हजार वर्क परमिट छाप्न बाँकी


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

युससीआईएसमा आर्थिक अभावपछि स्वीकृत भइसकेका ५० हजार ग्रिनकार्ड र ७५ हजार वर्क परमिट प्रिन्टमा रोकिएको जनाइएको छ । युएससीआईएसले ग्रिनकार्ड र वर्क परमिटहरु प्रिन्ट गर्ने ठेकेदार कम्पनीसँगको सम्झौता मध्य जुन नै सकिएपछि ती ग्रिनकार्ड र वर्क परमिट प्रिन्ट नभएका हुन् ।

युएससीआईएसले आर्थिक अभावका कारण ती कागजात प्रिन्ट हुन नसकेको बताएको छ । त्यसैकारण विभिन्न आप्रवासी भिसामा अमेरिका आएकाहरुले समेत ग्रिनकार्ड प्राप्त गर्न सकेका छैनन् । जसमा डाइभर्सिटी लगायतका आप्रवासी भिसामा अमेरिका आउने कैयन नेपालीहरु समेत छन् ।

वर्क परमिट र ग्रिनकार्ड प्रिन्ट हुने केन्टकी कर्बिनमा कार्यस्थल बन्द भएको तीनसाता भइसकेको छ । मिजौरीमा रहेको वर्क परमिट र ग्रिनकार्ड छाप्ने स्थलमा अत्यन्तै कम क्षमतामा काम भइरहेको छ । युएससीआइएसले वक्तव्यमार्फत प्रिन्टलाई तीब्र पार्ने योजना बनाएको तर प्रोसेसिङ समयबारे भविश्यवाणी गर्न नसक्ने जनाएको छ ।

छाप्न बाँकी रहेका ग्रिनकार्डहरुमा केही नयाँ स्वीकृत ग्रिनकार्ड रहेका छन् भने केही नविकरण गरिएका ग्रिनकार्डहरु हुन् । अमेरिकाको अध्यागमन कानुन अनुशार हरेक ग्रिनकार्डवाहकले साथमा ग्रिनकार्ड बोक्न अनिवार्य गरेको छ । नबोक्नेलाई जेल र जरिवानाको समेत सजायको व्यवस्था रहेको छ ।

अरुबेला समान्यतया ग्रिनकार्ड स्वीकृत भएको ४८ घण्टाभित्र ग्रिनकार्ड प्रिन्ट हुने गर्दै आएको थियो । तर हालै स्वीकृत भएका ग्रिनकार्डका सन्दर्भमा अनलाइनमा समेत ग्रिनकार्ड प्रिन्ट भएको स्टाटस देखाइएको छैन ।

यसैबीच संसदले बजेट स्वीकृत नगरेको खण्डमा युएससीआईएसले अगस्तदेखि झण्डै ७० प्रतिशत अर्थात् १३ हजार ४ सय कर्मचारीहरुलाई वेतलवी विदा दिने तयारी गरेको छ । युएससीआईएसमा झण्डै २० हजार कर्मचारीहरु कार्यरत रहेका छन् ।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा दशौं हजारले नागरिकताको सपथ पनि लिन पाएका छैनन् । उनीहरुको नागरिकता आवेदन स्वीकृत भएपनि सपथग्रहण गर्न सकेका छैनन् । तर युएससीआईएसले नागरिकता आवेदन स्वीकृत भइसकेकाहरुले सपथग्रहण जुलाईभरमा सक्ने योजना बनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com