अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा तोड्यो सम्बन्ध


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्र संघलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्र संघले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्षको समय लाग्न सक्छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले मे महिनामा नै डब्ल्यूएचओसँग नाता तोडेको घोषणा गरेका थिए । ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि कोरोना महामारीलाई प्रभावकारी तरिकाले नियन्त्रण गर्न नसकेको र चीनको इशारामा चलेको आरोप लगाएका थिए । ट्रम्पको आरोप र सम्बन्ध तोड्ने धम्कीको जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रस एडनहोनम गेब्रियेससले यो समयमा डब्ल्यूएचओको मद्दत सबैभन्दा धेरै आवश्यक भएको बताएका थिए । उनले ट्रम्पलाई रकम नरोक्न अपिलसमेत गरेका थिए ।

यद्यपि, यी सबै अपिलपश्चात् पनि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन् । उनले डब्ल्यूएचओलाई दिँदै आएको रकम अन्य कुनै स्थानमा दिने जानकारी दिए । विपक्षी डेमोक्रेट सांसदले ट्रम्पको यो निर्णयको आलोचना गरेका छन् र डब्ल्यूएचओबाट अलग हुनु अमेरिकी नागरिकको हितमा नभएको बताएका थिए ।

बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com