ट्याक्स नकटाई बेरोजगारी विमा रकम लिइरहनुभएको छ ? ट्याक्स फाइल गर्ने बेला चकित पर्नुहोला !


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

यदि तपाईले अहिले बेरोजगारी विमा रकम लिइरहनुभएको छ भने ट्याक्स फाइल गर्ने बेलामा तपाई चकित पर्न सक्नुहुनेछ । किनभने आईआरएसले बेरोजगारी सुविधा रकमलाई ट्याक्स तिर्नुपर्ने आम्दानीका रुपमा लिने गर्छ ।

बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता रकम लिंदा कैयनले आफ्नो आयकर कटाएका छैनन् । उनीहरुमध्ये केहीले अहिले साप्ताहिक चेक रकम कम हुने भएकाले संघीय करको रकम नकटाई पूरै रकम लिइरहेका छन् ।

३७ प्रतिशतभन्दा धेरै करदाताहरुलाई बेरोजगारी विमा रकम ट्याक्स तिर्नुपर्ने आम्दानी रहेकोबारे कुनै जानकारी नरहेको जनाइएको छ । ज्याक्सन हाइट नामको संस्थाले एकहजारमा गरेको सर्वेक्षणमा ३७ प्रतिशतले ट्याक्स तिर्नुपर्ने बारे थाहा नभएको बताएका थिए भने ५१ प्रतिशतले ट्याक्स वीथहोल्ड गर्न सकिनेबारे जानकारी नै नरहेको बताएका थिए ।

यदि बेरोजगारीविमा रकम लिइरहेकाहरुले अहिले ट्याक्स रकम नकटाईकनै रकम प्राप्त गरिरहेका छन् भने उनीहरुलेपछि करवापत ठूलो रकम तिर्नुपर्ने हुनसक्छ । त्यसका लागि कैयन व्यक्ति तयार रहेका छैनन् । अहिले प्राप्त रकम सबै खर्च गर्दा पछि करतिर्ने बेलामा रकम भएन भने समस्या हुनसक्ने देखिन्छ ।

आईआरएसले बेरोजगारी विमा रकम लिनेहरुलाई १० प्रतिशतसम्म रकम आयकरका रुपमा रोकेर राख्ने सुविधा दिएको छ । कतिपय राज्यमा भने बेरोजगारी विमा रकमलाई कर तिर्नुपर्ने रकमका रुपमा लिइदैन, यस्तो अवस्थामा राज्यलाई कर तिर्नु नपरे आईआरएसलाई भने तिर्नुपर्ने हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com