अमेरिकाको नेपाली समाजका ४ हस्तीलाई एएनए सामाजिक हिरोको सम्मान


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

साहित्यकार होमनाथ सुवेदी, सामाजिक व्यक्तित्व अरूण रूपाखेती , रक्तदाता अर्जुन मैनाली र भारत्तोलनका गोल्ड मेडलिष्ट रुप कार्कीलाई एएनए सामाजिक हिरोबाट सम्मानित गर्ने निर्णय गरिएको छ । एनएनए अध्यक्ष मेदिनी अधिकारीले वक्तब्य जारी गर्दै अमेरिकामा रहेको नेपाली डायस्पोरमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई सामाजिक हिरोको सम्मान दिने निर्णय भएको जानकारी दिएका हुन् । अवार्ड सेरेमोनी भने कोरोनाको महामारीपछि राखिने भएको छ ।

होमनाथ सुवेदीले अहिलेसम्म झण्डै ४५ वटा पुस्तक लेखेका छन् । उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्थापना गर्नुका साथै साहित्यको नेटवर्कलाई विश्वभर फैलाउन मद्दत गरेको एएनएको ठहर छ ।

त्यस्तै अरुण रुपाखेतीले डिसी नेपाली समाजको स्थापना गरेको र नेपाली चाडपर्वहरु मनाउन महत्वपूर्ण र साझा प्लेटफर्म बनाएका छन् । उक्त समाजसँग विभिन्न नेपाली चाडपर्व मनाउने सामाग्रीहरु र पण्डितहरु समेत रहेका छन् । डिसी नेपाली समाजले वासिंटन क्षेत्रमा नेपालीहरुको सामुदायिक केन्द्र स्थापनाका लागि झण्डै २३ लाख डलर फण्डरेज गर्नमा महत्वपूर्ण योगदान दिएको थियो ।

त्यस्तै भारत्तोलनका गोल्ड मेडलिस्ट रुप कार्कीले विभिनन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा १० वटा गोल्ड मेडल जितेका छन् । सन् २०१७ मा एटलान्टामा भएको अन्तर्राष्ट्रिय भारत्तोलनमा उनले मास्टर वान श्रेणीको गोल्ड मेडल जितेका थिए । आयरल्याण्डको अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले मास्टर टु श्रेणीको गोल्ड मेडल जितेका थिए ।

अर्का व्यक्तित्व अर्जुन मैनाली अमेरिकाका चर्चित नेपाली अमेरिकन रक्तदाता हुन् । उनले विश्वभर १७९ पटक रक्तदान गरिसकेका छन् । उनले विदेशमा रहेका नेपालीहरुलाईमात्र होइन, मुलधारमा समेत रक्तदानका लागि प्रेरणा जगाउँदै आएका छन् । न्युयोर्कको ओएस्टर वेले मैनालीको सम्मानमा अजुर्न मैनाली डे समेत राखेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com