मेकअपमा नगर्नुहोस् यस्ता गल्ती


प्रकाशित मिति : बैशाख २, २०७४ शनिबार

नीरज राजभण्डारी मेकअप आर्टिस्ट इन्काज ब्युटिपार्लर, जमल /

सौन्दर्य अझ उत्कृष्ट बनाउन महिला मेकअपको सहारा लिन्छन् । आफ्नो स्किनसुहाउँदो उत्पादन लिएर नियमित मेकअप गर्नु आवश्यक पनि छ । सही मेकअपले तत्काल अनुहारको सौन्दर्य बढाउने मात्रै होइन, दीर्घकालका लागि छालाको सुरक्षामा पनि भूमिका खेल्छ । वातावरणीय प्रदूषणलगायत विभिन्न असरबाट छाला जोगाउन पनि मेकअपले काम गर्छ । तर, सही उत्पादन प्रयोग गरेर पनि मेकअपमा अधिकांशले केही गम्भीर गल्ती गरिरहेका हुन्छन् । यसले प्रोफेसनल सौन्दर्य प्रदान गर्दैन । मेकअप आर्टिस्ट नीरज राजभण्डारीले मेकअपमा गर्न नहुने आठ गल्ती सुझाएका छन् :

पाउडर लगाउँदा हुने गल्ती

सुन्दर देखिने नाममा प्रायः नारीले मेकअपमा धेरै पाउडर प्रयोग गरेको पाइन्छ । खासमा चिल्लो अनुहार भएका नारीले धेरै पाउडर लगाउँछन् । तर, यो गलत तरिका हो । चिल्लो सोसाउने नाममा धेरै पाउडर लगाउँदा मेकअप नै अप्राकृतिक देखिन्छ । अनुहार सुक्खा देखिने र चाउरी देखिने खतरा पनि उत्तिकै रहन्छ । चिल्लो नियन्त्रण गर्नु नै छ भने आयल फ्री प्रोडक्ट प्रयोग गर्नुहोस् ।

आइब्रो मिलाउँदा हुने गल्ती
प्राकृतिक रूपमै सबैको आइब्रो समान हुँदैन । सबै नारीको बाक्लो र गाढा आइब्रो हुँदैन । त्यसैले पातलो र फिका आइब्रो हुनेहरू गाढा कालो पेन्सिल कोरेर आइब्रो आकर्षक बनाउनतिर लाग्छन् । तर, यो गलत हो । पातलो र फिका आइब्रोलाई अप्राकृतिक रूपमा गाढा बनाउँदा भद्दा देखिन्छ । यस्तो आइब्रोको मेकअप गर्दा आइब्रोभन्दा एक सेट फिका आइब्रो पेन्सिल प्रयोग गर्नुपर्छ । यस्तै, बाहिरी कुनामा विशेष ध्यान दिनुपर्छ । पेन्सिलभन्दा जेल आइब्रो उत्तम हुन्छ ।

ब्रोन्जर प्रयोग गर्दा  हुने गल्ती
मेकअपमा ब्रोन्जर धेरै भयो या सही ठाउँमा भएन भने अनुहारको रूप नै अर्कै देखिन्छ । धुलो लागेजस्तो देखिन्छ । यो प्रयोग गर्दा नोजब्रिज, जलाइन, फोरहेड, चिउँडोको टुप्पो र चिकबोनमा हल्का रूपले प्रयोग गर्नुपर्छ ।

अन्डरआई कन्सुलर छान्दा हुने गल्ती
प्रायः महिलाको आँखातल कालो वा डार्क सर्कलको समस्या हुन्छ । उनीहरू कालो छोपेर सेतो बनाउनतिर लाग्छन् र धेरै फिका कन्सिलर छान्छन् । तर, यो गम्भीर गल्ती हो । कन्सिलर जहिले पनि आफ्नो स्किनटोनसँग मिल्ने मात्रै छान्नुपर्छ । कन्सुलर छान्न आइडिया नै भएन भने ओरेन्ज कन्सिलर भए सबैलाई राम्रो हुन्छ ।

ब्लसर प्रयोग गर्दा हुने गल्ती
ब्लसर प्रयोग गर्दा पनि अधिकांशले गल्ती गरिरहेको पाइन्छ । यो आफ्नो स्किनअनुसार ठीक मात्रामा प्रयोग गर्नुपर्छ । अनुहारको सेप र साइजअनुसार ब्लसर प्रयोग गर्ने एउटा हिसाब नै हुन्छ । यसबारे राम्रो जानकारी लिएर मात्रै प्रयोग गर्नु उपयुक्त हुन्छ । रङ पनि स्किनअनुसार छान्नुपर्छ, जस्तै: फेयर स्किनलाई पिंक वा रोजी । यदि यो ठीक मात्रामा प्रयोग भए अनुहार उज्यालो र कम उमेरको देखाउँछ । नत्र अनुहार भद्दा हुन सक्छ ।

चिल्लो अनुहारमा फाउन्डेसन गर्दा गल्ती
चिल्लो अनुहारमा फाउन्डेसन छान्दा प्रायः नारीले ननआयली फाउन्डेसन लगाउँछन् । यसको प्रयोगले उनीहरू ढुक्क हुन्छन् । तर, यो गल्ती हुन सक्छ । बरु, मेकअप गर्नुअघि क्लिन्जिङ वाइट्सले राम्ररी आयल पुछेर मेकअप गर्न सुरु गर्नु उत्तम हुन्छ ।

फाउन्डेसन छान्दा हुने गल्ती
फाउन्डेसन जहिले पनि आफ्नो स्किनटोनभन्दा एक सेट फिका छान्ने गर्नुपर्छ । फाउन्डेसन छान्ने ज्ञान छैन भने जलाइनमा अलिकति दलेर जाँच गर्न सकिन्छ । जलाइनमा दल्दा तत्काल छालामै हरायो भने फाउन्डेसन सही रहेछ भन्ने बुझ्नुपर्छ । स्किनटोनभन्दा गाढा फाउन्डेसन प्रयोग गर्नु हुँदैन  ।

छाला सुक्खा हुँदा हुने गल्ती
छाला धेरै नै सुक्खा छ भने प्रायः क्रिमी फाउन्डेसन प्रयोग गरेर ढुक्क हुने गरिन्छ । तर, यो तरिकाले मेकअप राम्रोसँग खुल्दैन । फाउन्डेसन प्रयोग गर्नुअघि मोस्चराइजिङ प्राइमर लगाएर मात्रै फाउन्डेसन प्रयोग गर्दा मेकअप राम्रोसँग खुल्छ । नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com