फ्रान्सका पूर्व प्रधानमन्त्री फिलोन र उनकी पत्नी भ्रष्टाचार मुद्दामा दोषी ठहर


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ ।

पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी परेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

फिलोनकी पत्नी पेनेलोपले सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगसहित पेरिसको एक अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो ।

यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा अन्य प्रतिद्वन्द्वीभन्दा निकै अब्बल उम्मेदवारी रहेको मानिएका अर्थात् निर्वाचनमा विजयको बलियो सम्भावना बोकेका फिलोनले अभियानबाट पछाडि हटेका थिए ।

अदालतले पूर्व प्रधानमन्त्री फिलोनलाई पाँच र पेनिलपलाई तीन वर्ष जेल सजायसहित दुवै जनालाई तीन लाख ७५ हजार यूरो जरिवाना तोकेको छ । साथै गैर–कानूनीरूपमा लिएको उक्त दश लाख यूरो राष्ट्रिय सभालाई फिर्ता गर्न निर्देशन पनि अदालतले गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com