अर्घाखाँचीमा दुरी कायम राख्दै चौरमा पठन-पाठन


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

– सुरज घिमिरे

लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको छ । तर, ग्रामीण भेगमा विद्यार्थीको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाईन कार्यक्रम प्रभावकारी नदेखिएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित पकलेमा रहेको जनता कृष्ण माविले भने विद्यार्थीहरुलाई खुला आकाश मुनी चौरमा राखेर पठन-पाठन सञ्चालन गरेको छ ।

कोरोना महामारीका कारण पठन–पाठन अनिश्चित भएपछि विद्यालयले विद्यार्थीहरुलाई सामजिक दुरी कायम राख्दै मास्क र स्यानिटाइजरको प्रयोग गरेर खुल्ला चौरमा राखेर पठन–पाठनसँगै कोरोना सचेतनाका जगाएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले बताए । तीन महिनादेखि घरमै रहेका विद्यार्थीहरुको स्मरणशक्तिमा ह्रास आएको भन्दै खुल्ला चौरमा राखेर पठन–पाठन र कोरोना सम्बन्धी आवश्यक शिक्षा र परामर्श दिने गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिए । लामो समय विद्यालय जान नपाएर अन्यौलमा परेका विद्यार्थीहरु खुल्ला चौर भए पनि पढ्न पाउँदा भने खुशी छन् । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै दुरी कायम गरी पठन–पाठन सञ्चालन गरिएको र विद्यार्थी र शिक्षकलाई पायक पर्ने गरी फरक–फरक स्थानमा राखेर विद्यार्थीहरुको पठन–पाठन भइरहेको विद्यालयका शिक्षक प्रकाश भुसालले बताए ।

कक्षा- १ देखि ९ सम्म अध्ययनरत् विद्यार्थीलाई पहिलो चरणमा दिनमा दुईदेखि तीन घन्टा चौरमा सामाजिक दूरी कायम गर्दै पठन–पाठन सञ्चालन गरिएको भुसालले जानकारी दिए । वर्षा भएको समयमा भने कक्षा बन्द रहनेछ । तत्काल विद्यालय खोल्न सक्ने वातावरण नभए पछि विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीको सहमतीमा विद्यालयले वैकल्पिक विधिबाट पठन–पाठन सुरु गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी समेत भर्ना भएका छन् । उनीहरूलाई किताब वितरण गरिएको छ । एउटा समूहमा २० जना विद्यार्थी राखेर अध्ययन भएको छ । नगरपालिकासँग समन्वय गरी जिल्लामा पहिलोपटक आफ्नो वडाबाट पठन–पाठनको सुरुआत गरिएको सन्धिखर्क नगरपालिका–८ का अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com