कहिलेदेखि खुल्छ काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा सेवा ?


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा सेवा कहिलेदेखि खुल्ला ? यो प्रश्न धेरैको मनमा रहेको छ । कतिपयले खसोखासमा सम्पर्क गरेर बारम्बार यो प्रश्न सोधिरहनुभएको छ । हामीले यही प्रश्न अमेरिकी दूतावास काठमाडौं र अमेरिकी विदेश मन्त्रालयलाई सोधेका छौं ।

अमेरिकी विदेशमन्त्रालयका अधिकारीले खसोखासलाई भनेका छन् -‘हाम्रा विदेशमा रहेका मिसनहरुमा भिसा सेवा यथाशक्य छिटो सुचारु हुनेछ । तर हामी अहिले ठ्याक्कै मिति प्रदान गर्न भने नसक्ने अवस्थामा छौं ।’

साधनश्रोत उपलब्ध भएसम्म अमेरिकी दूतावास र कन्सुलेटहरुले अर्जेन्ट र इमर्जेन्सी भिसा सेवा भने उपलब्ध गराउने अमेरिकी विदेशमन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । उनले भनेका छन् -‘अमेरिकी नागरिकका लागि भने दूतवासहरुमा सबै सेवा उपलब्ध छन् । हरेक दूतावासको वेवसाइटमा यसबारे सुचना पनि उपलब्ध छ । तर नियमित आप्रवासी र गैरआप्रवासी भिसा अप्वाइन्टमेन्टहरु भने मार्च २० पछि दूतावास र कन्सुलेटहरुले रद्द गरेका छन् ।’

कोरोनाको महामारी कारण अमेरिकी विदेशमन्त्रालयले सबै अमेरिकी दूतावास र कन्सुलेटहरुमा नियमित भिसा सेवा अस्थायी रुपमा रद्द गरेको ती अधिकारीको भनाई छ । अमेरिकी दूतावास काठमाडौंले अप्रिल २३ पछि आप्रवासी भिसा सकिनेहरुका सन्दर्भमा फर्म उपलब्ध गराएको छ । उक्त फर्म भरेकाहरुलाई भिसा सेवा सुचारु हुनासाथ सम्पर्क गरेर नयाँ भिसा दिन सकिने दूतावासले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com