विराटनगरले २२ प्रतिशत घटाएर बजेट ल्यायो


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशतले घटाएर बजेट ल्याएको छ । बुधबार छैटौं नगरसभामा मार्फत महानगरले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

कोरोना महामारी र लकडाउनका कारण राजस्वमा कमी आउनुको साथै निश्चित क्षेत्रमा बढी लगानी गर्नुपर्ने भएकाले यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा २२ प्रतिशतले कम रहेको उपप्रमुख इन्दिरा कार्कीले बताइन् । चालु वर्षमा महानगरले ५ अर्ब १७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालू आर्थिक वर्षको भन्दा १ अर्ब ७४ करोड ४९ लाख कम बजेट महानगरले ल्याएको हो ।

नगरसभामा उपप्रमुख इन्दिरा कार्कीद्वारा प्रस्तुत बजेटमा महानगरपालिको प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड र ल्यान्डफिल्डको जग्गा खरिदसहित वातावरण तथा फोहोरमैला व्यवस्थापनतर्फ ११ करोड ४९ हजार ५० हजार रुँपैया बराबरको बजेट विनियोजन गरेको उल्लेख छ ।

नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुदतर्फ २ करोड ९ लाख २४ हजार र भौतिक पूर्वाधार निर्माण लगायतका अन्य पुँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुँपैयाँ बराबरको बजेट विनियोजन गरिएको उपप्रमुख कार्कीले बताइन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट ८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ३८ करोड ७ लाख ६८ हजार प्राप्त गर्ने अनुमान गरेको छ ।
विराटनगर महानगरपालिकाद्धारा संघीय सरकार सशर्त अनुदानबाट १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २ करोड १० लाख ९ हजार १ सय ८०, संघीय सरकार बिशेष अनुदानबाट १३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट ३ करोड २६ लाख ७८ हजार १ सय ८० र जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार रुपैयाँ आर्जन हुने अनुमान गरिएको छ ।

बजेट सार्वजानिकीकरणका क्रममा महानगर प्रमुख भीम पराजुलीले महानगरको पूर्वाधार विकाससँगै स्वास्थ्यमा केन्द्रीय भएर कार्य योजना अघि बढाएको बताएका छन् । यसैबिच विराटनगर महानगरपालिकाले आजीवन ४ जना प्रजातन्त्र सेनानीलाई मासिक २ हजार ५ सय दिने घोषणा गरेको छ । बुधबार छैटौं नगरसभामा प्रजातन्त्र सेनानी रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई र श्याम सुब्बालाई सम्मान गर्दै अब उनीहरु सँगै बाँकी तीन जनालाई पनि आजीवन मासिक रुपमा नै सम्मान गर्ने घोषणा गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com