ग्रिनकार्ड भिसा रोक्ने ट्रम्पको आदेश कार्यान्वयन, कामदार भिसा रोक्ने आदेश आज रातीदेखि


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो बर्षको अन्त्यसम्मका लागि ग्रिनकार्ड भिसा (आप्रवासी भिसा)मा लगाएको रोक सोमबारदेखि नै कार्यान्वयनमा आएको छ । तर कामदार भिसामा लगाएको रोक भने मंगलबार राती १२ बजेपछि अर्थात् बुधबार सुरु हुनासाथ कार्यान्वयनमा आउने भएको छ ।

राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश जारी गरेपछि सन् २०२० को डिभी लोटरीको औचित्य समाप्त भएको छ भने पारिवारिक वा रोजगारमा आधारित ग्रिनकार्ड भिसा कुरेर बसेकाहरुले अब त्यस्तो भिसा पाउन कम्तीमा अर्कोबर्ष कुर्नुपर्नेछ । अहिलेसम्म भिसा नपाएका सन् २०२० को डिभी लोटरी विजेताहरुको अमेरिका आउने सपना भने समाप्त भएको छ ।

विभिन्न श्रेणीमा पहिले नै भिसा पाइसकेकाहरु भने अमेरिका आउनसक्ने कानुन व्यवसायी केशवराज सेडाईले जानकारी दिनुभएको छ । पहिले नै भिसा पाइसकेका तर कोरोनाको महामारीका कारण ६ महिनाभित्र अमेरिका आउन नपाएकाहरुले दूतावासमा सम्पर्क गरेर भिसा नविकरण गर्नसक्ने जनाइएको छ ।

ट्रम्पको कार्यकारी आदेशले अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुलाई आप्रवासी भिसा प्राप्त गर्न रोक लगाएको छैन । त्यस्तै जे, एल र एचबाहेक अन्य श्रेणीका गैरआप्रवासी भिसा प्राप्त गर्न पनि रोक लगाइएको छैन । भिजिटर, विद्यार्थी लगायतका भिसाहरु भने जारी गरिनेछ ।

नेपालीहरुका सन्दर्भमा ट्रम्पको कार्यकारी आदेशको सबैभन्दा ठूलो मार डिभी विजेताहरुलाई परेको छ । सन् २०२० का झण्डै २६ सय नेपाली डिभी विजेताहरुले भिसा कुरेर बसिरहेका थिए । कतिपयको त अन्तरवार्ताको मिति समय तय भएको थियो तर कोरोनाको महामारीका कारण अन्तरवार्ता हुन सकेको थिएन ।

डिभी विजेताबाहेक अन्यको भने अहिले भिसा जारी नभएपनि पछि भने भिसा पाउने सम्भावना रहनेछ । उनीहरुले सन् २०२१ को जनवरीपछि भने भिसा पाउने भएकाले उनीहरुको भिसामा केवल ढिलाईमात्र हुनेछ, सुरुवाटै प्रकृया सुरुवात गर्नुपर्ने छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com