माग पुरा नभए सम्म कुनै पनि निर्वाचनमा भाग लिन्नौंः मोर्चा


प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार

नयाँ संविधान संशोधन विधेयक स्वीकार नगर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले  निर्णय गरेको छ । मोर्चाले आफ्नो माग पुरा नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने समेत बताएको छ ।

मोर्चाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गरेर आन्दोलनमा जाने निर्णय गरेको छ। सरकारले मंगलबार दर्ता गरेको संविधान संशोधन विधेयकबारे आधिकारक धारणा तय गर्न बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले विधेयकलाई अस्वीकार गर्ने, आन्दोलनमा जाने र निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

तमलोपाको कार्यालयमा बुधबार बसेको मधेसी मोर्चाको बैठकले ११ र २६ बुँदे माग अनुसार संविधान संशोधन नहुँदासम्म आन्दोलन जारी राख्ने निर्णय गरेको शीर्ष नेताहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

मधेसी मोर्चाले विगतमा भएको वार्ता तथा सहमतिको मर्म विपरित सरकारले संविधान संशोधन विधेयक ल्याएको भन्दैस्वीकार्य नहुने बताएको छ । उसको निर्णय छ, ‘सीमांकन लगायत मुलभूत मुद्दाहरु सम्बोधन नहुने भएको हुनाले संशोधन विधेयकलाई मोर्चाले अस्वीकार गरेको छ ।

मधेसी मोर्चाको बैठकले दबावमुलक आन्दोलनका कार्यक्रम पनि घोषणा पनि गरेको छ । भोलि तराई मधेसका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने मोर्चाको कार्यक्रम रहेको छ । बाँकी आन्दोलनका कार्यक्रम पछि तय गरिने मोर्चाका नेता रामनरेश रायले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com