विदेशबाट चीन आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा कडाई


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको आशङ्कामा परीक्षणलाई कडा पारेको छ । चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाई गरेको हो । चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ ।

चिनियाँ अधिकारीहरूले राजधानी बेइजिङको सिनफादी मासु बजारमा काम गर्ने वा व्यवसाय गर्ने व्यक्तिमा सङ्क्रमण भेटिएपछि वरपरका विद्यालय तथा वस्तीहरूलाई बन्दगरी त्यहाँका सयौँ हजार नागरिकको कोरोना सङ्क्रमण परीक्षण शुरू गरेको छ । यसैबीच राजधानी बेइजिङ्मा थप २५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र योसँगै दोस्रो चरणमा सङ्क्रमित हुनेको सङ्ख्या १८३ पुगेको छ ।

पछिल्लो चरणमा सङ्क्रमण भेटिएका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको सङ्क्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए । चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उनको दावी रहेको छ ।

सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो । चीनले सीफुडका १५ हजार ६३८ नमूना सङ्क्रलन गरी परीक्षण गरेको थियो तर ती सबैमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको थिएन । -एएफपी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com