मोर्चाद्वारा आज पनि संसद् बैठक बहिष्कार


प्रकाशित मिति : चैत्र २९, २०७३ मंगलबार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि व्यवस्थापिका–संसद् बैठक बहिष्कार गरेको छ ।

बैठक सुरु हुनेबित्तिकै मोर्चामा आबद्ध सांसदहरु उभिएपछि सभामुख ओनसरी घर्तीले सांसद अकबल अहमद साहलाई बोल्न अनुमति दिनुभएको थियो । सांसद साहले आफूहरुले सञ्चारमाध्यममार्फत सरकारले सीमाङ्कनको विषय छाडेर नयाँ संविधान संशोधन प्रस्ताव दर्ता गर्दैछ भन्ने जानकारी पाएको बताउँदै हाल विचाराधीन संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले संविधानको धारा २७४ खारेज गरेर एक अधिकारसम्पन्न सीमाङ्कन निर्धारण सङ्घीय आयोग गठन गर्न माग गर्दै आयोगले प्रतिवेदन तयार पारी संसद्मा प्रतिवेदन आएपछि मात्र संशोधन फिर्ता हुनुपर्ने बताउनुभयो ।

सांसद साहले स्थानीय निकाय पुनःसंरचना आयोगले निर्धारण गरेको तह निर्धारण आफूहरुलाई मान्य नभएको जनाउँदै उहाँले जनसङ्ख्यानुसार तह निर्धारण नभएसम्म मोर्चाले निर्वाचनमा भाग नलिने र हुन पनि नदिने जिकिर गर्नुभयो ।

संशोधन विधेयक पारित गरी मोर्चाको माग पूरा नभएसम्म निर्वाचन सम्भव नहुने बताउँदै उहाँले मोर्चाका तर्फबाट आजको बैठक बहिष्कार गरिएको जानकारी गराउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com