जनतालाई भोकै मार्न त पाइएन नि ! राज्यले उचित विकल्प खोज्नुपर्दैन ? : नायिका करिश्मा मानन्धर


प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार

नेपालमा कोरोनाको महामारीका कारण लकडाउन बढ्दै जाँदा जनजीवन नराम्ररी प्रभावित भइरहेको छ । राज्यका तर्फबाट राहतको कुनै उल्लेख्य काम नभएका कारण दैनिक काम गरेर जीवन गुजारा गर्नेहरुको स्थीति निकै दयनीय बन्दै गएको छ । कसैलाई प्रभाव कम परेको छ तर कसैलाई बढी । तर प्रभाव सबैलाई परेको छ ।

नायिका करिश्मा मानन्धर भन्छिन् – ‘यसको असर चरण चरणमा परेको छ । सुरुमा दुईचारदिन त घरमै बस्दा रमाइलै भयो । तर त्यसपछि समस्या बढ्दै गयो । समस्यामा परेकाहरुलाई सकेजति सहयोग पनि गरें । तर पछिल्लो केहीदिन यता आफैलाई खुशी राख्ने प्रयत्नहरु गरिरहेकी छु ।’

अहिले आफूले वर्कआउटको समय बढाएर दैनिक तीनघण्टा पुर्याएको बताउँछिन् करिश्मा। म्युजिक सुन्ने र मेडिटेशन गर्नेबाहेक बाँकी समय ८७ बर्षकी सासुसँग गफगाफ गरेर, फिल्म हेरेर र समाचारहरु पढेर विताउने गरेको उनको भनाई छ । उनी भन्छिन् – ‘अहिले मैले केही लेख्न पनि सुरुवात गरेकी छु । लकडाउनले धेरै कुराहरु सिकाएको पनि छ । विभिन्न विषयवस्तुको विभिन्न पाटोबाट अध्ययन गरेर लेख्ने समेत गरेकी छु ।’

आफूसँग ८७ बर्षको सासुआमा भएकाले करिस्माले कोरोना संक्रमण हुन नदिन विशेष सावधानी अपनाउने गरेकी छिन् । त्यसैले उनले अरुको घरमा जाने काम बन्द गरेकी छिन् । त्यस्तै अरु आफन्तहरुलाई घरमा त्यती आवतजावत गर्न पनि रोक लगाइएको छ । करिश्मा भन्छिन् – ‘बुढाबुढीलाई उच्च जोखिम हुने भएकाले विशेष सावधानी अपनाएका छौं । कतै बाहिर हिड्न मन लागेपनि कोही नहुने स्थलतिर, खेततिर एक्लै हिड्ने गरेकी छु ।’

लकडाउनको बेलामा लामो समय घरमा बस्दा परिवारका सदस्यहरुलाई अझ नजिकबाट चिन्ने मौका पाएको बताउँछिन् करिश्मा। परिवारका सदस्यहरुको अनलाइनमा समुह बनाएको र हरेक शनिबार परिवारबीच अनलाइनमा कुराकानी हुने गरेको करिश्माले बताइन् । त्यसमा पनि सासुआमासँग विताइरहेको क्षण उनलाई अझ बढी मूल्यवान लागिरहेको छ । करिश्मा भन्छिन् – ‘सासुआमाले आफू ४० बर्ष पुग्नु अगाडिका क्षणहरु सुनाउनुहुन्छ । विहे गरेको २८ बर्ष भएपनि उहाँसँग लामोसयम बस्न पाएकी थिइन । अहिले नजिक हुने मौका पाएकी छु ।’

कोरानाको महामारीको सामना गर्न सरकारले गरेका तयारीबारे भने करिश्मालाई चित्त बुझेको छैन । जनताप्रतिको उत्तरदायीत्व राज्यले ठीक तरिकाले वहन गर्न नसकेको अनुभव भएको छ करिश्मालाई । दिनदिनै जनताले दुख पाएका खबर सुन्दा उनी मर्माहत हुन्छिन् । उनी भन्छिन् – ‘विहानै जनताले दुख पाएका समाचार सुन्दा निकै दुख लाग्छ । न त व्यवस्थित क्वारेन्टाईन छ न त जनताका लागि खास राहतको कार्यक्रम । यस्तै भयो भने त देशमा खान नपाएरै धेरैजनाको ज्यान जान्छ ।’

नाममात्रको लकडाउन हुँदा झन् जोखिम बढाएको करिश्माको ठहर छ । कहाँ कतिबजेदेखि कतिबजेसम्म खोल्ने र कहाँ बन्द गर्ने भन्ने विषयमा सरकारले कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्ने बताउँछिन् उनी । करिश्मा भन्छिन् – ‘जनता भोकै मर्ने अवस्था छ । या त राज्यले जनताका लागि व्यवस्था गर्नुपर्छ । या त सुरक्षित भएर काम गर्ने व्यवस्था मिलाउनुपर्छ । यही तरिकाले लकडाउन गरेर जीवन चल्दैन । सावधानी अपनाउन लगाएर निश्चित स्थानहरु खोल्नुपर्छ । नत्र राज्यले जनताका लागि व्यवस्था गर्नुपर्छ । जनतालाई भोकभोकै मार्न त भएन नि !’

लकडाउनमा बस्दा मानसिक स्वास्थ्यमा पनि ध्यान दिन सुझाव दिन्छिन् करिश्मा। आफूलाई कुनै काम गर्नकालागि बाध्य पार्न नहुने र हल्का तरिकाले बस्नुपर्ने उनको भनाई छ । करिश्मा भन्छिन् – ‘हामी मान्छे हौं । हामीमा सबैप्रकारको गुण हुन्छ । पागलपन र चञ्चलता पनि हुन्छ । त्यसैले यो समयमा कुनैकाम आफूमाथि जबरजस्ती लाद्नु हुँदैन । कुनै विषयलाई पनि जटिल तरिकाले लिने र जटिल बनाउने गर्नुहुँदैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com