दुईसाता न्युयोर्कका अस्पतालमा बस्दा हाइड्रोक्सीक्लोरोक्वीन परीक्षण गरिएका अधिकारी


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

धादिङका ४७ बर्षका सागर अधिकारी विगत २५ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । हाल अमेरिकाको न्युयोर्क क्वीन्समा बस्दै आएका उनलाई मार्चको अन्तिम साता कोरोना भाइरसले ढलायो ।

पेशाले उबर चालक अधिकारीले मार्चको दोश्रो सातादेखि नै काम छाडेर घरमै बसेका थिए । तर घरमा बसेका झण्डै १० दिनपछि उनलाई कोरोना संक्रमण देखिन थाल्यो ।

मार्चको अन्तिम साता उनलाई रुघाखोकी जस्तो लक्षण देखा पर्यो । उनी काम छाडेर घरमा बसेको दश बाह्र दिन भइसकेकाले कोरोनाको संक्रमण भएहोला भने शंका गरेनन् । तर पनि जँचाउनका लागि अर्जेन्ट केयर सीटीएमडीमा गए ।

डाक्टरले सामान्य चेकजाँच गरेपछि उनलाई केही पनि भएको छैन भनेर घरमा पठाइदिए । तर घर आएपछि उनलाई ज्वरो आउन सुरु भयो । ज्वरो आउँदा ज्वरो कमगर्ने औषधी खान्थे । औषधी खाएपछि पसिना आएर ज्वरो कम हुन्थ्यो । तर केहीबेरमा नै पुन हनहनी ज्वरो आउँथ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१०४ डिग्रीसम्म ज्वरो आउन थालेपछि उनी अप्रिलको पहिलो साता लङ आइल्याण्डमा रहेको माउन्ट साइनाई अन्तरगतको साउथ नासा अस्पतालमा गए । अधिकारी भन्छन् – ‘त्यतीबेला सिरियस नभएसम्म अस्पतालले भर्ना लिंदैनथ्यो । त्यसैले ज्वरो आएपनि औषधी नखाई गएको थिएँ । तर अस्पतालमा चेक गर्नासाथ मलाई इमर्जेन्सीमा लगियो ।’

अस्पतालमा उनको फोक्सो जाँच गर्दा निमोनियाका प्याचहरु देखिए । त्यस्तै अक्सिजनको मात्रा पनि निकै कम देखियो । त्यसैले उनलाई तुरुन्तै सिलिण्डरबाट अक्सिजन दिइयो भने सलाइन पानी चढाइयो ।

उनलाई छाती दुखेको थिएन । स्वासप्रश्वासमा खासै समस्या अनुभव गरेका थिएनन् । तर पनि फोक्सोमा निमोनियाका प्याचहरु देखिएपनि उनी अचम्मै परे ।

निमोनिया पुष्टी भइसकेकाले उनलाई कोरोना संक्रमण भएकोमा डाक्टरहरु ढुक्क नै थिए । त्यसमाथि कोरोनाको परीक्षण गर्दा उनको रिजल्ट पनि पोजेटिभ नै आयो । त्यसपछि उनलाई कोरोनाका बिरामीको उपचार गर्ने छुट्टै कोठामा राखियो ।

उनी सम्झिन्छन् – ‘मलाई ज्वरो भने हनहनी आइरहेको थियो । तीनचारवटा कपडा खाप्दापनि जाडो भएको जस्तो हुन्थ्यो । शरिर पनि निकै कमजोर भएको थियो ।’

उनलाई लगातार सिलिण्डरबाट अक्सिजन दिइयो । रेस्पोरेटोरी फेलियर नहोस् भन्नका लागि उनलाई लगातार फुकेर फोक्सोको अभ्यास गर्न लगाइएको थियो । यस्तो हुँदा फोक्सो सकृय राख्न मद्दत गर्दथ्यो ।

यदि रेस्पोरेटोरी फेलियर भएको खण्डमा उनी भेन्टिलेटरमा जानुपर्ने अवस्था आउने थियो । त्यसबारे उनलाई डाक्टरले सचेत गराइसकेका थिए । शरिरमा अक्सिजनको मात्रा कम भएकाले त्यो सम्भावना पनि थियो । भेन्टिलेटरमा गएको खण्डमा फर्केर आउने सम्भाजना निकै कम हुनेबारे डाक्टरले सल्लाह दिएका थिए ।

अधिकारी भन्छन् – ‘मलाई भेन्टिलेटरमा गयो भने बाँच्ने चान्स २० प्रतिशतमात्र हुने बताइयो । मलाई निकै डर पनि लाग्यो । डाक्टरले सधै सुतेर नबसी उठेर हल्काफुल्का व्यायाम गर्न र फोक्सोको अभ्यासका लागि फुक्न लगाए । मैले त्यसै गरें । अनि विस्तारै रिकभर भएको अनुभव भयो ।’

अधिकारीमाथि डाक्टरहरुले विभिन्न प्रकारका औषधीहरुको परीक्षण समेत गरे । सुरुमा एजिथ्रोमाइसिन लगायतका औषधीहरुले काम नगरेपनि हाइड्रोक्सीक्लोरोक्वीन लगायतका औषधीहरु पनि दिइयो । हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गरेपनि उनलाई निको हुँदै त गयो तर मुटुको चाल भने अनियमित बन्दै गयो ।

‘मलाई सुरुमा एजिथ्रोमाइसिन लगायतका औषधीहरु दिइयो । एकपटकमा पाँच छ प्रकारका औषधी दिइयो । पछि हाइड्रोक्सीक्लोरोक्वीन दिइयो । त्यो औषधीले मुटुको चाल निकै अनियमित हुने रहेछ । झण्डै डेढमहिनासम्म मुटुको चालमा समस्या भयो ।’ अधिकारी भन्छन्  ।

११ दिन साउथ नासा अस्पतालमा उपचारपछि उनलाई न्युयोर्कको म्यानहटनमा रहेको जाभिट सेन्टरमा ट्रान्सफर गरियो । त्यहाँ गईसकेपछि नर्सहरुले बेलुका अक्सिजन नदिई डुलाउन थाले । उनलाई निको हुँदै गयो । त्यसपछि डिस्चार्ज गरेर घर पठाइयो ।

तर पनि उनका अक्सिजनको मात्रा निकै कम थियो । त्यसैले उनलाई तीनवटा अक्सिजनसहित डिस्चार्ज गरियो । अप्रिलको तेश्रो साता डिस्चार्ज भएका उनले झण्डै एकमहिना नै सिलिण्डरबाट अक्सिजन लिए ।

‘घरमा आइसकेपछि झण्डै दुईसाता आइसोलेसनमा बसें । अहिले ९० प्रतिशत निको भइसकेको छु । ठीक समयमा उपचार र आत्मविश्वास भयो भने कोरोनालाई जित्न सकिने रहेछ ।’ अधिकारी भन्छन् ।

परिवारका अन्य सदस्यहरुको पनि एन्टीबडी चेक गर्दा एउटा छोराबाहेक सबैमा कोरोना संक्रमण भएर निको भइसकेको पाइयो । तर अरुलाई भने सामान्यबाहेक अरु लक्षण देखिएन । अरुलाई अस्पताल भर्ना गर्ने अवस्था नआएकोमा अधिकारीले खुशी व्यक्त गरे । तर भन्छन् – ‘पछि मेरो रिपोर्ट हेर्दा र मैले लिएका औषधीको विवरण हेर्दा म बाँचेर आएकोमा मेरा प्राइमरी केयर डाक्टर नै अचम्म परे ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com