‘फोटो खिच्नेतिर ध्यानै गएन’ : न्युयोर्कमा सहयोगको अग्रमोर्चामा पुनर्जीवन पाएका टेक गुरुङ


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

विपत्ति र महामारीलाई झेल्न परस्पर सहयोगको आवश्यकताबोध नेपालीहरुलाई विगतको महाभूकम्पमा अझ धेरै भएको थियो । त्यसैले कोरोनाको महामारी सुरु हुनेवित्तिकै अमेरिकामा रहेका कैयन नेपालीहरु परस्पर सहयोगमा जुटिहाले । कोरोना संक्रमितदेखि प्रभावितसम्मलाई सहयोग गर्न केही व्यक्ति झण्डै २ महिनादेखि प्रत्यक्ष फिल्डमा नै खटिरहेका छन् ।

त्यसमध्येको एउटा नाम हो, टेक गुरुङ । यो नाम न्युयोर्कका सामाजिक व्यक्तित्वमा नयाँ नाम होइन । कोरोनाको महामारी फैलिन सुरुभएदेखि नै उनी लगातार फिल्डमा नै उत्रिएर सहयोगमा जुटेका छन् । विगतमा स्ट्रोकको समस्यापछि पुनर्जीवन पाएका गुरुङ आफै पनि औषधी सेवन गर्दै झण्डै दुईमहिनादेखि नै न्युयोर्कमा कोरोना प्रभावितको सहयोगका लागि जुटिरहेका छन् ।

प्रवासी नेपाली एकता मञ्चका संयोजक समेत रहेका गुरुङ आफै पनि न्युयोर्कको बु्रकलिनमा रहेको फार्मेसीमा काम गर्छन् । चीनमा कोरोनाको महामारी फैलिन थालेदेखि नै न्युयोर्कमा टायलोनोल र थर्मामिटरको माग बढेको थियो । आफै फार्मेसीमा काम गर्ने भएकाले उनले यो कुराको अनुभव फरबरीमा नै गरेका थिए । किनभने पसलले अर्डर गर्दा पनि प्रयाप्त टाइलोनोल र थर्मामिटर नपाउने अवस्था थियो ।

त्यतीबेलै उनले कोरोनाको महामारी अमेरिकामा पनि फैलिनसक्ने अनुमान गरेर टाइलोनोल र थर्मामिटरको जोहो गरेका थिए । अमेरिकामा कोरोना फैलिएमा नेपाली समुदायलाई टाइलोनोल र थर्मामिटर आवश्यक पर्ने अनुमान गरेका उनले हरेकमा २४ ट्याबलेट भएका १४ बोतल टाइलोनोल जोहो गरिसकेका थिए । त्यस्तै केही थर्मामिटर, ग्लोभ्स र मास्क पनि उनले जोहो गरेका थिए ।
नभन्दै मार्चको पहिलो साताबाट अमेरिकामा कोरोनाको महामारी तीब्र गतिमा फैलिन थाल्यो । मार्चको दोश्रो साताबाट न्युयोर्कको नेपाली समुदाय नराम्ररी प्रभावित हुन थाल्यो । तेश्रो साता न्युयोर्कमा कोरोना संक्रमणबाट पहिलो नेपालीको मृत्यु भएपछि स्थीति अत्यन्तै तनावग्रस्त बन्दै गयो ।

गुरुङ संयोजक रहेको प्रवासी नेपाली एकता मञ्चको मार्चको पहिलो हप्ता नै संस्थागत बैठक बस्यो । बैठकले भीम कार्कीको संयोजकत्वमा फण्ड संकलन समिति पनि बनायो । फरबरीको पहिलो सातामा संस्थाको संयोजक बनेका गुरुङलाई कोरोनाको महामारका कारण नेपाली समुदायका हितमा काम गर्न मार्चको पहिलो साता नै काँधमा महत्वपूर्ण जिम्मेबारी आयो । तर जिम्मेबारीबाट एक इन्चपनि पछि हटेनन् ।

मार्चको पहिलो साता नै उनी संस्थागत र व्यक्तिगत रुपमा सहयोगमा जुटिहाले । तर मार्चको अन्तिम साता न्युयोर्कका विभिन्न संघ संस्था र व्यक्ति मिलेर कोरोना बिरुद्ध सचेतना एवं सहयोग समुह निर्माण गरे । समुहको नेतृत्व आनन्द बिष्टले गरे । गुरुङ भन्छन् – ‘एउटा एउटा संस्थाले भन्दा सबै संस्थामिलेर अगाडि बढ्नुपर्ने निष्कर्षका साथ हामी पनि त्यो समुहमा समावेश भयौं । अनि सामुहिक रुपमा नै सहयोगमा जुट्यौं ।’

गुरुङ एकातिर समुहका तर्फबाटपनि सहयोगमा जुटे भने अर्को तर्फ व्यक्तिगत र प्रवासी नेपाली एकता मञ्चको तर्फबाट पनि सहयोगमा जुटिरहेका थिए । आफै अत्यावश्यक कामदार भएका कारण उनको काम पनि चलिरहेको थियो । काममा जाँदा आउँदा पनि उनले सहयोग आवश्यक हुनेलाई औषधी, थर्मामिटर, ग्रोसरी डेलिभरी गरिरहे । उनी भन्छन् – ‘समुहका तर्फबाट मेरो जिम्मा न्युयोर्कको सन्नीसाइड क्षेत्र थियो । म त्यसक्षेत्रमा प्रभावित नेपालीहरुलाई घरघरमा औषधी र ग्रोसरी पुर्याउनमा लागिपरें । मलाई व्यक्तिगत रुपमा सम्पर्क गर्नेलाई पनि मैले कसैलाई खाली हात पठाएको छैन ।’

मार्चभर काममा पनि जाँदै र सहयोगमा पनि खट्दै गरेका उनी अप्रिलको पहिलो साता आफै बिरामी परे । एकातिर आफ्नो पनि विगतमा स्ट्रोकको इतिहास, घरमा मुटुको अपरेशन गरेकी दिदी । अप्रिलको पहिलो साता उनलाई एलर्जी जस्तो लक्षण देखियो । त्यसपछि भने उनी काममा गएनन् । घरमै औषधी खाएर बसे । यो अवस्थामा पनि उनी सहयोगमा भने औषधी खाएरै जुटिरहे ।

झण्डै दुईसाता घरमा आराम गरेपछि उनी पुन आफ्नो नियमित काममा फर्के । यसरी लगातार सहयोगमा जुटिरहेका उनी र उनको संस्था प्रवासी नेपाली एकता मञ्चका तर्फबाट कोरोना संक्रमित, प्रभावित र न्युयोर्कमा रहेका नेपाली एफ वान विद्यार्थीहरु गरी झण्डै डेढसयलाई सहयोग प्रदान गरियो । कोरोना बिरुद्ध सचेतना एवं सहयोग समुहका तर्फबाट पनि उनी आफै झण्डै तीनदर्जनको घरमा पुगेर औषधी, थर्मामिटर, ग्रोसरी लगायत डेलिभरी गरे ।

प्रवासी नेपाली एकता मञ्चले आन्तरिक फण्ड संकलनमार्फत झण्डै १६ हजार डलर संकलन गर्न सफल पनि भयो । कोरोना बिरुद्ध सचेतना एवं सहयोग समुहका तर्फबाट औषधी, ग्रोसरी लगायतका सामान किन्नका लागि सबैभन्दा धेरै फण्ड उपलब्ध गराउने पनि प्रवासी नेपाली एकता मञ्च नै हो । न्युजर्सी, बाल्टिमोर, मिनिसोटा र शिकागो लगायतका स्थानमा पनि मञ्चका तर्फबाट स्थानीय संस्थाहरुलाई रकम उपलब्ध गराएर ती संस्थाहरुले प्रभावितहरुलाई सहयोग गरे ।

यसैबीचमा गुरुङ नेतृत्वको प्रवासी नेपाली एकता मञ्च अमेरिकाले कोरोना संक्रमणका कारण कठिन अवस्थाको सामना गरेका अमेरिकामा एफ वान स्टाटसमा रहेका नेपाली विद्यार्थी लगायतलाई एकसय डलरसम्मको ग्रोसरीको रकम उपलब्ध गराउने घोषणा पनि गर्यो । एकसयडलरसम्मको ग्रोसरी किनेको रिसिप्ट प्रवासी नेपाली एकता मञ्च अमेरिकालाई पठाएमा त्यो रकम उपलब्ध गराउनेगरी फर्मसमेत उपलब्ध गराइयो । त्यसमा कैयन नेपाली विद्यार्थीहरुले फर्म भरे, उनीहरुलाई पनि सहयोग उपलब्ध गराइरहेको बताउँछन् गुरुङ ।

‘न्युयोर्कमा फर्म भरेकाहरुलाई हामीले आफै ग्रोसरी लगायतका सामानसमेत उपलब्ध गराएका छौं । अन्य राज्यमा पनि हाम्रो पहुच हुने क्षेत्रमा आफै उपलब्ध गराएका छौं । पहुच नभएको क्षेत्रमा विद्यार्थीहरुले किनेको ग्रोसरीको रकम उपलब्ध गराएका छौं ।’ –  गुरुङले भने ।

कोरोना बिरुद्ध सचेतना एवं सहयोग समुहमार्फत दर्जन बढी व्यक्ति फिल्डमा खटिरहेका छन् । त्यसमा गुरुङको संस्थाका तर्फबाट उनीसहित यम लामा, भरत संग्रौला, अमृत गुरुङ र कृष्ण आचार्य प्रत्यक्ष फिल्डमा खटिरहेका छन् । अरुले बेलाबेलामा र अन्य काममा सहयोग गरिरहेका छन् ।

अहिले पनि गुरुङको दैनिक कोरोना प्रभावितलाई सहयोग गरेर नै सुरु हुन्छ । उनी विहान उठेर आएका फोन र टेक्स्ट मेसेजहरु रेस्पोन्स गर्छन् । सन्नीसाइडमा क्षेत्रमा कसैलाई सहयोग आवश्यक परेको भएमा सामान बोकेर उनीहरुको दैलोमा पुग्छन् । अनि त्यतैबाट काममा जान्छन् । फर्कदा पनि कसैलाई आवश्यक परेमा ग्रोसरी, औषधी, मास्क लगायतका सामानहरु दैलोमा पुर्याउँदै घर फर्कन्छन् ।

‘अप्रिलको पहिलो र दोश्रो साता एकदमै पीडादायक अवस्था थियो । कोरोना संक्रमण भएर अस्पताल नगएकाहरु कैयन सम्पर्कमा आए । संक्रमितदेखि प्रभावितहरुसम्म सबैजना आत्तिए । तर अहिले अवस्था अलिक सामान्य बन्दै गएको छ । अप्रिलको पहिलो र दोश्रो साता नेपालीहरु मानसिक रुपमा समेत बढी त्रसित भएको अवस्था थियो । अहिले पनि नयाँ खालको सामान्य अवस्था श्रृजना भएको छ ।’ –  गुरुङ भन्छन् ।

मार्चको अन्तिमसाता एकजना नेपाली महिला विद्यार्थीमा कोरोना संक्रमण भएपछि उनले भोग्नुपरेको अवस्था सम्झदा गुरुङ भावुक हुन्छन् । नयाँ स्थानमा कोठा सरेको एकसातामा नै उनमा कोरोना संक्रमण पुष्टी भएपछि उनी गुरुङको सम्पर्कमा आएकी थिइन् । गुरुङ सम्झिन्छन् – ‘एकरात उनका एकजना आफन्तले मुख कुल्ला गर्नका लागि औषधीसहितको पानी ढोकामा राखिदिएका रहेछन् । तर ती बहिनीले पिउने पानी सम्झिएर पिइछन् । त्यसपछि उनलाई बान्ता चलेर अस्पताल नै जानुपर्ने अवस्था आएछ । अस्पतालबाट फर्केपछि किचनमा जान नपाउँदा र तातोपानी तताउने कितली नहुँदा रातभर तिर्खाएर बस्नुपरेछ ।’

तर पछि आफूहरुले भेटेर सहयोग र सान्तवना दिएको उनले बताए । गुरुङ भन्छन् – ‘उनी निकै आत्तिएकी थिइन् । हामीले उनीहरुलाई भेटेर सान्त्वना दिएपछि उनले आत्मबल दह्रो बनाइन् । पछि आफन्तको घरमा र होटलमा आइसोलेसनमा बसेपछि उनी अहिले निको भएर घरमा फर्किसकेकी छिन् ।’

एकातिर बिरामी अवस्था, अर्कोतर्फ कलेजको चिन्ता थियो ती विद्यार्थीमा । यो अवस्थामा गुरुङ आफैले पनि आफ्ना कलेजका दिन सम्झे । कलेजमा पढ्नेबेला आफूहरु नेब्रास्कामा दिनभर मकै छर्न जाने गरेको सम्झिए । भारतीय मुलका सुपरभाइजरलाई मिठो खाना दिएमा र मसाज गरेमा मात्र भोलिपल्ट काममा जान पाइने नत्र नपाइने अवस्था थियो । आफ्ना कलेजका दिन सम्झदा गुरुङलाई अमेरिकामा कोरोनाबाट प्रभावित नेपाली विद्यार्थीहरुलाई सहयोग गर्न अझ उत्प्रेरणा मिल्यो ।

यसरी दुईमहिनादेखि लगातार सहयोगमा जुटिरहेका गुरुङले सहयोगमा जुट्दाको आफ्नो कुनै पनि तस्वीर सामाजिक सञ्जालमा हालेका छैनन् । फिल्डमा खट्दा आफ्नो ध्यान फोटो खिच्नमा भन्दा सहयोगमा नै भएकाले फोटो खिच्नै बिर्सेको बताउँछन् गुरुङ । त्यसैले उनले कसैलाई सहयोग गर्दाको एउटा पनि तस्वीर खिचेका छैनन् । उनी भन्छन् – ‘व्यक्तिगत रुपमा पनि म फोटो खिच्न त्यती शौखिन छैन । औषधी र ग्रोसरी उपलब्ध गराउन पनि म प्राय एक्लै गएँ । त्यसैले सेल्फी खिच्नेतिर पनि खास ध्यान गएन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com