विवाह गर्ने उमेरमै खस्यो पाठेघर


प्रकाशित मिति : चैत्र २४, २०७३ बिहीबार

यौन सम्बन्धी समस्या लुकाउने प्रवृति व्यापक रहेकोले पाठेघर खसेका युवा महिला उपचारका लागि खुलेर आउन सकेका छैनन् ।

शिवराज खत्री

अछाम । सामान्यतया महिलाको विवाह गर्ने उमेर २० वर्ष कटेपछि सुरु भएको मानिन्छ । यसको अर्थ, यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् भन्ने हो । तर, मंगलसैनकी धनसरा विक (२१) लाई यो उमेरमा विवाह गरी बाल बच्चा जन्माउने मात्र होइन, बच्चा बस्ने घर अर्थात, पाठेघर समेत फ्याल्नुपर्ने बाध्यता आइलागेको छ । कारण, उनको पाठेघर खसेर तेस्रो चरण अर्थात अन्तिम अवस्थामा पुगेको छ ।

१५ वर्षको उमेरमै बिहे गरेकी धनसराले तीन सन्तानको जन्म दिइसकेकी छिन् । तीनवटै सन्तान गाउँमै सुँडेनीको सहायताले जन्म दिएकी हुन् धनसराले । पहिलो सन्तान जन्मने बित्तिकै पाठेघर केहि तल आएको महशुस गरेकी थिइन् । तर, त्यतिखेर उनले यसबारे कसैलाई भन्न सकिनन् । दोस्रो र तेस्रो सन्तान जन्माउँदासम्म उनको पाठेघर पुरै बाहिर आइसकेको थियो । बिस्तारै उनी हिँडडुल गर्न समेत समस्यामा पर्न थालिन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

पछि जिल्ला अस्पतालमा जचाउँदा चिकित्सकले उनलाई शल्यक्रिया गर्न सुझाएका थिए । तर, चिकित्सकसँग श्रीमान् आएपछि मात्रै उपचार गर्ने बताउँदै उनी उपचारबिना नै घर फर्केकी थिइन् । अहिले धनसरा भारत गएका श्रीमान् कुरिरहेकी छिन् ।

‘के कारणले यस्तो भयो भनेर मनमनै धेरै कुरा सोचें तर केही भेउ पाइँन । डाक्टरलाई सोध्दा, पोषिलो खानपिन र आरामको अभावले पो खसेको भने’, धनसराले भनिन्, ‘घर, मेलापातको सबै काम गर्नैपर्यो, सुत्केरी भनेर आराम त पाइन्न, कहाँबाट पोषिलो खान पाउनु ?’

पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारण उनी जस्ता विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ । मेल्लेख गाउँपालिकाकी जमुना साउँद यस्तै मध्येकी एक हुन् । भर्खर १८ वर्ष टेकेकी जमुनाको पनि पाठेघर खसेर जटिल अवस्थामा पुगेको छ । अविवाहित साउँदको १६ वर्षमै पाठेघर खसेको थियो ।

किशोरीको पाठेघर खसेको थाहा पाएपछि उनको परिवार समेत आश्चर्यमा परेका छन् । जमुना केही समयअघि अछाम जिल्ला अस्तालमा सञ्चालित शिविरमा शल्यक्रिया गर्ने भन्दै पुगेकी थिइन् तर, शिविरमा विवाहितको मात्रै शल्यक्रिया हुने भन्दै चिकित्सकले उनलाई कोहलपुर मेडिकल कलेजमा जान सल्लाह दिए ।

कोहलपुर मेडिकल कलेजका मेडिकल अधिकृत डाक्टर प्रभात रिमाल वंशाणुगत गुण, मांशपेशी कमजोर हुनु, पोषिलो खानेकुरा खान नपाउनु, सानै उमेरमा गह्रुंगो भारी बोक्नुपर्ने जस्ता कारणले अविवाहित किशोरीमा पनि पाठेघर खस्ने समस्या देखिन सक्ने बताउँछन् । ‘हुन त किशोरी अवस्थामा नै पाठेघर खस्ने सम्भावना धेरै कम हुन्छ । बरु, यस्ता कमजोर शारीरिक अवस्थाका किशोरी आमा हुँदा छिटै पाठेघर खस्ने समस्याबाट पीडित हुन सक्छन्,’ उनले भने । जमुनालाई कोहलपुर जान डाक्टर प्रभातले नै सुझाएका थिए ।

विशेषगरि, धेरै बच्चालाई जन्म दिँदा, कम उमेरमै बच्चा जन्माउँदा, जन्मान्तर कम हुँदा तथा गर्भवती र सुत्केरी अवस्थामा पोषिलो खानेकुरा र आरामको अभाव जस्ता विभिन्न कारणले प्रायः विवाहित महिलामा पाठेघर खस्ने समस्या अत्याधिक देखिए पनि अविवाहितमा पनि यस्तो समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन् । तर, यौन सम्बन्धी यस्ता समस्या लुकाउने प्रवृति व्यापक रहेकोले, यस्तोमा अविवाहित महिलालाई खुलेर आउन निकै मुश्किल देखिन्छ ।

हालै मात्र दैलेखमा २६ वर्षिया अविवाहितमा पाठेघर खसेको भेटिएको जानकारी गराउँदै कलेजका कार्यक्रम संयोजक रामबहादुर मल्ल भन्छन्, ‘लाजका कारण र समाजले अनेक लाञ्छना लगाउने आशंकाले अविवाहित युवती समस्या भएपनि खुलेर आउँदैनन् ।’ उनका अनुसार सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लामा पाठेघर शल्यक्रियाको शिविर संचालन गर्दा ६–७ अविवाहित किशोरीमा पाठेघर खसेको भेटिएको थियो ।

चिकित्सकहरुको बुझाइमा पाठेघर खसेका महिलाको संख्या ४० वर्ष उमेर समूह भन्दा माथिका धेरै देखिनुको कारण लामो समयसम्म समस्या लुकाएर बस्नु हो । यसैले, अधिकांश गाउँमा ४० वर्ष उमेर कटेका महिलामा यो समस्या देखिए पनि खोज्दै जाँदा ३० वर्ष नकटेका महिलामा समेत पाठेघर खसेको भेटिन्छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको एक तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको हालसम्ममा पाठेघर खसेर शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका ३० वर्ष मुनिका ६ महिला भेटिएका छन् ।

पाठेघर खसेपनि लुकाएर बस्ने प्रवृतिका कारण उपचार हुनसक्ने युवा महिलाका समस्या पनि जटिल बनिरहेको देखिन्छ । यसले पछिल्लो पुस्ताका महिलालाई समेत पीडामा बाँच्न बाध्य भएका देखिन्छन् । हालै शिविरमा पाठेघरको शल्यक्रिया गरेकी कमलबजार नगरपालिकाकी जौला बिष्ट (३०) ले पनि समयमै उपचार नपाउँदा पाठेघर नै फ्याल्नुपरेको थियो ।

पाँच सन्तानकी आमा विष्टको अन्तिम बच्चा जन्मेको केही समयपछि पाठेघर खसेको थियो । तर, समस्या लुकाउँदा उनले दुई वर्ष पीडामा बिताउनुपर्यो । जौलाले भनिन्, ‘उठबस गर्न, हिँडडुल गर्न र गह्रौं भारी उठाउँदा सारै पीडा हुन थालेपछि मात्र स्वास्थ्यकर्मीलाई भनेकी हुँ ।’

कतिपय गाउँ समाजमा देवीदेउता रिसाएका कारण पाठेघर खसेको हो भन्ने गलत मान्यता व्याप्त रहेकाले पनि यसलाई लुकाएर बस्ने गरेको अनमी शुशिला ढुंगानाले बताइन् । ‘कम उमेरमै पाठेघर खसे पनि समस्या लुकाएर बस्दा ढिलो मात्र थाहा हुन्छ’ ढुंगानाले भनिन्, ‘पछिल्लो समय समाजमा यसबारे चेतना बढ्दै गएपछि महिलाहरु खुल्न त थालेका छन्, तर अझैपनि धेरै महिला अरुले थाहा पाउने डरले  समस्या लुकाएरै बसेका छन् ।’ (शिवराज अछामका पत्रकार हुन् ।) महिला खबर 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com