न्युयोर्कमा १० दिन अस्पताल बसेर कोरोनालाई जीतेर फर्किए ७१ बर्षका पूर्व एसपी गौतम


प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार

न्युयोर्कमा १० दिनको अस्पताल बसाईपछि नेपाल प्रहरीका पूर्व एसपी ७१ बर्षका यादव गौतम कोरोनालाई जीतेर फर्किएका छन् । न्युयोर्कको एल्महस्र्ट अस्पतालमा भर्ना भएका गौतम आज दिउसो ४ बजे डिस्चार्ज भएका हुन् ।

७१ बर्षका गौतममा विभिन्न खाले स्वास्थ्य समस्याहरु भएतापनि समयमै अस्पताल पुगेकाले कोरोनालाई जीत्न सफल भएका हुन् । ३२ बर्ष नेपाल प्रहरीमा सेवा गरेका गौतम २०६० सालमा एसपीबाट सेवानिबृत्त भएका थिए ।

१७ बर्षदेखि अमेरिकामा बस्दै आएका गौतम १० दिन अगाडि अप्रिल २० मा स्वासप्रश्वासमा समस्या भएपछि अर्जेन्ट केयरमा उपचारका लागि गएका थिए । त्यहाँ छातीको एक्सरे गर्दा उनमा निमोनिया प्रारम्भिक चरणमा रहेको देखिएको थियो ।

त्यसपछि तुरुन्तै एम्बुलेन्स बोलाएर उनलाई एल्महस्र्ट अस्पतालमा लगिएको थियो । अस्पतालमा उनलाई अक्सिजन दिइएको थियो भने कोरोना परीक्षण गर्दा संक्रमण पुष्टी भएको थियो । ९ दिनसम्म अक्सिजन दिइएपनि हिजोदेखि स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अक्सिजन हटाइएको थियो ।

अहिले आफू अस्पतालबाट नै व्यवस्था भएको होटलमा क्वारेन्टीनमा बसिरहेको र १४ दिनसम्म क्वारेन्टीनमा बस्ने गौतमले खसोखासलाई जानकारी दिए । अहिले आफूलाई स्वास्थ्यलाभ भइरहेको भन्दै आफूलाई हरतरहले सहयोग गर्ने, सुभेच्छा व्यक्त गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

कोरोनाको संक्रमण भइहाले पनि आत्मबल बलियो बनाउनुपर्ने र आत्तिन नहुने उनले बताएका छन् । समयमै ध्यान पुर्याएमा कोराना संक्रमण भएपनि पराजित गर्न सकिने उनले बताए । नकारात्मक विचारहरु आफूमा आउन दिन नहुने उनले बताए ।

‘मैले अस्पतालमा उपचाररत रहँदा पनि नियमित रुपमा मेडिटेशन गरें । नकारात्मक कुराहरु मनमा आउन दिइन । मेडिटेशनका कारण मभित्र सकारात्मक उर्जा पैदा भयो । जसका कारण मैले कोरोनालाई पराजित गरेर फर्कन सम्भव भयो ।’ – खसोखाससँग कुराकानी गर्दै गौतमले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com