ठूला दलले कहिले छान्छन् उम्मेदवार ?


प्रकाशित मिति : चैत्र २२, २०७३ मंगलबार

कांग्रेसले आगामी ७ वैशाखभित्र स्थानीय तहका उम्मेदवार छनोट गर्ने भएको छ । १५ चैतको केन्द्रीय समिति बैठकले स्थानीय तहको चुनावका लागि ७ वैशाखसम्म उम्मेदवार छनोट गरिसक्ने निर्णय गरेको हो । सो बैठकले ७ वैशाखभित्र उम्मेदवार छानेर केन्द्रीय कार्यालयलाई जानकारी गराउन निर्देशन दिएको थियो । अन्तिम मिति घोषणा गरे पनि कांग्रेसले कुन तहको उम्मेदवारको टुंगो कहिले लगाउने भन्नेबारे केही खुलाएको छैन । उम्मेदवारको मनोनयन पत्रमा जिल्ला सभापतिले हस्ताक्षर गर्नुपर्ने निर्णय कांग्रेसले गरेको छ ।

स्थानीय चुनावमा तल्लो तहबाटै उम्मेदवार टुंगो लगाउने कांग्रेसको नीति छ । तल्लो तहबाट सिफारिस भएर आएका नाम क्षेत्र र जिल्लाले अनुमोदन गरेर केन्द्रमा नाम पठाउने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसमा स्थानीय तहको उम्मेदवार सिफारिस प्रक्रिया अलि झन्झटिलो छ । सिफारिस भएका नाममा विवाद भए सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका सांसदका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी रहेको छनोट समितिले सहमति जुटाई उम्मेदवारको चयन गर्नुपर्ने कार्यविधि कांग्रेसको छ ।

यसरी छानिन्छन् कांग्रेसका उम्मेदवार
कांग्रेसको कार्यविधिमा गाउँपालिका र नगरपालिकाको वडा सदस्यको उम्मेदवारको टुंगो वडा समितिले लगाउन सक्ने उल्लेख छ । गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो गाउँ र नगर समितिले गर्न सक्ने व्यवस्था कांग्रेसले गरेको छ । स्थानीय तहमा टुंगो लाग्न नसके क्षेत्रीय समितिमा जाने प्रावधान छ ।

कांग्रेसमा गाउँपालिका–नगरपालिका प्रमुख–उपप्रमुख र वडा अध्यक्ष, सदस्यहरू, महानगर, उपमहानगरका वडा अध्यक्ष, सदस्यहरूको उम्मेदवारको नाम सम्बन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिले सिफारिस गर्नेछन् । यही सिफारिसका आधारमा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धीसमेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ ।

सर्वसम्मत नभएमा
क्षेत्रीय समितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेमा सम्बन्धित क्षेत्रका कायम रहेका क्षेत्रीय पदाधिकारी, सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सांसद उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी रहेको छनोट समितिले सहमति जुटाई उम्मेदवारको चयन गर्ने विधि पनि कांग्रेसले तय गरेको छ । दुई वा दुईभन्दा बढी क्षेत्रीय कार्यसमितिले सिफारिस गर्नुपर्ने अवस्थामा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धीसमेतको उपस्थितिमा भएको क्षेत्रीय समितिको संयुक्त बैठकले सिफारिस गर्नेछ ।

दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख–उपप्रमुखको निर्वाचनमा उम्मेदवारको चयन गर्नुपर्ने भएमा क्षेत्रहरूको संयुक्त सिफारिस आवश्यक पर्छ । यही सिफारिसका आधारमा केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिस्पर्धी, सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापति, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवारसमेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ ।

जिल्ला समितिमा सर्वसम्मत नभएमा
जिल्ला समितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेमा जिल्ला समितिमा कायम रहेका पदाधिकारी, पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी, सम्बन्धित क्षेत्रका सांसद, सम्बन्धित क्षेत्रका दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका सांसद उम्मेदवार रहेको छनोट समितिले सहमति जुटाई उम्मेदवारको चयन गर्नेछ ।

३० चैतबाट एमालेले उम्मेदवार छनोट गर्ने


एमालेले स्थानीय तहमा टिकट पाउने उम्मेदवारले प्रदेश र संघीय संसद्को चुनावमा उठ्न नपाउने निर्णय गरेको छ । स्थायी समितिको सोमबारको बैठकले ३० चैतबाट छनोट सुरु गरी १२ वैशाखभित्र सबै उम्मेदवारको सूची सार्वजनिक गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ‘एउटा व्यक्ति तीन तहमध्ये एउटा तहको निर्वाचनको टिकटका लागि मात्रै योग्य हुने बैठकले निर्णय गरेको छ,’ सचिव योगेश भट्टराईले भने, ‘स्थानीय तहमा उठ्ने उम्मेदवारले प्रदेश र संघीय संसद्को निर्वाचनमा टिकटको दाबी गर्न पाउनेछैन ।’ वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा टिकट पाउन हुने अस्वस्थ प्रतिस्पर्धा कम गर्ने उद्देश्यले एमालेले स्थायी समिति बैठकबाटै दोहोर्याएर टिकट लिन नपाउने कडा निर्णय गरेको हो ।

यस्तो छ उम्मेदवार छनोटको कार्यतालिका
स्थायी समितिले वडा कमिटीहरूलाई ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीलाई ४ वैशाखसम्म उम्मेदवारको नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ । त्यस्तै, जिल्ला कमिटीलाई ७ वैशाखसम्म र प्रदेश कमिटीहरूलाई १० वैशाखसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्न निर्देशन दिइएको सचिव भट्टराईले बताए ।

महानगरका मेयर स्थायी समितिले छान्ने
महानगर र उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारको अन्तिम टुंगो भने १२ वैशाखमा बस्ने स्थायी समिति बैठकबाट गरिने एमालेको निर्णय छ । केन्द्रीय कमिटीमार्फत टुंगो लगाउने अघिल्लो निर्णय सच्याएर एमालेले महानगर र उपमहानगरका मेयर तथा उम्मेदवार स्थायी समितिबाटै टुंग्याउने निर्णय गरेको हो ।

१५ सदस्यीय घोषणापत्र समिति
उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा एमालेले १५ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति बनाएको छ । समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् । महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा एमालेको १५ सदस्यीय स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति बनेको छ । समितिमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् ।

३ वैशाखमा केन्द्रीय कमिटी
निर्वाचनको अन्तिम तयारीका लागि एमालेले ३ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय तथा विभागका सदस्यहरू, सांसद र जनसंगठनका केन्द्रीय नेतालाई प्रदेश समन्वय कमिटीको समन्वयमा आ–आफ्नो क्षेत्रमा तत्काल क्रियाशील हुन निर्देशन दिएको छ ।

बैठकमा ओलीले भने– सत्ता दुरुपयोग भयो
प्रहरी प्रमुख (आइजिपी), अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नियुक्ति नगरेर निर्वाचनमा सत्ताको दुरुपयोग गर्ने प्रयास भइरहेको छ । कांग्रेसलाई चुनाव जिताउनुपर्ने सर्तमा विधि र प्रक्रिया मिचेर आइजिपी नियुक्ति गर्ने प्रयासलाई सर्वोच्चको फैसलाले रोक्यो, तर अहिले फेरि आदेश कार्यान्वयन नगरी कांग्रेसले अदालतकै अवहेलना गरी निर्वाचित प्रभावित गर्ने प्रयास गरिरहेको छ ।
प्रहरीलाई राजनीतीकरण गर्ने सत्तापक्षको प्रयासलाई चिर्नुपर्छ ।

माओवादी केन्द्रले वैशाख पहिलो सातासम्म उम्मेदवार छान्ने


माओवादी केन्द्रले वैशाख पहिलो साताभित्रै गाउँ, नगरका सबै उम्मेदवारको टुंगो लगाइसक्ने भएको छ । निर्वाचन आयोगले बनाएको कार्यतालिकाअनुसार १६ वैशाखमा चुनाव लड्न चाहने सबै उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराइसक्नुपर्ने भएकाले माओवादीले वैशाख पहिलो साताभित्रै उम्मेदवारको टुंगो लगाउने गरी आन्तरिक तयारी तीव्र पारेको छ । ‘ढिलोमा वैशाख पहिलो साताभित्रै हामी उम्मेदवारको टुंगो लगाइसक्छौँ,’ माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले नयाँ पत्रिकासँग भने, ‘उम्मेदवारको छनोटको काम आन्तरिक रूपमा भइरहेको छ ।’

निर्वाचन परिचालनलाई मुख्य केन्द्रबिन्दु बनाई अहिले माओवादी केन्द्रले वडा, गाउँ, नगर सम्मेलन गर्ने, पार्टी कमिटी गठन गर्ने, सर्वसम्मत भएका ठाउँमा सम्बन्धित कमिटीले उम्मेदवार चयन गर्नेजस्ता काम एकैसाथ गरिरहेको बुढाथोकीले बताए । ‘निर्वाचन कार्यविधि र निर्देशिका तलसम्म पुगिसकेको छ, सोहीअनुसार उम्मेदवार छनोट प्रक्रियाका लागि अहिले धमाधम तयारी बैठकहरू बसिरहेका छन्,’ बुढाथोकीले भने, ‘ढिलोमा चैत मसान्तसम्म हाम्रा सबै उम्मेदवार छनोट भइसक्छन् ।’

माओवादीका यी ठाउँमा छानिए उम्मेदवार
माओवादी केन्द्रले सर्वसम्मत भएका ठाउँमा उम्मेदवार छानेर चुनावी प्रचार अभियानलाई तीव्र बनाइसकेको छ । जसअनुसार चारवटा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारको टुंगो लागेको छ ।

– विराटनगर उपमहानगरपालिकाकोे मेयरमा केन्द्रीय सदस्य तथा नगर इन्चार्ज भोगेन्द्र यादव र उपमेयरमा नगर अध्यक्ष नमिता न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

– हेटौँडा उपमहानगरपालिकाको मेयरमा बलराम बल र उपमेयरमा कमला पौडेलको नाम टुंगो लगाएको छ ।

-सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा रत्न गाहा र हरिमाया शर्मालाई उपमेयरका रूपमा उठाउने निर्णय गरेको छ ।

– दार्चुलाको एक नगरपालिका र केही गाउँपालिकामा माओवादी केन्द्रले सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । दार्जुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । शैल्य शिखर नगरपालिकामा मोहनदेव विष्ट मेयर, अपी हिमाल गाउँपालिका अध्यक्षमा भगतसिंह ठेकरे, नौगाढ गाउँपालिका अध्यक्षमा दलजितसिंह धामी र दुहुँ गाउँपालिकामा करणसिंह कार्कीलाई अध्यक्ष उठाइने भएको छ ।

उम्मेदवार छान्न कार्यविधि
माओवादीले स्थानीय तहका वडादेखि प्रमुखसम्मका उम्मेदवार छनोटका लागि कार्यविधि बनाएको छ । उम्मेदवारका लागि सम्बन्धित कमिटीले एकदेखि तीनजनासम्म सिफारिस गर्न सक्नेछन् । त्यसरी उम्मेदवारको सिफारिस गर्दा उम्मेदवारको मतदाता नामावलीमा भएको नामसमेत अनिवार्य खुलाएरै माथिल्लो कमिटीमा पठाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

जसअनुसार आन्तरिक रूपमा सम्बन्धित पार्टी कमिटीले आफूभन्दा माथिल्लो कमिटीमा तीनजनाको दरले सिफारिस गर्ने, त्यसलाई सो कमिटीले अनुमोदन गर्ने र त्यसभन्दा माथिल्लो कमिटीले स्वीकृति दिनुपर्ने गरी आन्तरिक कार्यविधि बनाएको हो । गाउँ–नगरपालिकाको प्रमुखका लागि प्रदेशको स्वीकृति अनिवार्य हुनुपर्ने, उपमहानगरपालिकाका लागि पनि प्रदेशकै स्वीकृति चाहिने तथा महानगरको मेयरका लागि पार्टी केन्द्रले नै उम्मेदवारको अन्तिम टुंगो लगाउने गरी माओवादीको उम्मेदवार छनोट कार्यविधि बनेको छ ।

रमेश सापकोटा, शुरोजंग पाण्डे, रामकृष्ण अधिकारी /नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com