दलीय चुनाव चिन्ह माग्दै नयाँ शक्ति लगायतका दलको धर्ना (तस्विरमा)


प्रकाशित मिति : चैत्र २१, २०७३ सोमबार

-दीपेन्द्र ढुंगाना (सबै तस्विर)

सोमबार नयाँ शक्तिलगायत अन्य दलका नेता तथा कार्यकर्ताहरुले काठमाडौं अनामनगरस्थिति मध्यमाञ्चल क्षेत्रीय निर्वाचन आयोग एवं काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिए ।

नयाँ शक्ति पार्टीलगायत दलीय चुनाव चिन्ह पाउनबाट बञ्चीत दलहरुले संयुक्त रुपमा देशभरका जिल्ला निर्वाचन कार्यालयहरु घेराउ गरेका हुन् ।

निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको नयाँ दललाई संविधानप्रदत्त पाउनुपर्ने दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बञ्चित गर्दै हाल संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई मात्र चुनाव चिन्ह दिने कानूनी व्यवस्था सरकारले गरेको छ ।

नयाँ दललाई आफ्नो दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ को सो व्यवस्था संशोधनका लागि दवाव दिन भन्दै आइतबार र सोमबार निर्वाचन कार्यालयमा धर्ना दिएको हो ।

यसअघि आइतबार काठमाडौंस्थित निर्वाचन आयोगमा धर्ना दिने क्रममा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईसहित नयाँ शक्ति तथा अन्य पार्टीका नेताहरुलाई प्रहरीले गिरफ्तार गरी भृकुटीमण्डपस्थित पुलिस क्लवमा राखेको थियो ।

संयोजक भट्टराईलगायतका नेताहरु आफ्नो चुनाव चिन्ह पाउनुपर्ने माग पूरा हुनुपर्ने भन्दै हिरासतमै धर्ना बसेपछि उहाँहरुलाई प्रहरीले हिरासतमै दूव्र्यवहार गरेको थियो । प्रहरीले उहाँहरु सबैलाई हिजो राति रिहाइ गरेको थियो ।

सोमबार काठमाडौं जिल्ला निर्वाचन कार्यालय अगाडिको धुलाम्य कच्ची सडकमै बसेर नयाँ शक्तिलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले धर्ना दिएका थिए । धर्नामा नयाँ शक्ति पार्टीका सहसंयोजक रामचन्द्र झा, नेताहरु देवेन्द्र पौडेल, पासाङ शेर्पा, हिसिला यमी, परशुराम खापुङ, कुमार पौडेललगायत रहेका थिए ।

आफ्नो दलीय चुनाव चिन्ह पाउनुपर्ने संविधानप्रदत्त अधिकार रहेको बताउँदै स्थानीय तहको चुनावका लागि आफूहरुले अघि सारेका पूर्वशर्तहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने नेताहरुले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com