दुई लघुकथा : नर्भस ब्रेकडाऊन र गोली खानुहोला
प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार
– आलोक कुमार सातपुते (अनुवाद: एकदेव अधिकारी)
नर्भस ब्रेकडाऊन
उसले माटोको एउटा प्रतिमा बनायो। आफ्नो शिल्पलाई उसले आत्ममुग्ध हुँदै मुस्काउँदै हेरिरह्यो। अचानक उसलाई महसुस भयो कि प्रतिमा पनि मुस्कुराउँदै छ। प्रतिमा मुस्काएको देखेर उसलाई औधी डर लाग्यो र ऊ त्यो प्रतिमाको चरणमा शिर निहुराएर बसिरह्यो।
अब आत्ममुग्ध हुने भाव सकिइसकेको थियो, अनि उसले प्रतिमाको चरण नजिकै बस्दा बस्दै माथि यसो नियाल्यो, त उसलाई आफ्नै प्रतिमा एक विराटस्वरूप बने झैँ लाग्यो ।
अनि उसले आफूलाई उक्त प्रतिमाको अगाडि एक बामपुड्के सरह पायो, अनि उसले त्यो प्रतिमालाई सर्व शक्तिमान मान्न शुरू गऱ्यो, अनि एक अन्जान भयले ग्रस्त भएर आफ्नो रक्षाको लागि उसैलाई पुकार्न थाल्यो।
अनि फेरि अचानक उसलाई लाग्यो कि त्यो प्रतिमाले उसको शिरमा हात राखिदिएको छ, अनि उसले त्यो प्रतिमाको पूजा/अर्चना शुरू गऱ्यो। त्यो मानिस र त्यो प्रतिमा आज पनि अर्कामा आश्रीत यत्र/तत्र/सर्वत्र देखिइरहन्छन्।
गोली खानुहोला
त्यसदिन शहरमा झडपका साथ कर्फ्यु लागेको थियो। शहर सेनाको नियन्त्रणमा थियो। प्रदर्शनकारीहरूलाई देख्ने बित्तिकै गोली हान्ने आदेश थियो। एक पत्रकारले सेनाको मेजरसँग प्रदर्शनकारीहरूलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा जानकारी लिन चाहे।
मेजरसाबले भन्नु भयो – “यदि आतङ्ककारीहरूले उत्पात मचाउन थाले भने हामी उनीहरूमाथि कारबाही गर्नेछौँ, यदि उनीहरूले कुनै धनमाल जलाउने कोसिस गरे भने हामी उनीहरूमाथि कडा कारबाही गर्नेछौँ, यदि यस भन्दा पनि अघि बढेर उनीहरूले हत्या गर्न थाले भने हामी कडा भन्दा कडा कारबाही गर्नेछौँ।”
“तपाईँ त नेताको भाषा बोल्दै हुनुहुन्छ त!” पत्रकारले अचम्म मान्दै सोधे।
“के गर्ने त हजुर आखिर लोकतान्त्रिक देशका सैनिक जो पऱ्यौँ।” मेजरसाबले जवाफ दिनुभयो।
“अनि यो माहोलमा जहाँ आतङ्कीहरूलाई देख्ने बित्तिकै गोली हान्ने आदेश भएको छ, हजुरको मुखबाट त एक लाइनमा गोली हान्ने उत्तर आउनु पर्ने होइन ररु” पत्रकार महोदयले भने।
“तपाईँ आफ्नो बकवास बन्द गर्नुहोस्, नत्र फेरि गोली खानु पर्ला!” मेजरसाबले रिसाउँदै भने।
(भारतीय कथाकार आलोक कुमार सातपुतेले हिन्दी, उर्दु र मराठी भाषामा थुप्रै लघु कथा लेखेका छन् । उनका हिन्दीमा ५, उर्दुमा १ र मराठीमा १ गरी सात पुस्तक प्रकाशित भएका छन् । भारत र पाकिस्तानका विभिन्न प्रगतिशील पत्रिका र म्यागजिनमा आलोकका लघु कथा प्रकाशित भएका छन् । भारतका प्रतिष्ठित प्रगतिशील साहित्य पत्रिका हंस, कथादेश, नयाँ ज्ञानोदय, वर्तमान साहित्य तथा पाकिस्तानको डन–उर्दु, लालटेन, मुकाल्मा, हमसब, संगतलगायत पत्रिकामा आलोकका कथा प्रकाशित भएका छन् । त्यस्तै, आलोकका कथा नेपाली र बंगालीमा पनि अनुवाद भएका छन् । चितवनका एकदेव अधिकारीले आलोकका कथालाई नेपाली भाषामा अनुवाद गरेका हुन् ।)