म अत्यन्त लज्जित छु ‍‌: डा बाबुराम भट्टराई


प्रकाशित मिति : चैत्र २१, २०७३ सोमबार

म आज अत्यन्त लज्जित छु । जीवनका ४० वर्ष मैले यो देशमा निरंकुशताका विरुद्ध, निर्दलीयताका विरुद्ध लोकतन्त्र ल्याउनका निम्ति २०४६/०४७ सालसम्म लडें । त्यसपछि नेपालमा अझै लोकतन्त्र पूर्ण भएन गणतन्त्र चाहिन्छ भनेर उचाइमा पुर्‍याउनका निम्ति लड्यौं । तर मेरै पूर्वसहयोद्धा पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालका प्रधानमन्त्री भएको अवस्थामा लोकतन्त्र र गणतन्त्रको जुन उपहास देखियो त्यसैले म अत्यन्तै लज्जित छु ।

मैले तपाईं सञ्चारकर्मीहरुमार्फत नेपालीहरुलाई र संसारलाई बताउनुपर्छ नेपालमा सही अर्थमा लोकतन्त्र आएको रहेनछ । बहुदलीय व्यवस्था पनि सही अर्थमा आएको रहेनछ । जनताका अधिकार, विधिको शासन, मानवअधिकार केही पनि आएको रहेनछ भन्ने प्रत्यक्ष अनुभुति मैले गरेको छु । पञ्चायती व्यवस्थामा निर्वाचन चिन्ह लिएर चुनाव लड्छु भन्दा गिरिजाप्रसाद कोइरालालाई नदिएर के हालत भएको थियो हामीलाई थाहा छ । अन्त्यमा नेपाली कांग्रेसको एउटै माग थियो – साझा चुनाव चिन्हमा चुनाव लड्न देऊ ।

पञ्चायती व्यवस्थाभित्र पनि चुनाव लड्छु भन्दाखेरि त्यतिखेरका पञ्चायती शासक, राजतन्त्रवादी शासकहरुले नदिएर हामीले ठूलो संघर्ष गर्नुपरेको थियो । तर अहिले आएर हामीलाई संविधानले दिएको अधिकारको विपरित अत्यन्त गुपचुप तरिकाले षड्यन्त्रमूलक तरिकाले स्थानीय तह निर्वाचन ऐन २०७३ जारी गरेर त्यसको दफा २६ को उपदफा (६) र (७) मा अहिले संसद्मा भएका बाहेकका अरु दलहरुलाई निर्वाचन चिन्ह नदिने, अर्थात अरु दलको अस्तित्व समाप्त पार्ने भन्ने जुन निर्णय गरियो त्यो पञ्चायती व्यवस्थाको पुनरावृत्ति नै हो, मण्डलेतन्त्रको पुनरावृत्ति नै हो । त्यसअर्थमा मलाई अत्यन्त लज्जाबोध भएको छ ।

हामीले त्यसको विरोध गर्नु हाम्रो अधिकारको कुरा थियो, त्यसैले निर्वाचन आयोगमा शान्तिपूर्ण धर्ना दिन आज हामी जम्मा भएका थियौं । हामीलाई धर्ना दिन दिनुपर्‍थ्यो, दिइएन । धेरै परदेखि नै हामीलाई रोक्ने प्रयत्न गरियो । निषेधित क्षेत्र भनेर अनावश्यक ढंगले बल प्रयोग गरिसकेपछि हामीले त्यो क्षेत्र तोडेकै हो, त्यसपछि हामीलाई गिरफ्तार गरियो । हामीले भन्यौं – गिरफ्तार गर, कुनै बल प्रयोग नगर, हामी पनि गर्दैनौं । त्यसपछि हामीलाई पहिले महाराजगञ्ज लगियो, पछि नेपाल पुलिस क्लबमा ल्याएर राखियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साँझमा मैले गृहमन्त्रीसँग कुरा गरेर सोधें – तपाईंले हामीलाई किन ल्याउनुभएको हो ? अहिलेसम्म कसैले जानकारी दिएको छैन, हामीले के अपराध गरेको हो ? निषेधित क्षेत्र त हामीले तोडेकै हो त्यसवापत ल्याएको हो भने निषेधित क्षेत्र तोड्दाखेरि कुन कानुन अनुसार कति सजायँ हुन्छ त्यसको पुर्जी हामीलाई थमाउनुपर्‍यो र तपाईंले अदालतमा पेश गर्नुपर्‍यो । त्यो केही पनि भएको छैन । हाम्रो सोधपुछ र बयान पनि लिइएको छैन र अदालतमा लैजाने प्रक्रिया पनि छैन । उल्टै साथीहरुलाई अत्यन्त अपमानजनक व्यवहार गरिराखिएको छ भनेर मैले भनें ।

गृहमन्त्रीले भन्नुभयो – हैन तपाईंहरु गइदिनुपर्‍यो, छोडिदिनुपर्‍यो ।

ल हामी जाउँला तर जानुभन्दा पहिले तपाईंले हामीलाई बताइदिनुपर्‍यो हामीले के अपराध गरेको हो ? विधिको शासन पालना गर्नुपर्छ । तपाईं–हामी सत्तामा बसेर विधिको शासन उल्लंघन गर्न मिल्दैन । म पूर्वप्रधानमन्त्री भइसकेको नाताले मैले निषेधित क्षेत्र अवज्ञा गरेको मलाई बोध छ, त्यसवापत मलाई तपाईंले दण्ड दिनुपर्छ । त्यसैले तपाईंले पुर्जी दिनुस र अदालतमा पेश गरेर मुद्दा चलाउनुस्, म भोग्न तयार छु । ता कि विधिको शासनको पालना होस् भन्ने मैले भनें । तर उहाँले केही पनि नभनिकन फोन राख्नुभयो । त्यसको केही समयपछि एसएसपी छविलाल जोशीले अत्यन्त कपटपूर्ण ढंगले कुरा गर्नुभयो ।

यहाँहरुलाई के सेवा गर्नुपर्‍यो ? बस्नको निम्ति के ल्याइदिनुपर्छ ? खानपिनको व्यवस्था गर्नुपर्छ कि ? भनेर अत्यन्त चिप्लो घसेर अस्वाभाविक ढंगले कुरा गर्नुभयो । हामीले उहाँलाई भन्यौं – हामीलाई त्यस्तो केही सुविधा चाहिँदैन, हामीलाई तपाईंले किन ल्याउनुभएको हो त्यो भनिदिनुपर्‍यो र तपाईंको नियमकानुनले जे भन्छ त्यही अनुसार गर्नुस्, मानवीय नाताले जे गर्नुपर्छ त्यही गर्नुस् भन्यौं । त्यसपछि उहाँ गुडनाइट सर भनेर जानुभयो । यो करिव ७ बजेको कुरा हो ।

त्यसको ५ मिनेटपछि डिएसपी एसएस राथोड आएर समात केटा हो, तानओ भनेर आदेश दिनुभयो र बाघले बाख्रा झम्टेझैं गरेर हामीलाई लछारपछार गर्न सुरु भयो । अत्यन्त अपमानजनक व्यवहार भयो । पूर्वप्रधानमन्त्री भएको नाताले म अत्यन्त लज्जित भएँ । तपाईंलाई हामी छोड्दैछौं, यो यो कारणले ल्याएका थियौं, तपाईंहरुको कुनै अपराध रहेनछ, तपाईंलाई छोडिदियौं भनिदिएको भए हुन्थ्यो तर त्यो पनि भनिएन । त्यसरी लछारपछार गर्ने क्रममा माननीय गंगा चौधरीजी, हिसिलाजी र हाम्रा थुप्रै साथीहरुलाई अत्यन्त अपमानजनक व्यवहार गरियो ।

हामीले भन्यौं – तपाईंले हामीलाई यस्तो गर्न मिल्दैन, विधिको शासन अनुसार तपाईंहरुले हामीलाई मुद्दा लगाउनुस । त्यो हामी भोग्न तयार छौं । हामी त्यत्तिकै जाँदैनौं, हामी चोर हैनौं । तपाईंले पिटेको भरमा, घिसारेको भरमा हामी जाँदैनौं । त्यसपछि पनि उहाँहरुले फेरि हामीमाथि बल प्रयोग गरेपछि हामीले ठान्यौं यो कुरा विश्वलाई बताउनुपर्छ । नेपाली जनतालाई बताउनुपर्छ । लोकतन्त्रको कति उपहास भइराखेको छ भनेर अहिले हामीले तपाईंहरुलाई यति कुरा बतायौं ।

हाम्रो सार भनाई के हो भने यो लोकतन्त्रको, विधिको शासनको घोर उल्लंघन भयो । जो कसैलाई पनि ल्याएर पञ्चायतकालमा, राणाकालमा कुनै अपराध गरेवापत कुनै नियमकानुन नलगाइकन कुटपिट गरेर, यातना दिएर, अंगभंग पारेर छोडिन्थ्यो त्यस्तो प्रचलन अहिलेसम्म पनि हुनु अत्यन्त लज्जाजनक कुरा हो । हामीले प्रयत्न गर्‍यौं प्रधानमन्त्रीजीसँग कुरा गर्ने, प्रधानमन्त्रीलाई हामीले ४८ घण्टे अल्टिमेटम दिइसकेका थियौं, अहिलेसम्म उहाँले हामीलाई कुनै पनि सम्पर्क राख्नुभएको छैन । उहाँले हाम्रा माग पूरा हुने नहुने केही पनि भन्नुभएको छैन । हामीले गृहमन्त्रीसँग कुरा गर्‍यौं, उहाँले हाम्रा मागका बारेमा केही भन्नुभएको छैन ।

त्यसैले हामीले के देखिराखेका छौं भने देशमा प्रतिगमन डरलाग्दो ढंगले फर्केर आएको छ । हामीले लडेर ल्याएको उपलब्धी गुम्दै गइराखेका छन् । मानवअधिकारको पनि उल्लंघन, लोकतान्त्रिक अधिकार, बहुदलीय मान्यताको पनि उल्लंघन र संविधानको उल्लंघन जुन भइराखेको छ यस्तो अवस्थामा नेपाली जनता चुप लागेर बस्न मिल्दैन । अव यो विषयलाई गम्भीर राष्ट्रिय आन्दोलनको विषय बनाइनुपर्छ । त्यसैले हामीले भोलि (चैत २१) ७५ वटै जिल्ला निर्वाचन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम बनाएका छौं । अन्य शक्तिहरुसँग पनि मिलेर अब हामी यो देशमा सही अर्थमा बहुदलीय लोकतन्त्र, संविधानको प्रावधानको कार्यान्वयन, विधिको शासन पालना गर्नको निम्ति संघर्ष गर्छौं ।

जसले विधिको शासनको उल्लंघन, मानवअधिकारको उल्लंघन गरेको छ र लछारपछार जुन गरिएको छ तिनीहरुमाथि गम्भीर छानविन गरिनुपर्छ । विधिको शासन उल्लंघन गर्नेहरुमाथि कारवाही गरिनुपर्छ । हाम्रो यो दृढ माग छ । त्यसैले म साथीहरुलाई आग्रह गर्न चाहन्छु विषय गम्भीर छ, हामी अगाडि बढौं, हाम्रो संघर्ष जारी रहन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com