पतिको कुटाइबाट महिलाको मृत्यु


प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार

बाँकेको बैजनाथ गाउँपालिका २, नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुरका बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा सख्‍त घाइते भएकी पत्‍नी दिलमायाको आज मृत्यु भएको हो ।

घाइते दिलमायालाई घटनाको तीन दिनपछि आज बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसमा बलसिंहले दिलमायालाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो ।

तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको आज मृत्यु भएको हो । दिलमायाको शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com